२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

चमत्कार अभ्यास ९

नवौं दिनः कृतज्ञता चुम्बकीय धन प्राप्तिकाे लागि

नवौं दिनः कृतज्ञता चुम्बकीय धन प्राप्तिकाे लागि

धनलाई आकर्षित गर्नको लागि कृतज्ञता एक मुख्य गुण हो । कृतज्ञता र खुसी भावले धनी मानसिकतालाई प्रतिबिम्बित गर्दछ । गुनासो, इष्र्याले गरीबी मानसिकताको सङ्केत गर्दछ ।

अर्थात् हामीले धनको लागि खुसी व्यक्त गरेर अझ बढी धन र अपार सम्पत्ति आफू तर्फ आकर्षित गर्न सक्छौं । धन प्रति गुनासो गरेर आफूसँग भएको धनलाई समेत गुमाउनुपर्ने अवस्था सृजना हुन्छ ।

ब्रह्माण्डको नियम चमत्कारमय हुन्छ । एउटै अवस्थामा पनि यदि हामी कुनै काम गर्नको लागि आफूलाई सक्षम ठान्छौं भने सफल हुनको लागि अनेकौं तरिकाहरु आफैंले भेट्टाउँछौं । म त्यो काम गर्न सक्षम छैन भन्ने ठान्छौं भने त्यो काम हामीबाट हुन पूर्णतया असम्भव नै हुन्छ । किनकि हाम्रो मष्तिष्क अचम्मको छ । यसले हामी आफू सफलताको लागि प्रेरित भयौं भने सफलतालाई सही बनाइदिन्छ । असफलताको लागि प्रेरित भयौं भने असफलता र निराशालाई नै सही बनाइदिन्छ । वास्तवमा ब्रह्माण्डको लागि यही नै सही र गलत भन्ने हुँदैन । यसले त हाम्रो चेतना अनुसार काम गर्दछ ।

हामी किन प्रयाप्त धनसम्पत्ति आकर्षित गर्न सक्दैनौं त ?
हामी अधिकांश समय आफूसँग प्रयाप्त धन नभएको भनेर गुनासो गरिरहन्छौं । यसरी आफूसँग प्रयाप्त धन नभएको मान्दा सोही अनुसारको सन्देश हाम्रो माध्यमबाट ब्रह्माण्डमा प्रवाहित हुन्छ । किनकि हाम्रो भावना नै ब्रह्माण्डको लागि आदेश हो ।

कसरी हामीले धन प्रति गुनासो व्यक्त गर्छौं ?
हामीले पढ्दै र सुन्दै आयौं कि मानवीय आवश्यकता असीमित छन् । तिनलाई परिपुर्ति गर्ने श्रोत र साधन सीमित छन् । यही सन्देश हामीले अवचेतन मष्तिष्कमा पठायौं । जसले गर्दा हामीलाई आफू अनन्त सम्पत्तिमय संसारमा बाँचेको अनुभुति नै भएन । हामीले अनन्त खुसी, निःशुल्क उपहारको रुपमा प्राप्त भएका प्राणवायु, शुद्ध जल, सौर्य ऊर्जा, उर्वर भूमि, प्राकृतिक सौन्दरतालाई सम्पत्ति नै मानेनौं ।

हामीले त केवल आफ्नो ध्यान बाकसमा सीमित गरेर राख्ने रुपियाँ, सिक्का, सुनचाँदी, लालपुर्जामा आफ्नो स्वामित्वमा रहेको सम्पत्तिलाई मात्रै सम्पत्ति ठान्यौं । अब हामीले धनसम्पत्तिको परिभाषा बदल्नु जरुरी छ ।

हामीले हरेक दिन आफूसँग प्रयाप्त धन नभएको गुनासो यसरी गर्छौं ।
हामीले भुक्तानी गर्नुपर्ने ठाउँ दर्जनौं भइदिन्छन्, धन प्राप्तिका माध्यम केवल १-२ ओटा मात्र हुन सक्छन् । हाम्रा अगाडि धन प्राप्तिको भन्दा भुक्तानीका माध्यम बढी हुँदा हामी स्वभाविक रुपमा धन प्रति नकारात्मक धारणा व्यक्त गर्दछौं ।

भुक्तानी गर्नुपर्ने ठाउँ यी हुन सक्छन्,

मैले ग्यास किन्नुछ ।
मैले घरभाडा तिर्नुछ ।
मैले चामल, तेल, नुन, मसला जुटाउनुछ ।
मैले घर र गाडीको किस्ता तिर्नुछ ।
गाडी रिपेयर गराउनुछ ।
लाइसेन्स र ब्लुबुक नवीकरण गर्नुछ ।
छोराको ३ महिनाको विद्यालय फि तिर्नुछ ।
१ बर्षको लागि इन्टरनेट बिल भुक्तानीको लागि इमेल आइसक्यो ।
मैले २ महिनाको लागि साथी र आफन्तबाट लिएको सापटीको भाका नाघेकै ४, ५ महिना भइसक्यो ।
मैले तिर्नुपर्ने कर्जाको किस्ता समयमा तिर्न सकेको छैन ।
‍‍‍‍‍‍ ………………………………

………………………………..
अन्य थुप्रै ठाउँ भुक्तानी गर्नुछ ।

तर आम्दानी ?

केवल जागिर । एक मात्र श्रोत । मासिक तलब ४० हजार ।
यसकारण अहिले सम्म हामी तिर्नुपर्ने बिल आफूसँग आउँदा तत्कालै नकारात्मक अवस्थामा पुग्दै आयौं । फोन आउँदा फोन नै नउठाउने अथवा डराइ–डराइ उठाउने स्थिति सृजना भयो ।

बिल आउँदा यसरी कृतज्ञ बनौं

मलाई सेवा प्रदान गरेकोमा विद्यालय, इन्टरनेट कम्पनी, आफन्त, साथीभाई, बैंक, गाडी कम्पनी लगायत सबैलाई मनमनै धन्यवाद व्यक्त गरौं । एक पटक विचार गरौं त, तपाईं हामी माथि कति धेरै व्यक्तिहरुले विश्वास गर्नुभएको रहेछ । यो सम्झेर खुसी रहौं । यो विश्वासलाई अझ फराकिलो बनाउँ ।

– एकपटक सोचौं त, अहिले हामी जुन घरमा बसेका छौं, त्यो घरको कोठा वा फ्ल्याट हामीलाई प्राप्त नभएको भए हामी कुन अवस्थामा हुन्थ्यौं होला ? हामी सडक, चोक र गल्लिमा रात कटाउनुपर्ने हुन सक्थ्यो । हामीलाई आश्रय दिएकोमा घरमालिकलाई कृतज्ञता प्रकट गरौं ।

– मोबाइल र इन्टरनेट बिनाको हाम्रो जीन्दगी कस्तो हुँदो हो ? कोही आफन्तलाई कुनै सन्देश पु¥याउनको लागि केही दिन र हप्ता सम्म हिँडिरहनुपर्दा कति कठिनाई हुँदो हो ?

– विश्वव्यापीकरण नहुँदो हो त के हामी अहिले जसरी स्वतन्त्र तवरले केवल एउटा काम गरेर हाम्रा अन्य आवश्यकता पूरा हुन सक्दा हुन् ? लगाउने कपडा जुटाउन समस्या पर्ने थियो, चर्चित ब्राण्डका वस्तुहरु हामीले उपयोग गर्न सक्ने थिएनौं ।

– आफैंले उत्पादन गरेर केवल हामीले खानाको एउटा आवश्यकता त पूरा गर्न सक्थ्यौं, अहिले जसरी उत्कृष्ट शिक्षा, मनोरञ्जन, मन लागेजसरी जिवन चलाउन सायद कठिन हुँदो हो ?

– यातायात साधन बिना हामी हिँडेर कता टाढा सम्म पुग्न सक्दा हौं । जहाँ जाँदा पनि खाने खाना, बस्ने र सुत्ने कपडा आफैंले साथमा बोकेर जानुपर्दाको अवस्था कति भयावह हुँदो हो ?

बिल प्रति कृतज्ञ कसरी हुने ?

– हामीलाई जुन बिल प्राप्त भएको छ, त्यसलाई आम्दानी सम्झौं ।

– जति पनि बिल प्राप्ति भएका छन् र भुक्तानी गर्नुछ, ती सबै रकम जोडेर अन्तिममा एउटा शून्य थपौं । त्यो रकम आम्दानी भएको ठानौं । यति धेरै आम्दानी भएकोमा मनमनै खुसी भाव व्यक्त गरौं । परमेश्वर प्रति कृतज्ञ बनौं ।

– एकातिर तिर्नुपर्ने बिल र अर्कोतिर त्यसको १० गुणा आम्दानी भएको ठानेर आफैं दङ्ग परौं ।

– भुक्तानी गर्नुपर्ने हरेक बिलमा ‘भुक्तानी भयो–धन्यवाद’ लेखौं र हस्ताक्षर गरौं ।

– आफू प्रति विश्वास गरेर आज सम्म वस्तु तथा सेवा उपलब्ध गराउने सम्पूर्ण सेवा प्रदायकमा धन्यवाद व्यक्त गरौं ।

– धन्यवाद त्यति बेला सम्म व्यक्त गरौं, जति बेला सम्म हृदय देखि नै धन्यवाद भाव हामीमा विकास हुन सक्दैन ।

स्मरण रहोस् कि कृतज्ञतालाई चामत्कारिक स्वर्णिम सूत्र (धागो) मानिन्छ । यसमा अत्यन्तै धेरै शक्ति हुन्छ । जब हामी आफूमा भित्र बाटै भावनामा परिवर्तन आउँछ र त्यो स्थायी बन्छ, तब सोही अनुसार भौतिम सम्पत्ति पनि हामीमा अवश्य वृद्धि हुँदै जान शुरु गर्नेछ ।

कृतज्ञताले कसरी सम्पत्ति बढाउँछ ?

  • यदि हामी व्यापार क्षेत्रमा छौं भने यसको असर अझ छिटो देखिनेछ । किनकि ग्राहकसँग हामीले गर्ने व्यवहार नै हाम्रो व्यवसाय वृद्धिको लागि एक प्रभावकारी तरिका हुन जानेछ । कृतज्ञता व्यक्त गर्दा हामी नकारात्मक अवस्थामा रहँदैनौं ।
  • कृतज्ञता अभ्यासले हाम्रो जनसम्पर्क अझ राम्रो बन्दै जानेछ ।
  • हामीले कसैलाई आफ्नो क्षणिक लाभको लागि हौस्याएर उसको बढाईंचढाई गरी अस्वभाविक तर्क प्रस्तुत ग¥यौं भने त्यसबाट दीर्घकालिन लाभ हुँदैन । स्वभाविक कुरा नै सधैंको लागि चिरस्थायी हुन्छ भन्नेमा हामी सचेत बन्न सक्नुपर्छ । कृतज्ञता भाव विकास हुँदै गएसँगै हाम्रा हरेक सम्बन्ध गहिराइमा पुग्दै जान्छन् ।
    कृतज्ञताको अभ्यासले हाम्रो कामको उत्पादकत्व बढाउनमा समेत सहयोग पुग्छ । जसले गर्दा जागिरमा रहेको व्यक्तिले समेत थप हौसला, कमिसन वा सेवा बढुवा लगायतका पुरष्कारहरु प्राप्त गर्न सम्भव हुनेछ ।

आजको अभ्यास

१. विगतमा खुसी प्राप्तिका लागि टिपोट गरेका आफ्ना सकारात्मक कुराहरु गणना गरौं -पढौं ।

२. आज आफूलाई खुसी मिल्ने थप १० ओटा आफ्ना सकारात्मक गुणहरु डायरीमा टिपोट गरौं । साथै हरेक वाक्यांश पछि कारण जोडेर धन्यवाद भाव व्यक्त गरौं ।

….प्रति कृतज्ञ छु किनकि ……। धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।

३. भुक्तानी गर्नुपर्ने सबै बिलहरु संकलन गरौं र ती सबै बिलको रकम एउटा पानामा लेखी त्यसलाई जोडेर प्राप्त रकमको पछाडि शून्य थपेर (दश गुणा गराई) त्यसलाई आफूसँग प्राप्त भएको रकम ठानौं । साथै आफू अपार सम्पत्तिको मालिक बन्दै गएको महसुस गरौं ।

४. तिर्नुपर्ने सबै बिलमा ‘भुक्तानी भयो, धन्यवाद’ लेखेर त्यसमा हस्ताक्षर गरी भुक्तानी भइसकेपछि प्राप्ति हुने खुसीको महसुस गरौं ।

५. राती ओछ्यानमा सुत्नु पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

 

(हामीले चाहे अनुसारका धनसम्पत्ति प्रयाप्त मात्रामा आकर्षित गर्न अवश्य सक्छौं । चमत्कार अवश्य हुन्छ । तथापि त्यसको लागि सही तवरले अभ्यास भने गर्नैपर्छ ।)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij