२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निर्यात प्रवर्द्धनको लागि दीर्घकालिन नीति आवश्यक रहन्छ

निर्यात प्रवर्द्धनको लागि दीर्घकालिन नीति आवश्यक रहन्छ

 

 दुर्गा विक्रम थापा, अध्यक्ष, नेपाल पश्मिना उद्योग संघ

 नेपालमा लकडाउनको कारण व्यावसायिक क्षेत्र निकै नै मारमा परेका छन् । निजी लगानीमा सञ्चालित उद्योगहरुको अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा व्यावसायिक गतिविधिहरु बढाएर पुनः आर्थिक क्रियाकलापहरुलाई चलायमान बनाउनुपर्ने आवश्यकता छ । निजी व्यवसायीहरुको संलग्नतामा संलग्न रही निर्यात प्रवर्द्धनमा लागिरहेको उद्योग मध्ये पश्मिना एउटा हो । लकडाउन सँगै तत्कालको लागि निर्यात ठप्प रहेको अवस्थामा अबका दिनमा पश्मिना क्षेत्रमा पर्ने असर र नयाँ सम्भावना बारे नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा विक्रम थापासँग कुराकानी गरी तयार पारिएको सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

पश्मिना उद्योगमा कोरोना सङ्कटले पारेको असरः
पश्मिना मुख्यतः विदेश निर्यात हुने वस्तु हो । नेपालमा यस सङ्कटले निर्यातजन्य वस्तुको रुपमा रहेको पश्मिना उद्योगलाई पनि निकै नै समस्या सृजना गरेको छ । अहिले एकातिर पश्मिना उत्पादनमा नै समस्या सृजना भएको छ भने यसको निर्यात एवं बजार प्रवर्द्धन अर्को ठूलो समस्याको रुपमा रहेको छ ।

नेपाली पश्मिना निर्यातका राम्रो सम्भावना रहेका र मुख्य बजारको रुपमा रहँदै आएका देशहरु युरोप, अमेरिका, जापान लगायत हुन् । ती देशहरुमा अहिलेको सङ्कटले निकै नै असर पारेका छ । एकातिर निकै ठूलो सङ्ख्यामा मानवीय क्षति पुगेको छ भने अर्कोतिर अर्थतन्त्र समेत तहसनहस भएको छ । यसकारण ती देशहरुमा आयातनिर्यात व्यवसायले गति लिन लामै समय लाग्ने समेत देखिएको छ ।

नेपालबाट निर्यात गर्नको लागि तत्कालको अवस्थामा हवाइ सेवा बन्द रहेको कारण कार्गो कम्पनीहरुबाट सामान निर्यात गर्न सकिने अवस्था छैन भने अर्कोतिर मुख्य बजारको रुपमा नै रहँदै आएका देशहरुमा पुगेको क्षतिको कारण त्यहाँ संकट सकिएपछि पनि तत्काल बजार प्रवर्द्धन हुने अपेक्षा गर्न सकिँदैन ।

यी विभिन्न व्यवधानको वावजुद पनि हामीले व्यावसायिक गतिविधिहरुलाई कसरी अघी बढाउन सकिन्छ भन्ने सम्बन्धमा हाम्रा पार्टनर कम्पनीहरुसँग छलफल भने गरि नै रहेका छौं ।

पश्मिनाको विगतको अवस्थाः
कोभिड–१९ शुरु हुनु भन्दा पहिले हाम्रो कारोबार राम्रो थियो । अघिल्लो बर्षकै अनुपातमा नै निर्यात हुने अवस्था थियो । तर यस सङ्कट भन्दा पछि हाम्रो अवस्था के हुँदैछ भन्ने सम्बन्धमा अहिले सम्म हामीले कुनै आँकलन गर्न सकेका छैनौंँ ।

कोरोना हाम्रो लागि मात्र नभइ विश्वको लागि नै एउटा ठूलो समस्या हो । हाम्रो व्यवसायमा अन्य विभिन्न समस्याहरु विगतमा पनि नभएका होइनन् । तर यो संकट हाम्रो अनुमान भन्दा बाहिरको विषय बन्न गयो । अहिले हाम्रो उत्पादन क्षमता घटेको छ । विगतको तुलनामा अहिले २५ देखि ३० प्रतिशतमा हाम्रो उत्पादन सीमित हुन पुगेको छ ।

बजार अवस्था आँकलन गर्न सकिँदैन 
हामीले उत्पादन गरेका सामान किन्ने देशहरुले यो संकट सामना पश्चात् अब कस्तो नीति अबलम्बन गर्छन्, त्यसमा पनि हाम्रो व्यापार निर्भर हुने अवस्था सृजना भएको छ । अहिलेको परिस्थितिले हाम्रा ग्राहकहरुको रुचि र खर्च गर्ने क्षमतामा परिवर्तन आएको छ । सोहीकारण तत्काल अवस्था यसै हुन्छ भनेर भन्न सकिने अवस्था छैन । तैपनि हामी आशावादी भएर अघी बढ्नु जरुरी छ । ढिलोछिटो बजार पुनः चलायमान बन्ने र अवस्था पुनः सुधार हुँदै जानेमा हामी विश्वस्त छौं ।

निर्यातको लागि दीर्घकालिन सोच आवश्यक रहन्छ । ६ महिने वा १ बर्षे नीतिले हाम्रो निर्यात बढाउन सकिँदैन । सोही कारण निर्यात बढाउनको लागि हामीले कम्तीमा ५ देखि १० बर्ष सम्मको दिगो नीति बनाएर सोही बमोजिम हाम्रा क्रियाकलापहरु अघी बढाउनु जरुरी रहन्छ ।

बजेटमा निर्यात बारे गरिएको व्यवस्था
नेपाल सरकारले यस पटकको बजेट मार्फत निर्यात कार्यलाई प्रोत्साहन गर्न भन्दै विशेष ऋण सुविधा उपलब्ध गराउने बताएको छ । यसले हामीलाई निकै नै उत्प्रेरित गरेको छ । यद्यपि त्यो कत्तिको प्रभावकारी तवरले लागु हुन सक्छ, त्यो हेर्न भने बाँकी नै छ ।

कतै यो बजेट भाषणमा मात्र सीमित हुने त होइन ? अथवा कतै देखावटी रुपमा मात्र यसको कार्यान्वयन गरिने पो हो कि ? अथवा साँच्चिकै बजेटमा उल्लेख गरिए बमोजिम नै यसको कार्यान्वयन हुने हो ? भन्ने कुरा कार्यान्वयन पछि मात्रै थाहा हुनेछ ।

आगामी दिनमा राम्रो सम्भावनाः
यद्यपि राज्यले व्यवसायीहरुलाई व्याजदरमा सुविधा दिँदै राम्रो तवरले यस क्षेत्रलाई माथि उठाउन सरकारले विशेष भूमिका खेलेको अवस्थामा भने नेपालमा यस क्षेत्रको आगामी दिनमा निकै नै राम्रो सम्भावना छ ।

उत्पादनलाई थप परिष्कृत गर्दै लैजानुपर्छः
कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नयाँ तवरले अघी बढाउन प्रोत्साहित गरेको छ । यस्तो अवस्थामा नेपालमा सञ्चालनमा रहेका सबै व्यवसायीहरु तथा उद्योगीहरुले आफ्ना उत्पादनमा परिष्कृत गर्दै नयाँ डिजाइन र आकर्षक योजना सहित अघी बढ्नु जरुरी हुन सक्छ । त्यसमा पनि निर्यात हुने वस्तुले त अझ थप मेहनत सहित आफ्ना उत्पादनहरुलाई बजारमा पस्कन सक्नुपर्छ । जसबाट मात्र प्रतिष्पर्धा बीच अन्तर्राष्ट्रिय बजारमा हाम्रा सामानहरु प्रवर्द्धनमा समेत सहयोग पुग्न सक्छ ।

रोजगारी र निर्यातमा योगदानः
नेपालमा यस पश्मिना क्षेत्रबाट अहिलेको अवस्थामा करिब ३० हजार व्यक्तिहरुलाई रोजगारी सृजना हुँदै आएको छ । जुन विगतमा करिब १ लाख सम्म लाई रोजगारी सृजना भएको थियो । यस संकट सँगै नेपालमा अहिले पश्मिना उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात कार्य निकै नै कठिन बन्दै गएको छ । पश्मिनाको हिस्सा निर्यात क्षेत्र अन्तरगत करिब ५ प्रतिशत रहेको छ । यसको अलावा सेन्थेटिक यार्न, गार्मेन्ट, कार्पेट, पार्म आयल, हस्तकला, जुट लगायतका वस्तुहरु विदेश निर्यात हुने मुख्य वस्तुको रुपमा रहँदै आएका छन् ।

दीर्घकालिन सोच आवश्यकः

निर्यातको लागि दीर्घकालिन सोच आवश्यक रहन्छ । ६ महिने वा १ बर्षे नीतिले हाम्रो निर्यात बढाउन सकिँदैन । सोही कारण निर्यात बढाउनको लागि हामीले कम्तीमा ५ देखि १० बर्ष सम्मको दिगो नीति बनाएर सोही बमोजिम हाम्रा क्रियाकलापहरु अघी बढाउनु जरुरी रहन्छ ।

(उद्यमी थापा निर्यात ब्यबसायी महासंघ नेपालका महासचिव समेत हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij