२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपाल राष्ट्र बैंकको सन्देश : खातामा अनधिकृत कारोबार भए तुरुन्तै खबर गर्नुहोस्

नेपाल राष्ट्र बैंकको सन्देश : खातामा अनधिकृत कारोबार भए तुरुन्तै खबर गर्नुहोस्

काठमाडाैं, ४ बैशाखः नेपाल राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई सतर्क रहन आह्वान गर्दै अनधिकृत कारोबार भएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेको छ।

केन्द्रीय बैंकले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै ग्राहकहरूलाई आफैंले कारोबार गरिरहेको बैंक वा वित्तीय संस्थाको आपतकालीन सम्पर्क नम्बर तथा ग्राहक सेवा टिमबारे जानकारी राख्न अनुरोध गरेको हो।

“के तपाईंलाई थाहा छ, यदि तपाईंको खाताबाट कुनै अनधिकृत कारोबार भयो भने तुरुन्त कहाँ खबर गर्ने?” राष्ट्र बैंकले प्रश्न गर्दै भनिएको छ, “बैंक तथा वित्तीय संस्थाहरूले यस्ता अवस्थामा सहयोग गर्नका लागि टोल फ्री नम्बर र ग्राहक सेवा टिमको व्यवस्था गरेका हुन्छन्। यस्तो कुनै घटना थाहा पाउनेबित्तिकै तुरुन्तै सम्बन्धित निकायमा खबर गर्नु जरुरी छ।”

डिजिटल प्रविधिको विकाससँगै वित्तीय कारोबार सरल बन्दै गएको छ तर त्यससँगै अनधिकृत पहुँच र साइबर ठगीको जोखिम पनि बढेको बैंकले जनाएको छ। अज्ञात व्यक्तिहरूले ग्राहकको पिन, पासवर्ड, ओटीपी जस्ता संवेदनशील विवरण चोरेर खाताबाट रकम चोरी गर्ने घटना बढेको छ।

हालै मोबाइलमार्फत स्क्याम लिंक वा नक्कली सर्टकोड प्रयोग गरेर हुने ठगीका घटनामा वृद्धि भएको छ। यस्तो अवस्थामा ग्राहक स्वयं सतर्क हुनु पर्ने र आफ्ना खाता तथा कारोबार नियमित रूपमा अनुगमन गर्न राष्ट्र बैंकले सुझाएको छ।

नेपाल राष्ट्र बैंकले गुनासोका लागि अनलाइन प्लेटफर्म www.gunaso.nrb.org.np संचालनमा ल्याएको छ, जहाँ ग्राहकले कुनै वित्तीय संस्थाबाट असन्तुष्ट भएको वा अनधिकृत कारोबारको उजुरी दर्ता गर्न सक्छन्। थप जानकारीको लागि बैंकले ०१–५७१९६०५ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

आपतकालीन सम्पर्क नम्बर कसरी थाहा पाउने ?

  • सम्बन्धित बैंक वा वित्तीय संस्थाको वेबसाइटमा ‘Contact Us’ सेक्सन हेर्नुहोस्।

  • मोबाइल बैंकिङ एपमा ‘Customer Support’ वा ‘Help’ सेक्सनमा जानुहोस्।

  • बैंकको सामाजिक सञ्जालका आधिकारिक पेजहरूमा आवश्यक जानकारी खोज्नुहोस्।

  • नजिकको शाखा वा ग्राहक सेवामा फोन गरेर सम्पर्क नम्बरहरू लिन सक्नुहुन्छ।

  • स्टेटमेन्ट वा पासबुकमा दिइएको नम्बर सुरक्षित राख्नुहोस्।

डिजिटल सुरक्षा कायम राख्न यस्ता सावधानी अपनाउनुहोस् :

  • आफ्नो बैंक विवरण कसैसँग पनि साझा नगर्नुहोस्।

  • पिन र पासवर्डहरू नियमित रूपले परिवर्तन गर्नुहोस्।

  • अपरिचित लिङ्क वा सन्देशमा क्लिक नगर्नुहोस्।

  • नियमित रूपमा आफ्नो खाता विवरण जाँच गर्नुहोस्।

  • कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै बैंकलाई खबर गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij