
केही दशक पहिले सम्म नेपाली बजारमा कफी बारे अधिकांश मानिसहरु अनविज्ञ थिए । कफी प्रतिको बुझाई सीमित थियो । अहिले भने कफी प्रतिको चासो र आकर्षण अधिकांश मानिसहरुमा बढ्दै गएको छ । जसले गर्दा कफी शप, कफी सम्बन्धी सिकाउने वरिस्ता टे«निङ सेन्टरहरु फस्टाउँदै गइरहेको छ । कफीलाई विभिन्न भेराइटीहरुमा उपलब्ध गराउने प्रचलन समेत बढ्दो छ । कफी प्रतिको मानिसहरुको आकर्षण जसरी बढ्दै गइरहेको छ, त्यससँगै यसको गुणस्तर कायम राख्नुपर्ने दायित्व समेत त्यत्तिकै छ ।
नेपाली कफीको माग विश्व बजारमा निकै राम्रो छ । कफी उत्पादनको लागि नेपाल आफैंमा राम्रो सम्भावना बोकेको देश समेत हो । तथापि यहाँको उत्पादनले यहाँको खपतलाई सम्बोधन गर्न सकेको छैन । माग बढ्दै जानु तर उत्पादनमा त्यस किसिमले वृद्धि आउन नसक्दा स्वदेशी कफीको बजार आयातित कफीले परिपुर्ति गर्नुपर्ने अवस्था समेत सृजना भएको छ ।
कफी नेपालको आफ्नै उत्पादन हो । ठूलो परिमाणमा कृषकहरुलाई रोजगारी दिन सक्ने कृषि क्षेत्र अन्तरगतको एउटा उत्पादनको रुपमा कफीलाई समेत लिन सकिन्छ । अन्य खेतीयोग्य जमीन भन्दा रुखो जमीनमा समेत कफी उत्पादन गर्न सकिन्छ । नेपालमा उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि राज्यले कफी उत्पादनको लागि प्रयाप्त काम गर्न सकेको छैन । नेपाल सरकार अन्तरगत स्थापना भएको चिया कफी विकास बोर्डले कफी विकासको लागि केही गतिविधिहरु सञ्चालन गर्ने प्रयत्न नगरेको त होइन । तथापि बोर्डका आफ्नै सिमाहरु छन् । कफी क्षेत्रको प्रवर्द्धन र विस्तारको लागि राज्यले प्रयाप्त बजेट विनियोजन गर्न नसकेको अवस्था छ ।
नेपालमा पछिल्ला बर्षहरुमा उत्पादन कार्यमा संलग्न रहने युवा जनशक्तिको पलायन अहिले र भावी दिनहरुको लागि ठूलो चुनौतीको रुपमा देखा पर्दैछ । यसलाई स्वदेशमा रोक्नको लागि राज्यले जुन प्रयत्नहरु गर्नुपर्ने थियो, त्यो प्रयत्न हुन नसकेको स्थिति छ ।
यस्तो अवस्थामा नेपालमा अहिले कफी व्यवसाय कसरी चलिरहेको छ । यस क्षेत्रमा कसरी संलग्न हुनुपर्छ ? यस क्षेत्रका सम्भावना र चुनौतीहरु के–के छन् ? कफी व्यवसायको भावी सम्भावना के–कस्तो हुन सक्छ भन्ने सम्बन्धमा रही कफी व्यवसायमा १ दशक भन्दा लामो समयको अनुभव हासिल गरेका उद्यमी सरोज श्रेष्ठ सँग कुराकानी गरी हामीले यो सामाग्री तयार पारेका हौं ।
हिमालयन कफी ट्रेडिङका प्रबन्ध निर्देशक रहेका श्रेष्ठ कफी उत्पादन, प्रशोधन, उपकरण आयात हुँदै कफी सप सञ्चालन सम्मका सबै क्षेत्रमा संलग्न व्यक्ति हुन् । गोरखामा करिब ५ सय रोपनी क्षेत्रफलमा सञ्चालनमा रहेको ‘इको फ्रेण्डली एग्रो अर्गानिक कन्सेप्ट प्रा.लि’का सञ्चालक मध्येका १ सदस्य रहेका उनी काठमाडौंमा सञ्चालित ‘सान्वी फुड प्रडक्ट’का सञ्चालक समेत हुन् । पछिल्ला बर्षहरुमा नेपालको कफी विशिष्टीकृत हुँदै गएको बताउने श्रेष्ठ नेपाल कफी व्यवसायी महासंघकाे उपाध्यक्षकाे भूमिकामा समेत छन् ।
……………………………………………………………………………………………………………………………….
आफ्नाे कफी व्यवसायको प्रवेश र यस क्षेत्रको अनुभव उनकै शब्दमाः
मेरो पुर्ख्याैंली घर रामेछापको खाँडाबारी–१, राकाथुममा हो । म सन् २००५ मा शिक्षा सङ्कायमा स्नातक तह अध्ययन पूरा गरेपश्चात् काठमाडौंको ठमेल स्थित होटलमा फन्ट डेस्क अफिसरको रुपमा जागिरमा थिएँ । त्यसैबेला मलाई अमेरिकन बहुराष्ट्रिय कम्पनी स्टारबक्स कफीमा काम गर्नको लागि साउदी अरब जाने भनेर अफर आयो । त्यसमा आवेदन दिएर छनौट भई म साउदी अरबको यात्रामा निस्किएँ । त्यससँगै सन् २००७ बाट कफी व्यवसायमा मेरो यात्रा शुरुवात भएको हो । २० महिना उक्त कम्पनीमा काम गरेर अनुभव बटुलेपश्चात् नेपालमा आएर कफी क्षेत्रमा काम गर्ने मानसिकता बनाएँ मैले । त्यतिबेला नेपालमा हिमालयन जाभाले पृथक तवरले काम गरिरहेको थियो । हामीले अन्य व्यवसायहरु पनि अवलोकन गर्यौं ।
कमलादीमा सञ्चालनमा रहेको ‘फ्रेस कप कफी’मा करिब ९–१० महिना मैले काम गरेँ । सबै कामको मुख्य जिम्मेवारीमा थिएँ म । त्यस बिचमा कफी सम्बन्धी सीपको अलावा नेपालमा कफी व्यवसाय कसरी चलेको छ ? यस क्षेत्रमा संलग्न व्यक्ति र कम्पनीहरु को–को छन् ? भन्ने लगायतका कुराहरु समेत सिक्ने अवसर मलाई प्राप्त भयो । त्यस पश्चात् २०११ मा एक जना साथीसँग मिलेर ‘नेपाली बिन्स कफी’ कम्पनी हामीले सञ्चालन गर्यौं । म अहिले आबद्ध रहेको ‘हिमालयन कफी ट्रेडिङ’ सन् २०१३ मा म आफैंले सञ्चालन गरेको हुँ ।
हामीले शुरुवाती दिनमा ८–१० लाखको साधारण लगानीबाट नै कफी व्यवसाय शुरुवात गरेका हौं । बिस्तारै यस क्षेत्रलाई अझ नजिकबाट बुझ्दै गयौं । हामीले कफी व्यवसाय शुरुवात गर्दा कफी क्षेत्र खासै बिस्तार भइसकेको थिएन । अहिले भने क्षेत्र (दायरा) बिस्तार भई विशिष्टिकृत हुने क्रममा छ । त्यति बेला कफी क्षेत्र व्यवस्थित र विशिष्टिीकृत नभइसकेको कारण हामीले नेपालमा कफीको बजार सम्भावना राम्रो ठान्यौं । व्यवसाय फस्टाउँदै जाँदा बैंकबाट समेत कर्जा लिँदै गयौं ।
अहिलेको समय विश्वव्यापीकरणको समय हो । अधिकांश नेपालीहरु अध्ययन, रोजगारी वा घुमफिरको लागि विदेश जाने क्रम बढ्दो छ । विदेशमा कफी जुन तवरले व्यापक रुपमा फस्टाइरहेको छ, जसरी नयाँ–नयाँ स्वाद र भेराइटीमा कफी प्राप्त हुन्छ, त्यसरी नै नेपाली बजारमा पनि कफीमा केही नयाँपन ल्याउन सकिएमा कफी व्यवसायबाट राम्रै लाभ लिन सकिएला भन्ने सोचेर म कफी व्यवसायमा जोडिएको हुँ ।
हामीले शुरुवाती दिनमा ८–१० लाखको साधारण लगानीबाट नै कफी व्यवसाय शुरुवात गरेका हौं । बिस्तारै यस क्षेत्रलाई अझ नजिकबाट बुझ्दै गयौं । हामीले कफी व्यवसाय शुरुवात गर्दा कफी क्षेत्र खासै बिस्तार भइसकेको थिएन । अहिले भने क्षेत्र (दायरा) बिस्तार भई विशिष्टिकृत हुने क्रममा छ ।
स्टार मलबाट कफी व्यवसाय सञ्चालन गर्ने सोचले आफ्नै लागि बाह्य मुलुकबाट कफी मेसिन हामीले भित्र्याएका थियौं । विशेष कारणले गर्दा स्टार मलमा लामो समय व्यवसाय सञ्चालन गर्ने स्थिति बनेन । त्यसो हुँदा कफी मेसिन व्यवस्थापनको लागि सोच्ने क्रममा हामीले उक्त मेसिन बिक्री गर्ने योजना बनायौं । त्यससँगै हामीलाई मेसिन आयातको समेत अनुभव प्राप्त भयो । जसले गर्दा हामी कफी मेसिन बिक्री तर्फ पनि केन्द्रित हुन पुगेका हौं ।
मैले गैह्रीधारा स्थित हिमालयन एयरलायन्सको अगाडि पट्टी बाटोको छेउमै ‘जस्ट कफी’ सञ्चालन गरेको छु । हाम्रो ‘हिमालयन कफी ट्रेडिङ’को कार्यालय त्यस सँगै छ । लकडाउन पछि कफी मेसिनको कारोबार बढ्दो छ । बार्षिक हामीले औसतमा करिब डेढ सय मेसिनहरु बिक्री गर्दै आएका छौं । मेरो आबद्धता रहेको अर्को कम्पनी ‘सान्बी फुड प्रडक्ट’मा ४ जना व्यक्तिहरु सहकार्यमा लगानी गरेका छौं । यस कम्पनीले कफी रोस्टिङ र प्याकेजिङको लागि कफी शपहरुको लागि आवश्यक पर्ने चिनी प्याकेजिङ समेत गर्दछ । यस कम्पनीको कार्यालय काठमाडौंको गोलढुंगामा छ । म आफैंले नेपालका विभिन्न जिल्लाहरुमा उत्पादन हुने कफी संकलन समेत गर्दछु । काभ्रे, नुवाकोट, मकवानपुर, पाल्पा, गुल्मी, गोरखा, कास्की लगायतबाट उपलब्ध हुने गर्दछ ।
अघिल्लो बर्षको तथ्याङ्क हेर्दा यहाँको कफीकाे स्वदेशी उत्पादन ५ सय मेट्रिक टन मात्रै छ । जबकि नेपाली बजारमा उपभोग हुने कफीको परिमाण २७ सय मेट्रिक टन रहने अनुमान गरिँदै आइएको छ । यसरी हेर्दा नेपालमा स्वदेशी उपयोगको लागि समेत कफीको बजार सम्भावना निकै राम्रो छ । यसै गरी कफीलाई बाह्य बजारमा समेत निकै राम्रो तवरले निर्यात गर्न सकिने अवस्था छ । अन्तर्राष्ट्रिय बजारमा १० हजार मेट्रिक टन कफीको बजार रहेको अनुमान गरिन्छ ।
यसैगरी गोरखाबाट सञ्चालित ‘इको फ्रेण्डली एग्रो अर्गानिक कन्सेप्ट प्रा.लि’ १० जना व्यक्तिहरुको सामुहिक लगानीमा सञ्चालित कम्पनी हो । ५ सय रोपनी क्षेत्रफलमा आफैंले उत्पादन र प्रशोधन सम्बन्धी काम गर्दै आएको यस कम्पनीले कृषकहरुले उत्पादन गर्ने कफीलाई सङ्कलन गरेर प्रशोधन तथा प्याकेजिङ सम्बन्धी कामहरु समेत गर्दछ ।

अघिल्लो बर्षको तथ्याङ्क हेर्दा यहाँको कफीकाे स्वदेशी उत्पादन ५ सय मेट्रिक टन मात्रै छ । जबकि नेपाली बजारमा उपभोग हुने कफीको परिमाण २७ सय मेट्रिक टन रहने अनुमान गरिँदै आइएको छ । यसरी हेर्दा नेपालमा स्वदेशी उपयोगको लागि समेत कफीको बजार सम्भावना निकै राम्रो छ । यसै गरी कफीलाई बाह्य बजारमा समेत निकै राम्रो तवरले निर्यात गर्न सकिने अवस्था छ । अन्तर्राष्ट्रिय बजारमा १० हजार मेट्रिक टन कफीको बजार रहेको अनुमान गरिन्छ ।
– कफी व्यवसाय राम्रो सम्भावना राम्रो क्षेत्र हो । तथापि सम्भावना छ भन्दैमा बिना अध्ययन, अनुभव संलग्न हुँदैमा सफल हुन सकिन्छ भन्ने नहुन सक्छ ।
– कफी लगायत कृषि क्षेत्रको विकासको लागि राज्यका थुप्रै नीतिहरु बाधक छन् । राज्यले चक्लाबन्दी अवधारणामा ठूलो जग्गा खरिद गरेर खेती गर्न चाहने व्यक्तिहरुलाई लक्षित गरेर हदबन्दी लगायतका व्यवस्थामा सहजीकरण गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।
– राज्यले उपलब्ध गराउने अनुदान, तालिम, प्राविधिक सहयोग लगायत सुविधा वास्तविक कृषकले प्राप्त गर्न सकेका छैनन् ।
– कृषिमा वीमा सेवा उपलब्ध गराउने काम सहज बन्न नसकेको अवस्था छ । जसबाट कृषकहरु समस्यामा पर्दै आएका छन् ।
– कृषकहरुले उत्पादन हुन सक्ने सही ठाउँ अध्ययन नगरी, प्राविधिकको परामर्श र सहयोग नलिई स्वविवेकमा कम लागतमा वस्तु उत्पादनको चाहना राख्दा कफी खेती प्रभावकारी रुपमा फस्टाउन नसकेको स्थिति समेत देखिन्छ ।
– सरकारी निकाय चिया कफी विकास बोर्डले प्रभावकारी रुपमा काम गर्न नसकेको स्थिति छ ।
जोखिम
व्यवसायमा सफल हुनको लागि जोखिम निकै महत्वपूर्ण रहन्छ । बिना जोखिम व्यवसायमा सफल हुन सकिँदैन । तथापि आफ्नो विगतको अनुभव, आफ्नो जोखिम वहन क्षमता, सृजना हुन सक्ने भावी चुनौती लगायतलाई राम्रोसँग विचार गरेर मात्रै जोखिम वहन गरियो भने परिस्थिति अनुसार आत्तिइहाल्नुपर्ने स्थिति सृजना हुँदैन । व्यवसायमा नयाँ आउन चाहने व्यक्तिहरुमा शुरुवाती दिनमा अत्यन्तै बढी आत्मविश्वास हुने गर्छ । आफूले अनुमान गरे अनुसार नै बजार पनि चल्छ भन्ने सुनिश्चितता भने हुँदैन । यसकारण आफ्नो अवस्थालाई आफैंले विचार गर्दै बिस्तारै–बिस्तारै पाइला अघी बढाउनुपर्छ ।
अहिले नेपाली बजारमा व्यावसायिक प्रयोजनको लागि करिब ३ लाख देखि साढे ६ लाखको हाराहारीमा पर्ने मेसिनहरु बढी प्रचलनमा छन् । व्यक्तिगत प्रयोजनको लागि भने २ हजार-५ सय देखि बढीमा १ लाख सम्मका कफी मेसिनहरु बढी रुचाईएको छ । हामीले कफी मेसिन बिक्री पश्चात् नेपालका विभिन्न शहरहरुमा त्यहाँका डिष्ट्रिब्युटर्सको माध्यमबाट रिपेयर सेवा समेत उपलब्ध गराउँदै आएका छौं ।
म आगामी दिनमा कफी उत्पादन क्षेत्रमा नै संलग्न हुन चाहन्छु । मेरो गृह जिल्ला रामेछापमा कफी उत्पादनको योजना मैले बनाएको छु । सोही बमोजिम हामी सम्भाव्यता बारे अध्ययन गरिरहेका छौं । यसैगरी क्याफेहरु बिस्तार गर्ने योजना सहित म अघी बढेको छु ।
म अमेरिकन बहुराष्ट्रिय कम्पनी स्टारबक्समा रहँदा कफीलाई अत्यन्तै सूक्ष्म रुपमा बुझ्ने अवसर मैले पाएँ, अहिले म त्यसै कारण बिस्तारै–बिस्तारै सफलताको उचाईमा अघी बढिरहेको छु । कफीमा थुप्रै भेराइटीहरु हुँदा रहेछन् । नेपालमा हामीले अरेबिका र रोबस्ता बढी प्रचलनमा ल्याउने गरेका छौं ।
अहिले नेपाली बजारमा प्रति किलो पार्चामेन्ट ६ सय ५० देखि ७ सय रुपियाँको हाराहारीमा कफीको मूल्य कृषकले पाइरहेको अवस्था छ । बीचका केही बर्ष कफीमा बोट सुक्ने रोगको कारण उत्पादन केही घटेको अवस्था थियो । कफीमा यस्तो रोग आउनुमा विश्वव्यापी तापक्रम वृद्धि एक महत्वपूर्ण कारणको रुपमा रहेको ठानिएको छ ।

– पछिल्ला बर्षहरुमा कफी खेतीमा युवाहरु प्रोत्साहित हुँदै आएको अवस्था छ । नेपालमा राज्यले उद्यमशिलतालाई केन्द्रित गरेर कफी व्यवसायमा काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहित गर्ने नीति लिने हो भने कफी खेतीबाट ठूलो परिमाणमा युवाहरुलाई नेपालमा नै रोजगारी दिन सकिने सम्भावना छ ।
– राज्यले सञ्चालन गर्ने योजनाहरु प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ । दिगो लक्ष्य र योजना सहित काम नगरी औपचारिकता पूरा गर्ने मान्यताले मात्रै काम गर्दा लक्षित उपलब्धि हासिल गर्न सकिँदैन ।
– थुप्रै सम्भावना रहेको कफीलाई राम्रो सम्भावना बोकेको क्षेत्रको रुपमा परिचित गराउन हामीले केही भूमिका खेल्नुपर्ने छ । नेपालमा सम्भावना छैनन् भन्ने मानसिकतालाई बदलेर न्यून लगानीमा व्यावसायिक तवरले काम गर्नको लागि कफी पनि एक महत्वपूर्ण क्षेत्र हुन सक्छ, जसबाट हामीले राम्रो आर्थिक उपार्जन गर्न सक्छौं भन्ने सन्देश ल्याउनुपर्ने जरुरी छ ।
नेपालको कफी विशिष्ट श्रेणीको छ । बाह्य मुलुकहरुमा यहाँको कफी टेष्टिङ गर्दा पनि त्यो प्रमाणित हुन्छ । नेपाली कफीलाई निकै राम्रो मूल्यमा बिक्री गरिँदै आएको अवस्था छ । नेपालबाट बढी परिमाणमा जापान, कोरिया, युरोपमा बढी निर्यात हुँदै आएको छ । आगामी दिनमा कफीको उत्पादन वृद्धि, गुणात्मक विकास र विशिष्टीकरण गर्ने तर्फ कदम चाल्न सकिए नेपालमा यस क्षेत्रबाट राम्रो आर्थिक उपार्जन र रोजगारी सृजना गर्न सकिन्छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij