माघ २१ गते विशेष सूचनाको आधारमा नेपाल प्रहरीले दिउँसो ४ः४५ को समयमा लागु औषध सहित ट्याक्सीमा सवार २ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा पर्ने वसन्तनगरबाट तारकेश्वर नगरपालिकामा पर्ने लोकतान्त्रिक चोक तर्फ गइरहेको ट्याक्सीबाट लागु औषध कार्यमा संलग्न अमर तामाङ र रणवीर तामाङलाई पक्राउ गरिएको हो ।

यस मध्ये २५ बर्षका अमर तामाङ हाल काठमाडौंको नयाँबजारमा बस्दै आएका छन् । उनी गोरखाको पालुङटारका स्थायी वासिन्दा हुन् । यसैगरी धादिङ खनियाबासका २० बर्षिय रणवीर तामाङ हाल तारकेश्वरको लोलाङमा बस्दै आएका छन् ।
उनीहरुको साथबाट २५ किलो अवैध लागु पदार्थको रुपमा चिनिने चरेस फेला परेको हो । उनीहरुको साथमा रहेको खैरो रङको लगेजमा १३ किलो र हरियो रङको सुटकेसमा १२ किलो चरेस राखिएको थियो ।
लागु औषध कार्यमा संलग्न ती व्यक्तिले दिएको जानकारी अनुसार उनीहरु लागु औषध ओसारपसारको क्रममा भरियाको रुपमा संलग्न रहँदै आएका थिए ।

उनीहरुलाई लागु औषध ऐन बमोजिम कारबाही प्रक्रिया अघी बढाइने प्रहरी वृत्त बालाजुले बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij