
काठमाडौं । नेपाल विद्यार्थी संघको बैठकलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजन चापागाईंले विद्यार्थीहरु अब रचनात्मक बन्नुपर्ने र नयाँ ढङ्गले आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताएका छन् ।
संगठन भित्र सुशासन र सुदृढीकरणको आवश्यकता रहेको र पार्टीले अबका दिनमा आपराधिक क्रियाकलाप र सबै किसिमका विकृति विसङ्गतिलाई त्यागेर नयाँ ढंगले अघी बढ्नुपर्ने समेत उनले बताए ।
नेपाली काङ्ग्रेस निकट भातृ संगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघमा सुदृढीकरणको आवश्यकता रहेको बताउँदै राष्ट्र लाई सही ट्रयाकमा हिँडाउनको लागि सबै जिम्मेवार सदस्यहरुले आफूलाई सुधार्नुपर्नेमा उनले जोड दिएका छन् ।
नेवि संघमा धारणा राख्ने क्रममा उनले भने, ‘तपाईंहरु राष्ट्रको अवस्था परिवर्तन गर्ने उद्धेश्यले राजनीतिमा लाग्नुभएको हो । आफैं विचार गर्नुहोस् त, पार्टी र संगठन भित्र आपराधिक क्रियाकलापलाई बढावा दिएर के साँच्ची राष्ट्रको अवस्थामा ल्याउन सकिएला त ?’
अबका दिनमा विद्यार्थीहरुले विद्रोह मात्र गर्ने काममा आफूलाई सीमित बनाउन नहुने उनले बताए । विद्यार्थीले मष्तिष्कलाई चलाएर रचनात्मक कामहरुमा आफूहरुलाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
अबका दिनमा विद्यार्थीहरुको भूमिका मुलुकलाई नयाँ दिशा दिनको लागि अझ प्रभावकारी बन्नुपर्ने र औपचारिकता पूरा गर्नमा मात्र सीमित हुन नहुने उनको धारणा छ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको नाराले मात्र अब विद्यार्थी र युवाहरु नेपाल विद्यार्थी संघमा जोडिन सक्ने स्थिति नरहेको समेत उनले बताए ।
सोही कारण ‘उद्यमशिलता, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणः आजको आवश्यकता’ भन्ने किसिमले नयाँ ढङ्गबाट संगठन निर्माणमा लाग्न चापागाईंले आग्रह गरेका हुन् ।
नेपालबाट युवाहरु रोजगारीको लागि बाहिरिइरहेको, नेपालका खेतबारी बाँझो हुँदै गएको र अर्थतन्त्र परनिर्भर हुँदै गएको अवस्थामा नेपालमा विद्यार्थीहरुले नयाँ आशा जगाई स्वदेशमा नै उत्पादनसँग विद्यार्थी र युवाहरुलाई जोड्नको लागि भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij