काठमाडौं । प्रारम्भ वर्ल्ड स्कुल, तारकेश्वर–४, काठमाडौंमा असार ६ गतेदेखि ८ गतेसम्म तीनदिने कथा लेखन तथा वाचन प्रशिक्षण कार्यक्रम- २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कुल ४० जना विद्यार्थीहरू सहभागी रहेको सो कार्यक्रमले बालबालिकाको सृजनात्मक क्षमता उजागर गर्न उल्लेखनीय भूमिका खेलेको विद्यालयकाे विश्वास छ।

प्रशिक्षणमा कथाकार एवं प्रशिक्षक विजयराज आचार्यले बालबालिकालाई कथा लेखनका विभिन्न चरणहरू — विषयवस्तु चयन, पात्र सिर्जना, भाषा शैली, घटनाक्रम र भावनात्मक गहिराइ लगायतका विविध पक्षमा व्यावहारिक अभ्यास गराउनुभयाे।
समापन समाराेहमा बाेल्दै उहाँले भन्नुभयाे, “विद्यार्थीहरू कमजोर होइनन्, उनीहरूले केवल अवसर पाएका छैनन्। यदि उनीहरूलाई रूचिअनुसार स्वतन्त्रता, प्रोत्साहन र मार्गदर्शन दिन सकियो भने उनीहरू आश्चर्यजनक प्रतिभा प्रकट गर्न सक्छन्।“
उहाँले थप्नुभयाे, “कथा लेखन बालबालिकाका लागि केवल रचनात्मक अभ्यास मात्र होइन, यो सोच्ने, बुझ्ने, महसुस गर्ने र आफूलाई समाजसँग जोड्ने गहिरो अभ्यास पनि हो। कथा मार्फत उनीहरूले आफूभित्रका अनुभव, भावना र दृष्टिकोण प्रकट गर्न र अरूलाइ सिक्छन्, जसले उनीहरूमा आत्मविश्वास, संप्रेषण क्षमता र समाजप्रति संवेदनशीलता विकास गर्छ।“

विद्यालयका प्रधानाध्यापक कमलप्रसाद ज्ञवालीले कार्यक्रमलाई विशेष सम्बोधन गर्दै भन्नुभयाे, “हामी यस कार्यक्रममा सहभागी विद्यार्थीहरूको जोश, लगनशीलता र सिर्जनात्मकता देखेर पूर्ण रूपमा हर्षित छौं। कथा लेखन कुनै सामान्य अभ्यास होइन, यो व्यक्तित्व निर्माण, भावना व्यवस्थापन र समाज बुझ्ने माध्यम हो। साथै हामी सबैले बुज्नुपर्छ कि पठन वा लेखन संस्कार विकासकाे लागि गरिएकाे लगानी दीर्घकालिन लगानी हाे ।“
उहाँले थप्नुभयाे “हामी विश्वस्त छौं कि पठन र लेखन संस्का

रको विकासमा यस्ता प्रशिक्षण कार्यक्रमहरूले गहिरो प्रभाव पार्छ। बाल मस्तिष्कमा रोपिएको सिर्जनाको बीज समयक्रममा परिष्कृत हुँदै जाँदा भविष्यमा समाजकाे नेतृत्व गर्न सक्ने जिम्मेवार व्यक्ति बन्न सक्छन्।“
कार्यक्रमको विशेष उपलब्धि स्वरूप सहभागी विद्यार्थीहरूले आगामी तीजको दर खाने दिनसम्म हरेकले कम्तीमा १० वटा कथा लेखी प्रकाशन गर्ने प्रतिबद्धता जनाएका छन्।
यस योजनाको अनुगमन र प्रोत्साहन कार्य नेपाली विषयकी शिक्षिका गोमा चालिसेले गर्नुहुनेछ। उनले हरेक आइतबार विद्यार्थीहरूको कथा लेखनको प्रगति निरीक्षण र चेकजाँच गर्दै सुधारका सुझाव दिनुहुनेछ ।

विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै प्रत्येक विद्यार्थीको अन्तर्निहित क्षमता उजागर गर्ने वातावरण सृजना गर्ने लक्ष्य राखेको छ।
अभिभावकहरूको सहभागिता, शिक्षकहरूको सक्रियता र विद्यार्थीहरूको प्रतिबद्धता मिलेर सशक्त शैक्षिक संस्कृति विकास गर्ने अभियानमा प्रारम्भ वर्ल्ड स्कुल अग्रसर देखिएको छ।
Link about School
https://www.facebook.com/praramvaworldschool/
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij