काठमाडौँ, २८ फागुनः यास्मिन खानको प्रभावशाली प्रदर्शनको मद्दतले नामिबियाले नेपाल सामु महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस गुमाएर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको स्कोर खडा गर्यो। नामिबियाका लागि यास्मिन खानले ४४ बलमा पाँच चौकाको मद्दतले ४५ रन जोडेकी थिइन्। विल्का म्वाटिलले २० रन बनाउँदा, अर्रास्टा डियर्गार्डले १६ र कप्तान सुने विटम्यानले १५ रनको योगदान दिए।
नेपालका बलरहरू मध्ये ईश्वरी विष्ट सबैभन्दा प्रभावशाली रहिन्, जसले तीन विकेट लिइन्। रचना कुमारी चौधरीले दुई विकेट हात पारिन् भने रिया शर्मा र इन्दु बर्माले एक/एक विकेट लिए।
नेपालका लागि यो खेल जित्नैपर्ने दबाब रहेको छ, किनकि उसले यसअघि भएका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ। पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो। तर, तेस्रो खेलमा हङकङसँग दुई रनको झिनो अन्तरले हार बेहोर्नु पर्यो।
नामिबियाले यसअघि नेपाललाई हराइसकेको छ भने हङकङसँग चार विकेटले र युगान्डासँग एक रनले पराजित भएको थियो। नेपाल अहिले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij