काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अनावश्यक दुःख दिँदै पदबाट हटाउने षड्यन्त्र गरेको भन्दै युवाहरूले काठमाडौँमा स्वतःस्फूर्त प्रदर्शन गरेका छन् ।डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको महसुल विवादमा सरकारले ठुला उद्योगीहरूलाई बक्यौता छुट दिँदै उन्मुक्ति दिने तयारी गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शनिबार माइतीघर मण्डलमा भेला भएका युवाहरूले घिसिङको समर्थनमा नयाँ बानेश्वरसम्म र्याली निकाले ।
र्याली निकालेका युवा र प्रहरीबीच झडपसमेत भएको छ । माइतीघरबाट सुरु भएको र्याली फर्किएर पुनः माइतीघर छेउमा आएर बीच बाटोमै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो । प्रदर्शनका क्रममा केही युवालाई प्रहरीले पक्राउसमेत गरेको छ । सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई घिसिङले नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीको आरोप छ ।
प्रदर्शनकारीहरूले ‘देउवा–ओलीलाई पेन्सन, युवाहरुलाई नदेउ धेरै टेन्सन’, ‘विद्युत् प्राविधिकरणलाई डुबाउन पाइँदैन’, ‘माफियाको सत्ता, बिजुली चोरलाई भत्ता’, तानाशाही सरकार मुर्दावाद’, ‘जनतालाई महँगीको मार, बिजुली चोरलाई कर छुट उपहार’ लगायत नारा लेखेका ‘प्ले कार्ड’ बोकेर प्रदर्शन गरेका हुन् ।
उद्योगीहरूले डेडिकेटेड फिडर सुविधा लिएबापत ९ अर्ब ६ करोड ४४ लाख २ हजार ५९२ रुपैयाँमध्ये ५ अर्ब ५९ करोड ८७ लाख ५६ हजार ६४५ बुझाए पनि ३ अर्ब ४१ करोड ७४ लाख ८४ हजार ८० रुपैयाँ तिरेका छैनन् । यस्तै, ट्रंक लाइनको सुविधा लिएका उद्योगीहरूले १८ अर्ब ६२ करोड ८७ लाख ३४ हजार ४८८ तिर्नुपर्नेमा १३ अर्ब १० करोड ३ लाख ३५ हजार २०० रुपैयाँ तिरे पनि ६ अर्ब ७२ करोड ३३ लाख ४५ हजार ९९० रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड फिडर जोडेका अधिकांश ग्राहकले महसुल तिरिरहेको भए पनि ट्रंक लाइनका ग्राहकमध्ये धेरैजसोले बक्यौता रकम तिरेका छैनन् । महसुल नबुझाएको भन्दै गत असारमा प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिदिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोडिदिन ठाडो आदेश दिएपछि यो विवादले उग्र रूप लिएको छ । संसद्को लेखा समितिमा पुगेको यो विवादमा समितिले पनि कुलमानलाई कारबाही गर्नुपर्ने गरी अघि बढ्न खोजेपछि युवाहरू त्यसको विरोधमा उत्रेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij