२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

धादिङको गल्छीमा पैदल यात्रीलाई खाना र उद्धार (तस्बिरसहित)

धादिङको गल्छीमा पैदल यात्रीलाई खाना र उद्धार (तस्बिरसहित)

गल्छी, धादिङ – सपरिवार इट्टा भट्टामा काम गर्न आएका थिए बाराको कलैयामाइ गाउँपालिकाका सफिक राय । नुवाकोटको त्रिशूलीमा रहेको उद्योगमा दुई साना सन्तान र श्रीमतीसहित सफिकले काम गरिरहेका थिए ।

तर लकडाउनसँगै काम बन्द भयो । उद्योग सञ्चालकले पनि लामो समय त्यहिँ राखेर खुवाउन नसक्ने उल्लेख गरेपछि उनीहरु हिँडेरै घर जान सुर कसे ।

त्रिशूलीबाट शुक्रबार बेलुका सफिकको परिवारसहित चार परिवारका २७ जना हिँडे । महिला, बालबालिकासहितको टोलीका केही महिलाहरु कुखुराको गाडीमा चढ्न पाए । पुरुषहरु भने लगातार हिँडिरहे । उनीहरुका सामान पाँचवटा साइकलमा थिए । शनिबार बिहान सो टोली धादिङको गल्छी आइपुग्यो ।

गल्छी गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष हरि खतिवडाको संयोजनमा रहेको टोलीले उनीहरुलाई रोक्यो । रोकेका जान नदिनका लागि थिएन । सहयोगका लागि थियो ।

गल्छी गाउँपालिका–७ का अध्यक्ष हरि खतिवडा । तस्बिर : बर्षा शाह/देश सञ्चार

गल्छी गाउँपालिका अन्तर्गत पृथ्वी राजमार्गमा पर्ने वडा नम्बर ४, ६ र ७ का वडा समितिको पहल तथा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको अनौपचारिक आग्रहमा विगत १२ दिनदेखि गल्छीमा हेल्प डेस्क स्थापना भएको छ । सो डेस्कले गाउँ फर्किन हिँडेका पैदल यात्रीलाई रोकेर खाने कुरा दिने तथा गन्तव्यमा पुग्ने गाडी चढाएर पठाउने गरेका छन् ।

सफिकसहितको टोलीलाई पनि सोही उद्देश्यले रोकिएको थियो । सबैलाई चाउचाउ तथा पानी दिए । एक ठाउँमा राखे गाडी नपाउन्जेलका लागि ।

वडा नम्बर ७ का अध्यक्ष खतिवडाले भने, ‘हामीले समस्यामा परेका पैदलयात्रीलाई यसरी नै सहयोग गर्ने गरेका छौँ । राजमार्गमा चल्ने सामान बोक्ने खाली गाडीमा पठाउने गरेका छौँ । अहिलेसम्म यहाँबाट ५०० जना भन्दा बढीलाई गन्तव्यमै पुग्ने गाडी चढाएर पठाइसकेका छौँ ।’

पैदल यात्रीको सहयोगका लागि स्थापना गरिएको डेस्क । तस्बिर : बर्षा शाह/देश सञ्चार

गल्छी रसुवा तथा नुवाकोट जाने ट्रान्जिट हो । नुवाकोट तथा रसुवाका विभिन्न सिमेन्ट तथा इट्टा उद्योगमा काम गर्न तराईको जिल्लाबाट मजदुर आउने गरेका छन् । बाराको कलैयामाइका सफिकिको टोलीलाई उनीहरुले पथलैया जाने गाडीमा पठाउने तयारी गरेका थिए ।

ठेकेदारसँग ३० हजारदेखि एक लाख रुपैयाँसम्म ज्याला लिन बाँकी छ । तर अहिलेलाई भने केही सय बाटो खर्च मात्रै लिएर सफिकसहितको टोली घर फर्किन थालेको हो । उनीहरुलाई लकडाउन सकिएपछि बाँकी पैसा दिने बताएका छन् ठेकेदारले ।

गृह मन्त्रालयको निर्देशनमा शनिबारदेखि राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीले नै पैदल यात्रीलाई गाडी चढाइ दिन थालेका छन् । तर धादिङ्गका सिडिओ आशमान तामाङको आग्रह तथा स्थानीय जनप्रतिनिधिको पहलमा गल्छीबाट भने यसअघिदेखि नै मजदुरहरुको उद्धार हुने गरेको हो ।

सबै तस्बिर : बर्षा शाह

देश सञ्चारमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij