टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर १ स्थित बाढीपिडित शिविरमा बस्ने करिब पाँच सय ५१ जनालाई राहत वितरण गरिएको छ ।
शिविरमा चरणबद्ध रुपमा दैनिक ज्याला मजदुरी गरेर खाने र न्यून आयस्रोत भएकालाई राहत वितरण गरिएको हो । पहिलो चरणको राहत वितरण बैशाख १२ गते गरिएको र दोश्रो चरणको राहत बुधबार गरिएको हो । सुरुमा १ सय २३ जनालाई राहत दिइएको थियो । बुधबार बाकी रहेका ४ सय २० जना लगायत सबैलाई लाइनमा बसाएर क्रमशः राहत वितरण गरिएको हो ।
अहिले विश्व कोरोना भाइरसबाट ग्रसित छ र यसबाट नेपाली जनतालाई बचाउन सरकारले चरणबद्ध रुपमा लकडाउन गरिरहेको अवस्थामा कहिले राहत त कहिले अत्यावश्यक बस्तुलाई लिएर मान्छेको भिड निकै बढी हुने गरेको पाइन्छ । बाढीपिडित शिविरमा गरिएको राहत वितरणमा पनि नागरिकहरुको अव्यवस्थित भिडभाड थियो । न त प्रहरी न त व्यवस्थित लाइन लगाउने कर्मचारी । मानिसहरु आउथे कोहि चर्को घामका कारण रुखमुनी जम्मा हुन्थे कुनै दुरि नछुट्टाएर त कोहि लाइनमा संगै देखिन्थे । यसले जोखिम झनै बढी हुनसक्ने अनुमान गर्न सकिन्छ ।
वडा कार्यालयका एक कर्मचारीले भिडभाड व्यवस्थित गर्न जति प्रयास गरेपनी स्थानीयहरु मान्दै नमान्ने बताए । उनले सकेसम्म अलिअली दुरि छुट्टाएर लाइनमा बसाउने प्रयास भैरहेको समेत बताए । दोश्रो चरणमा धेरैलाई राहत वितरण गरेर सक्नुपर्ने भएकाले समेत भिड भएको स्पष्ट पारे । त्यस्तै बुधबार नै शिवनगर शिविरमा पनि २ सय १४ जनालाई राहत वितरण गरिएको वडाका कर्मचारी गम्भीर साउदले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij