काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट भुक्तानी तथा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु रहित बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बैंकले आइतवार परिपत्र जारी गर्दै सफा नोट नीति कार्यान्वयनका लागि उक्त निर्देशन दिएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम नोटबाट पनि हुन सक्ने भएकाले पूर्व सतर्कता अपनाउन जोड दिइएको केन्द्रीय बैंकले बताएको छ । बैंकहरूलाई नोट राख्ने दराज, फर्निचर, भल्ट, नोट ओसारपसार गर्ने सामग्री सफा राख्न भनिएको छ । साथै नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने कक्षहरूमा यथोचित प्रकाश तथा पंखा आदिको प्रयोग गरी पर्याप्त हावाको व्यवस्था गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले सफा नोट नीति २०७३ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअनुसार नोटलाई तीन वर्गमा वर्गीकरण गर्नुपर्ने नीति लागू गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरूले एटीएम लगायत मेशिनहरूको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्नेछ । बैंकहरूले पाएको नोटलाई एटीएमलगायत मेशिनका माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गर्न योग्य वा चलनचल्तीमा पठाउन अयोग्य भनेर अनिवार्य रूपमा छुट्याउनुपर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बताए । उनका अनुसार बैंकहरूले काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटलाई सेतो रङको स्लिप प्रयोग गर्नुपर्नेछ भने चलनचल्तीमा पठाउन अयोग्यलाई रातो रङको स्लिप प्रयोग गर्नुपर्नेछ । यससँगै विभिन्न रङ प्रयोग गरिएका नोटको स्लिपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नामलगायत विवरण खुलाउनुपर्नेछ । नोटमा स्टिच लगाउन नपाइने समेत उक्त नीतिमा उल्लेख छ ।
यस्तै झुत्रिएका, मक्किएका, जलेका, गलेका, लुलो भएका, कीराले खाएका, अक्षर, अंक चित्र, सुरक्षण नबुझिने लगायत नोट तथा पूर्वराजाको तस्वीर अंकित नोटलाई पुनः निष्कासन अयोग्य नोटको रूपमा वर्गीकरण गर्न र चलनचल्तीमा नपठाउन राष्ट्र बैंकले भनेको छ । चलनचल्तीमा पठाउन अयोग्य नोटलाई नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij