२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

दिपक घिमिरे काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचाररत खड्काको शुक्रबार साँझ ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उनी मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए । खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको छ । काँगे्रसका प्रभावशाली नेता खड्का काँग्रेसका संस्थापक बिपी कोइरालाका भरपर्दा युवकका रुपमा रहेका थिए । विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का बिपीसँगै थिए । निर्वासनबाट बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाईं र युवा नेता खड्का आएका थिए । नेपाली काँग्रेस विभाजित भई गठित नेपाली काँग्रेस(प्रजातान्त्रिक)मा उनी महामन्त्रीको भूमिकामा रहेका थिए । काँग्रेसको १३औँ महाधिवेशनमा उनी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । । दाङबाट प्रतिनिधिसभामा तीन पटक लगातार निर्वाचित भई उनले पटक पटक गरेर निर्माण तथा यातायात, गृह, जलस्रोत र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

२०५९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बक्राहा नदी नियन्त्रण आयोजना लगायतमा भ्रष्टाचारको मुद्दामा जेल चलान गरेपछि खड्काले महामन्त्री पदबाट राजीनामा गर्नुपरेको थियो। अख्तियारले मागेको तीन करोड धरौटी २०५९ पौष १९ मा बुझाएर धरौटीमा रिहा भएपछि उनी आक्रामक रुपमा राजनीतिमा उदाएका थिए।

त्यसवेला उनको रिहाईका लागि जमानत रकम राखिदिनेको घुँइचो देखिएको थियो। २०४८ को मन्त्रिपरिषदमा भौतिक योजना र यातायात मन्त्री बनेपछि विभिन्न समयमा उनले स्थानीय विकास, गृह, वन तथा भूसंरक्षण, जलस्रोत जस्ता अधिक स्रोत परिचालन गर्ने मन्त्रालयको जिम्मेवारी बारम्बार सम्हालेका थिए । भौतिक योजना मन्त्रालयको जिम्मेवारी उनले पाँच पटक सम्हालेका थिए । भ्रष्टाचारको मुद्धामा अदालतबाटै सजाय पाएपछि राष्ट्रिय राजनीतिमा आउने ढोका बन्द भएपनि खड्का पार्टी राजनीतिमा सक्रिय र प्रभावशाली थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij