सिरहा, २८ फागुन – लहान नगरपालिका–४ मा ५०० शय्याको अत्याधुनिक मुटु तथा मधुमेह रोग उपचार केन्द्र निर्माण गरिने भएको छ। नेपाल हृदय रोग निवारण संघको पहलमा जर्मनीका दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था— ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ को आर्थिक सहयोगमा रु दुई अर्ब लागतमा अस्पताल निर्माण कार्य अघि बढाइएको हाे।
अस्पतालका परामर्शदाता चिकित्सक डा. सञ्जयप्रसाद साहका अनुसार लहान नगरपालिकाले प्रदान गरेको ११ बिघा जग्गामा अस्पताल बन्नेछ, जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। “पाँच वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ,” उहाँले बताउनुभयो।
हाल नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जमिनमा दुईवटा भवन निर्माण गरी माघ ४ गतेदेखि ओपिडी सेवा सञ्चालनमा आइसकेको छ। सोमबार आयोजित कार्यक्रममा लहान नगरप्रमुख महेशप्रसाद चौधरी र प्रसिद्ध मुटु शल्यचिकित्सक डा. कुमुद धितालले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभयो।
नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइबेटिक सेन्टर’ सञ्चालन हुनु स्थानीयवासीका लागि गर्वको विषय भएको बताउँदै, अब मुटु तथा मधुमेह रोगको उपचारका लागि धरान, विराटनगर वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij