
नेपालमा प्राङ्गारिक जागरणको उद्धेश्य सहित ४ दिने प्रदर्शनी मेला पाटन दरबार क्षेत्रमा आयोजना हुँदैछ । मेला यही माघ १७ देखि २० गते सम्म ४ दिन आयोजना हुने आयोजक पक्षले बताएको छ ।
उक्त मेलामा प्राङ्गारिक र विषादीरहित वस्तुहरु प्रदर्शनीको लागि रहनेछन् । जस अन्तरगत फलफूल, तरकारी, चिया, मह, अल्लोबाट उत्पादन भएका कपडाहरु लगायत विभिन्न वस्तुहरु प्रदर्शनीको लागि रहने अर्गानिक एसाेसिएसन नेपालकी महासचिव शान्ता वास्कोटाले बताउनुभयो । नेपालमा पछिल्लो समय अर्गानिक वस्तुहरुको उत्पादन, उपभोग तथा बजारीकरण प्रति मानिसहरुको चासो बढ्दै गएको समेत कोइरालाले बताउनुभएको छ ।
नेपालमा सबैभन्दा पहिले १९८४ मा कञ्चनजंगा टि स्टेट सञ्चालनमा आएपश्चात् पूर्ण रुपमा प्रमाणित प्राङ्गारिक कृषिजन्य वस्तुहरुको उत्पादन शुरु भएको हो ।
प्राकृतिक र विषादिमुक्त खाद्य वस्तुहरुको प्रयोग सम्बन्धमा अहिले उपभोक्ताहरुमा जागरण त बढिरहेको भएपनि अहिले सम्म सहज रुपमा प्रयाप्त मात्रामा यस्ता खाद्य वस्तु बजारमा उपलब्ध हुन सकेका छैनन् । जसले गर्दा कृषिजन्य उत्पादनले उपयुक्त बजार नपाइरहेको र उपभोक्ताले चाहना बमोजिमका खाद्य वस्तु उपभोग गर्न नपाइरहेको कुरालाई लक्षित गरेर विगत ४ बर्ष देखि प्राङ्गारिक वस्तुहरुको प्रदर्शनी मेला आयोजना गरिँदै आइएको छ । यस बर्ष चौथो पटक आयोजना गर्न लागिएको हो ।

जर्मनीमा आयोजना गरिएको एक अन्तराष्ट्रिय प्राङ्गारिक प्रदर्शनीबाट प्रभावित भएर नेपाल फर्किनुभएकी शान्ता बास्कोटा कोइरालाले नेपालमा पनि आफ्नो क्षमता बमोजिम सानै रुपमा भएपनि प्राङ्गारिक मेला आयोजना गर्नसके यसबाट उपभोक्तामा सचेतना जागरण र बजार सञ्जाल स्थापनामा केही योगदान पुग्ने सोचले कञ्चनजंगा टि स्टेटको निजी व्यवस्थापनमा यो मेला आयोजना कार्य शुरु गर्नुभएको हो । यो प्रदर्शनीबाट अहिले सम्म आइपुग्दा थुप्रै व्यक्तिहरु लाभान्वित भइसकेका छन् ।
प्राङ्गारिक मेलामा सहभागि भएर कृषक, विद्यार्थी, व्यवसायी लगायतले विभिन्न तवरले लाभ लिन सक्छन् । मेलामा निःशुल्क प्रवेश गर्न सकिनेछ ।
यस बर्षको मेला अर्गानिक एसाेसिएसन नेपाल र कन्चनजंगा टि स्टेटको संयुक्त आयोजनामा सञ्चालन हुनेछ ।
सन् २०१७ बाट आयोजना गर्न लागिएको यस मेलाले मानिसहरुमा स्वास्थ्य जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुले आफूलाई थप गौरवान्वित महसुस भएको समेत वास्कोटाले बताउनुभयो ।
जर्मनीको बायोफ्याक्ट भ्रमण गरेर नेपालमा आई मेला सञ्चालन प्रारम्भ गर्नुभइकी शान्ता बास्कोटाले शुरुको बर्ष नै मेलाको अवसर पारेर अष्टे«लियाबाट महविज्ञ भित्र्याएर मह सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्नुभयो । त्यस कार्यशाला र अवलोकनकर्ताको सहभागिताले मेलाको औचित्यता र आफ्नो पहललाई अझ सशक्त बनाउन थप हौसला प्रदान गर्यो ।
नेपाली महको अष्टे«लियामा ठूलो बजार रहेको र यसको थप अनुसन्धानको लागि नेपाली महका नमुना अष्टे«लिया पठाउने बारे छलफल भएपनि राज्यका केही नीतिगत व्यवस्थाको कारण त्यो प्रयाश भने सफल हुन सकेन । यद्यपि अहिले सम्म आइपुग्दा यस प्राङ्गारिक प्रदर्शनीमा नेपाल सरकारको समेत चासो र संलग्नता बढ्दो छ ।
साथै मेलाले अवलोकनकर्ताहरुलाई समेत नेपालमा नै काम गर्ने चाहना हुने हो भने यहीँ कृषि क्षेत्रबाट पनि राम्रा अवसर सम्भावना भेट्टाउन सकिँदो रहेछ भन्ने भाव जागरण गराउनमा नवउद्यमीहरुलाई समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
विषादीरहित खाद्यान्न बारे सचेतना जागरणको अलावा उत्पादन, बजार तथा उपभोक्ता बीच सिधा सम्बन्ध स्थापना गर्न र जागरुक उद्यमीहरुलाई थप उत्प्रेरित गर्ने कार्यमा मेलाले विशेष समन्वयनकारी भूमिका निर्वाह गर्ने हुनाले मेलामा सहभागि भई लाभ लिनको लागि अर्गानिक एसाेसिएसन नेपालकी महासचिव शान्ता कोइराला विशेष आग्रह गर्नुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij