काठमाडौं, ५ चैतः कर्णाली प्रदेशमा आगामी वर्ष जेठ महिनामा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि लोगो र मस्कट सार्वजनिक गरिएको छ। मंगलबार एक विशेष कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गरिएको हो।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गरेका थिए। त्यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले भौतिक रूपमा अनावरण गरे। लोगो र मस्कटको डिजाइन विकास तमकुजुले गरेका हुन्।
मस्कटमा नेपालको दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) समावेश गरिएको छ भने लोगोमा सात वटा रङ, चन्द्र र सूर्य अंकित छन्। मन्त्री चौधरीले लोगो आकर्षक रहेको बताउँदै यसले कर्णाली प्रदेशको भुगोल र माटोसँग मेल खाने उल्लेख गरे।
यसै अवसरमा दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता अनलाइन माध्यमबाट गरिने घोषणा गरिएको छ। खेलाडी तथा प्रशिक्षकहरूको दर्ताका लागि अनलाइन पोर्टलसमेत लन्च गरिएको छ, जसको माध्यमबाट इच्छुक खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। त्यसैगरी, प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने विशेष अनलाइन पोर्टल पनि सार्वजनिक गरिएको छ।
दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ गतेदेखि १० गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय गरिएको छ। यसअघि मंसिर २०८१ मा हुने भनिएको प्रतियोगिता दुई पटक सारिँदै अन्ततः २०८२ साल जेठमा गर्ने निश्चित भएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij