
कोरोना भाइरस (कोभिड–१९)ले सृजना गरेको लकडाउनको कारण नेपालको समग्र अर्थतन्त्र प्रभावित भइरहँदा सबैभन्दा बढी असर पर्यटन क्षेत्रले व्यहोर्नुपरेको व्यवसायीहरुले बताउँदै आएका छन् । पर्यटन व्यवसायीहरुको यस किसिमको आवाजमा अन्य क्षेत्रका उद्योगी, व्यवसायी, योजनाविद् र बुद्धिजिवीहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।
विश्वव्यापी सञ्जालमा निर्भर रहने पर्यटन क्षेत्रको व्यावसायिक वातावरण अहिले नेपालमा मात्र नभई संसारभर नै विथोलिएको छ । जसले गर्दा लकडाउन र कोरोना प्रकोप पछाडिको पर्यटन अवस्था के हुने हो भन्ने कुरा ठूलो चिन्ताको विषय बनेको छ । पर्यटन व्यवसायीहरुको एक प्रतिनिधिमूलक संस्था नाट्टाले पनि पर्यटन क्षेत्रमा परेको असर प्रति चिन्ता व्यक्त गरेको छ ।
नाट्टाका अध्यक्ष तथा वरिष्ठ पर्यटन उद्यमी अच्युत गुरागाईं नेपालका अब तेस्रो मुलुकबाट पर्यटकहरु आउन कोरोना प्रकोप समाप्ति पछि समेत करिब २ बर्ष सम्भव नभएको धारणा राख्नुहुन्छ ।
पर्यटन व्यवसाय धराशयी हुन सक्नेमा चिन्ता व्यक्त गर्दै अध्यक्ष गुरागाई तत्काल व्यवसायीहरुलाई लक्षित गरेर विशेष राहत प्याकेज ल्याउनको लागि राज्य पक्षलाई आग्रह गर्नुहुन्छ । समग्र पर्यटन व्यवसायीहरुले सोही माग सहित पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण गराइसकेका छन् । नेपाल सरकारले व्यावसायीहरुका समस्या समाधान गर्दै लैजानेमा आफु व्यवसायीहरु आशावादी रहँदै आएको अध्यक्ष गुरागाईं बताउनुहुन्छ ।
नेपाल पर्यटन वोर्डले समेत पर्यटन क्षेत्रलाई पुनः गतिशिल बनाउन तत्काल २० अर्बको प्याकेज ल्याउनुपर्ने बताइसकेको अवस्थामा यसले केही सहायता मिल्नेमा आफुहरुमा आशा पलाएको समेत गुरागाईले बताउनुभयो ।
नेपालमा पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धनको लागि अब तत्काल गर्नुपर्ने काम र आगामी कार्यदिशा सम्बन्धमा कुराकानी गर्दा लकडाउन पश्चात् तत्काल आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने र दोस्रो चरणमा छिमेकी मुलुकबाट पर्यटक भित्र्याउन विशेष रणनीति सहित अघी बढ्नुपर्ने धारणा राख्नुभयो ।
तत्कालको लागि पर्यटन व्यवसायलाई चलायमान बनाउनको लागि राज्यले गर्नुपर्ने सहयोग सम्बन्धमा उहाँको धारणा यस्तो छ ।
‘लकडाउन र कोरोनाको कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको पर्यटन नै हो । यसलाई तत्काल पहिलेको अवस्थामा फर्काउन सकिने अवस्था छैन । यद्यपि राज्यले व्यवसायीहरुलाई प्रयाप्त सहयोग गरेको खण्डमा झण्डै २ बर्षको अवधिमा मात्र यो क्षेत्र सामान्य अवस्थामा आउन सक्ने हामीले देखेका छौं ।’
समग्र पर्यटन व्यवसायलाई पुनः गतिशिल बनाउने सम्बन्धमा सेतोघर डट कमले गरेको कुराकानीमा गुरागाईसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश यहाँ प्रकाशित छ ।
पर्यटन व्यवसाय कस्तो व्यवसाय हो ? अहिलेको अवस्था के छ ?
पर्यटन व्यवसाय ठूलो रोजगारी उपलब्ध गराउन सफल क्षेत्र समेत हो । अहिले यस क्षेत्रमा संलग्न कामदार तथा कर्मचारीहरुलाई तलब सुविधा उपलब्ध गराएर टिकाइराख्नु पनि हामी व्यवसायीहरुलाई निकै गाह्रो छ । त्यतिमात्र होइन, हामीले पुःन पर्यटन क्षेत्रलाई नयाँ तवरले माथि उठाउनुछ । हरेक जटिल परिस्थिति पश्चात् केही सम्भावना पनि सँगसँगै आएको हुन्छ । केवल त्यसलाई हामीले पहिचान गर्नुपर्ने हुन्छ । अहिलेको यस अवस्थाले पनि हामीलाई थप सशक्त बन्न प्रोत्साहित नै गरेको छ भन्ने मलाई लाग्छ ।
अहिलेका चुनौतीहरु के हुन् ?
नेपालमा ठूलो लगानी भएको क्षेत्र अन्तरगत पर्यटन क्षेत्र पनि एउटा हो । यस क्षेत्रमा अहिले निकै ठूलो रकम लगानी भइसकेको छ । लगानी मध्ये ठूलो हिस्सा बैंकबाट लिएको कर्जामा आधारित छ । विगतमा व्यवसाय सुचारु ढंगले सञ्चालनमा रहँदा व्यवसायीहरुले जुन–जुन हिसाबले आवधिक रुपमा बैंक तथा वित्तीय संस्थालाई किस्ता रकम बुझाउँदै आएका थिए, तर अहिले अवस्था प्रतिकूल छ । कर्मचारीको तलब, घरभाडा, सेवा शुल्क, सरकारी राजस्व लगायतका शुल्कहरु व्यवसायीहरुले तत्काल तिर्न सक्ने अवस्था छैन । लामो समय सम्म व्यवसाय प्रभावित हुँदा यसले अर्थतन्त्र चलायमान हुने समग्र सञ्जाललाई असर पारेको छ । यस्तो अवस्थामा नेपाल सरकारले परिस्थितिलाई सहज बनाउन विशेष भूमिका निर्वाह गर्नु जरुरी छ ।
नेपालमा लकडाउन र कोरोनाको अन्त्य पश्चात् सबैभन्दा पहिलो प्राथमिकता स्वदेशी पर्यटन प्रवर्द्धन नै हुनुपर्छ । त्यस पश्चात हामीले भारत र चीनमा पर्यटक आकर्षणको लागि तत्काल मार्केटिङ गर्नु जरुरी रहन्छ । अबका दिनमा हाम्रा छिमेकी देशबाट नेपालमा पर्यटक ल्याउनको लागि पनि हामीलाई राम्रो अवसर छ । भारत र चीनबाट पनि तेस्रो मुलुकमा भ्रमणको लागि जानु भन्दा नेपाल नै सुरक्षित भन्ने सोच पैदा हुन सक्छ । यस्तो अवस्थामा हामीले छिमेकी मुलुकका पर्यटकहरुलाई लक्षित गरेर मार्केट ग्य्राभ गर्न सके हाम्रो लागि राम्रो अवसर पनि छ ।
राज्य सँग पर्यटन व्यवसायीहरुको अपेक्षा के छ ?
नेपाल सरकारले राष्ट्र बैंक मार्फत अप्ठ्यारोमा परेका पर्यटन व्यवसायीहरुलाई विशेष सुविधा उपलब्ध गराउनु जरुरी छ । राज्यले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको खण्डमा यो क्षेत्र नै धराशायी हुन सक्ने सम्भावना समेत प्रबल छ । नेपालमा यस क्षेत्रबाट उपलब्ध हुँदै आएको ठूलो रोजगारी, राजस्व र हाम्रो पहिचान बचाउन यस क्षेत्रको संरक्षण गर्नुको विकल्प छैन । यस सम्बन्धमा हामीले राज्यलाई सचेत समेत बनाउँदै आएका छौं ।
पर्यटन क्षेत्रलाई अब अघी बढाउने क्रममा केही नयाँ अभ्यासमा जानुपर्ने आवश्यकता पनि देख्नुहुन्छ कि ?
अवश्य पनि अबका दिनमा हामीले पर्यटन क्षेत्रलाई नयाँ योजना सहित अघी बढाउनुपर्ने जरुरी छ । यसको लागि निम्न कार्यमा हामीले जोड दिनुपर्छ ।
क) पर्यटन नीतिमा परिवर्तन
अहिलेको पर्यटन नीतिमा विदेशी भूमिबाट नेपालमा घुम्नको लागि आउने व्यक्तिहरुलाई मात्र पर्यटकको रुपमा परिभाषित गरिएको छ । अब हामीले नेपालमा एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने व्यक्तिहरुलाई पनि पर्यटकको परिभाषामा समेट्नु जरुरी छ । यसको लागि पर्यटन नीति परिमार्जित गर्नु जरुरी छ ।
ख) कार्यालय सञ्चालन हप्तामा ५ दिन गर्नु जरुरी
हामीले पर्यटन क्षेत्रलाई अब नयाँ तवरले अघी बढाउनु जरुरी छ । यसको लागि विद्यमान व्यवस्थामा केही परिवर्तन गर्नुपर्ने जरुरी समेत छ । नेपालमा हप्तामा ६ दिन कार्यालय सञ्चालन गर्ने प्रचलन छ । अब हामीले पनि हाम्रो अहिलेको व्यवस्थामा परिमार्जन गर्दै हप्तामा ५ दिन मात्र सञ्चालन हुने व्यवस्था गर्नु जरुरी छ । यसको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने हो । यस व्यवस्थालाई व्यावहारिक बनाउन नेपाल सरकारले यसलाई संसदबाट पारित गराउनु जरुरी रहन्छ ।
ग) लिभ ट्राभल एलाएन्स
आन्तरिक पर्यटन प्रवर्द्धनकाे लागि अब लिभ ट्राभल एलाएन्सको व्यवस्था गर्नुपर्ने जरुरी समेत देखिएको छ । जुन विश्वका अन्य देशहरुमा पनि प्रचलनमा रहेको पाइन्छ । नेपालको लागि नयाँ कार्यक्रम भएको कारण शुरुका दिनमा नेपाल सरकारले यस कार्यक्रमलाई प्रवद्र्धन गर्न विशेष महत्वपूर्ण हुने गर्छ । यसको लागि सरकारी कर्मचारीलाई विशेष भत्ता सहित भ्रमणको लागि प्रोत्साहित गर्नु जरुरी रहन्छ । यसले आन्तरिक पर्यटन बढाउन सहयोग गर्नेमा हामी व्यवसायीहरु आशावादी छौं । सरकार नै सबै व्यवसायीहरुको अभिभावक भएको हुनाले उपयुक्त निकास पनि दिनुपर्छ भन्ने हाम्रो धारणा हो ।
लकडाउन र कोरोना समाप्ति पछिको हाम्रो पर्यटन बजार तत्काल कहाँ प्रवद्र्धन गर्न सकिएला ?
नेपालमा लकडाउन र कोरोनाको अन्त्य पश्चात् सबैभन्दा पहिलो प्राथमिकता स्वदेशी पर्यटन प्रवद्र्धन नै हुनुपर्छ । त्यस पश्चात हामीले भारत र चीनमा पर्यटक आकर्षणको लागि तत्काल मार्केटिङ गर्नु जरुरी रहन्छ । अबका दिनमा हाम्रा छिमेकी देशबाट नेपालमा पर्यटक ल्याउनको लागि पनि हामीलाई राम्रो अवसर छ । भारत र चीनबाट पनि तेस्रो मुलुकमा भ्रमणको लागि जानु भन्दा नेपाल नै सुरक्षित भन्ने सोच पैदा हुन सक्छ । यस्तो अवस्थामा हामीले छिमेकी मुलुकका पर्यटकहरुलाई लक्षित गरेर मार्केट ग्य्राभ गर्न सके हाम्रो लागि राम्रो अवसर पनि छ ।
होटल व्यवसायीहरुले गरेको होटल बन्द गर्ने घोषणाले कस्तो प्रभाव पार्ला ?
राज्यले नेपालमा समग्र व्यवसायीहरुका समस्या समाधानमा खासै चासो नराखेको भन्दै होटल व्यवसायीहरुले हान मार्फत लामै समय सम्म होटल बन्द गर्ने घोषणा गरेका छन् । कर्मचारीलाई तलब दिन नसक्ने भनेर होटल बन्दको निर्णय गरेको अवस्थामा घुमफिरको लागि आउन चाहने केही पर्यटकलाई पनि हामीले नेपालमा भित्र्याउन र राख्न सक्ने अवस्था बन्दैन । यस कुरालाई उपयुक्त निकास दिन नेपाल सरकारले निर्वाह गर्ने भूमिका नै महत्वपूर्ण रहन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
अब तत्काल नेपालमा तेस्रो मुलुकबाट विदेशी पर्यटकहरु आउने अवस्था छैन । यस्तो अवस्थामा छिमेकी मुलुकबाट पर्यटक ल्याउनमा विशेष पहल गर्नु जरुरी छ । यसबाट नै हाम्रो अवस्था सुधार हुन सक्छ । यसको लागि नेपाल सरकारले कस्तो नीति तय गर्छ, त्यसैमा नै हाम्रो पर्यटन क्षेत्रको भविष्य निर्भर रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij