काठमाडौं । चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दुई जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले चोरीमा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन हराएको र साेही प्रकरणमा स्वास्थ्यकर्मीहरुलाइ पक्राउ गरिएकाे हाे ।
प्रहरी स्राेतका अनुसार १७ जेठमा बिहान साढे ८ बजे अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट भन्दै दुवै जना अस्पतालमा छिरेका थिए । आईसीयू कक्षमा केही नर्स पनि थिए । त्यतिवेला उनीहरुले पोर्टेबल अल्ट्रासाउण्ड मेसिन हेरेर जस्तो गरे । तर, कहीवेरमै नर्सको आँखा छलेर बाहिर भाग्न सफल भए । लगत्तै अस्पताल प्रशासनले ललितपुर प्रहरीमा घटनाबारे जानकारी दिएको थियो ।
चाेरी गरेका सामान बानेश्वरमा एक जना साथीको कोठामा लुकाएको पाइएको थियो ।
प्रारम्भिक सोधपुछमा उनीहरुले वर्दिवासमा रहेको आफ्नो पोलिक्लिनिकमा प्रयोगका लागि उपकरण लगेको बताएको प्रहरी दाबी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij