काठमाडौँ, ६ पौष – अर्थमन्त्री डा.युवराज खतिवडाले नक्कली फर्म दर्ता गर्ने र नक्कली कारोवार देखाउनेक्रम बढेको बताउनु भएको छ । आज काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्सद्वारा आयोजित ‘भ्रष्टाचार र ठगीविरुद्ध व्यावसायिक इमान्दारी’ विषयको अन्तक्र्रियाकमा बोल्दै मन्त्री खतिवडाले नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘कतिको नागरिकता नक्कली छ, अञ्जान मान्छेको नागरिकता लिएर फर्म दर्ता गरिएको छ, तर अडिटरले कागजात र लेखा ठीक छ भनी सही गरेर हिँड्छन्, यो कसको दोष हो ?’
उहाँले नक्कली कम्पनी बनाएर प्रविधिको दुरुपयोग गरी नक्कली गतिविधि बढ्दै गएको तर्फ सचेत हुन आग्रह गर्दै व्यक्तिले व्यावसायिक आचरणलाई मात्रै नहेरी सामाजिक आचरणलाई समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आर्थिक पारदर्शिता र सुशासन कायम गर्न नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमा, धितोपत्र र कम्पनीलगायत ऐन संशोधन प्रक्रिया अघि बढेको र हिउँदे अधिवेशनमा धेरै स्वीकृत भएर आउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘नियामक निकायले राम्रोसँग हेरे मातहतका निकायमा हुने भ्रष्टाचार र जालसाँजी रोक्न सकिन्छ, यसतर्फ चनाखो हुनुपर्छ ।’