काठमाडौं, ५ चैतः नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आज अपराह्नबाट आफ्नो पदको औपचारिक कार्यभार सम्हाल्नुभएको छ। पदभार ग्रहण गर्दै उहाँले मुलुकमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको स्पष्ट गर्नुभयो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको थियो। यसैअनुसार, आज गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दज्र्यानी चिह्न प्रदान गरी पदस्थापन गर्नुभएको हो।
पद ग्रहण समारोहमा गृहसचिव दुवाडीले प्रहरी सङ्गठनको सर्वोच्च पदमा नियुक्ति पाउनुभएका थापालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू, प्रहरी नायब महानिरीक्षक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।
महानिरीक्षक थापाले पदबहालीपछि नेपाल प्रहरीको समग्र उन्नति गर्दै देशभर शान्ति, सुरक्षा तथा सुव्यवस्था सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रहरी सङ्गठनका सम्पूर्ण सदस्यहरूको सहकार्यबाट यो लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
यसअघि, पद ग्रहण गर्नुअघि थापाले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै, उहाँले प्रहरी कार्यालय परिसरमा एक निमको बिरुवा रोपेर हरियाली प्रवर्द्धनको सन्देश दिनुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij