निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरलाइन्सले भारतको वाराणसीमा नियमित उडान सुरु गरेको छ । एयरलाइन्सले सातामा दुई उडान गर्ने गरी शुक्रबारदेखि उडान सुरु गरेको हो ।
काठमाण्डु–वाराणसीमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भर्ने भएको एयरलाइन्सले जनाएको छ । बुद्ध एयरलाइन्सको वाराणसीमा नियमित उडानले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई समेत टेवा पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए ।
मन्त्री अधिकारी तथा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत तथा विदाइ गरे ।
नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले स्वागत गर्ने कार्यक्रम रहेको बुद्ध एयरलाइन्सले जनाएको छ ।
वाराणसीको लागि क्लासिक काशी, बोधगया, अयोध्या, इलाहावाद, प्रयाग स्नान प्याकेज रहेको एयरलाइन्सले जनाएको छ । यी प्याकेज ३ रात ४ दिन तथा ४ रात ५ दिनको रहेको छ ।
काठमाण्डु–वाराणसी–काठमाण्डुको उडान अवधि ५० मिनेटको हुनेछ । एयरलाइन्सले अहिले प्रबर्धनात्मक दोहोरो भाडा दर नेपालबाट वाराणसी टिकट १४ हजार र क्लासिक काशी दर्शनको होलिडे प्याकेज शुल्क २५००० तोकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij