२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

पलायनको मारले पहिचान गुमाउँदै धुलिखेल बजार

पलायनको मारले पहिचान गुमाउँदै धुलिखेल बजार

 

धुलिखेल।  व्यापारिक, पर्यटकीय एवं सांस्कृतिक केन्द्रको रुपमा चिनिँदै आएको धुलिखेल क्षेत्रका अधिकांश मानिसहरु कृषि पेशाभन्दा पनि ब्यापार व्यवसायमा संलग्न रहँदै आएका छन् । पछिल्लो समय पर्यटन नगरीको रुपमा पहिचान बनाइरहेको धुलिखेल विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनिरहेको छ । तर स्थानीय बासिन्दाहरू भने अवसरको खोजीमा थातथलो छाड्दैछन् । जसले गर्दा यहाँको कला, संस्कृति मात्रै होइन, विकास पनि पछि पर्दैछ ।

कला र संस्कृतिका धनी नेवार समुदायको बाक्लो बसोबास रहेको धुलिखेलको पुरानो बजारले कला संस्कृतिका पारखीहरूको मात्रै होइन, धर्मकर्ममा विश्वास राख्ने जोकसैलाइ सजिलै आकर्षित गर्छ । काली मन्दिर, सिद्धपोखरी,  भगवती मन्दिर, सोह्रखुट्टे पाटी, कृष्ण मन्दिर, गणेश मन्दिर लगायतका पुराना मैलिक एवं सांस्कृतिक संरचना रहेको पुरानो बजारमा पुग्दा कुनै तीर्थस्थलमा पुगेको अनुभुति हुन्छ । कुनै बेला दर्शनार्थीको भीडभाड रहने ती मठमन्दिरहरू अहिले सुनसान जस्तै लाग्ने गर्दछ । स्थानीय बासिन्दा सुरेश मानन्धर भन्नुहुन्छ, ‘अहिले यहाँका धेरै जना काठ्माडुमा बस्छन् । उनीहरू चाडपर्वमा मात्रै फर्कन्छन्, अरू बेला यस्तै सुनसान हुन्छ ।’

पर्यटकीय क्षेत्र भएता पनि स्थानीय स्तरमा व्यापार व्यवसाय फस्टाउन नसकेकोले यहाँका लगभग ८० प्रतिशत बासिन्दाहरू अवसरको खोजीमा बाहिरिएका छन् ।

धुलिखेल पुरानो बस्तीका स्थानीय बासिन्दा एवं व्यापारी लालकाजी खड्गी व्यापार राम्रोसँग विस्तार हुन सकेमात्र विकास पनि सँगसँगै अघि बढ्ने बताउनुहुन्छ । ७० बर्षीय खड्गीका अनुसार धुलिखेलका स्थानीयमध्ये करिब ७०-७५ प्रतिशत मानिस कुनै न कुनै व्यापारमा संलग्न छन् । धुलिखेलमा नै राम्रो तवरले व्यापार हुने स्थिति रहेको भए यहाँका व्यापारीहरू अन्यत्र जाने स्थिती पैदा नहुने विचार व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, ‘व्यापार फस्टाउन चहलपहल हुनुपर्छ । विगतका तुलनामा यहाँ चहलपहल घट्नु नै यहाँको व्यापारमा ह्रासको मुख्य कारण बनेको छ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम भएको र अधिकांश प्रशासनिक कार्यालयहरू यहीँ रहेको कारणले मात्रै केही व्यापारीहरू यहाँ टिकेका छन् ।’

धुलिखेलका नेवारहरू यहाँ आफ्नो व्यापार बिस्तार गर्ने अवसर सीमित रहेको भन्दै काठमाडौं उपत्यका एवं सँगैका जिल्लाहरूमा प्रवेश गरिरहेका छन् । काठमाडौंमा विशेषगरी जुत्ता र कपडा व्यापारमा बढी संलग्न भेटिन्छन् धुलिखेले नेवारहरू ।

पर्यटकीय नगरी धुलिखेलका अधिकांश होटलहरु स्थानीयहरुले नै सञ्चालन गर्दै आएका भएपनि साङ्ग्रिला र द्वारिकाज जस्ता ठूलाठूला होटलहरू भने धुलिखेल बाहिरका व्यक्तिहरूले सञ्चालन गरेका छन् ।

पछिल्ला वर्षहरूमा धुलिखेलमा पर्यटकहरूको आगमन तुलनात्मक रूपमा निकै नै बढेको छ । जसमध्ये अधिकांश विदेशी छन् भने आन्तरिक पर्यटकहरू घुमफिर, पिकनिक तथा विशेष तालिम लगायतका उद्देश्यले आउने गरेका छन् । तथापि धुलिखेलको विकासमा पर्यटन क्षेत्रले पनि खासै भूमिका खेल्न सकेको छैन । यहाँको आफ्नै उत्पादन नहुनु र होटल लगायत क्षेत्रमा आवश्यक पर्ने सबैजसो सामानहरू बाहिरबाट भित्रिनुले यहाँको अर्थतन्त्रलाइ खासै टेवा पुग्न सकेको देखिन्दैन ।

स्थानीय ९० बर्षीय मेघराज श्रेष्ठ आफ्नो जीवनकालमा धुलिखेलमा नसोचेको परिवर्तन भएको बताउनुहुन्छ । तर यो विकास समयले स्वतः ल्याएको भन्दै स्थानीयको पलायनले विकास पछि पर्नेमा उहाँ चिन्तित देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘समयले विकास त ल्याइहाल्छ तर यहाँका मान्छेहरू नै यहाँ नहुँदा विकास चाहीं अलमलिने भयो ।’

अन्य पुराना शहर तथा बजार जस्तै धुलिखेलको यो पुरानो बजार पनि स्थानीयको पलायनबाट आक्रान्त छ । स्थानीय स्तरमा नै अवसर र रोजगारी सिर्जनामा बेलैमा ध्यान नपुर्याउने हो भने यो बजार पनि एकादेशको कथा हुन बेर लाग्ने छैन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij