मोरङ, २९ फागुनः विराटनगरस्थित सहिद रङ्गशालामा सम्पन्न ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगितामा ललितपुरको थ्री स्टार क्लबले उपाधि जित्न सफल भएको छ।
बुधबार साँझ भएको फाइनल खेलमा थ्री स्टार क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका जर्सी नं १६ का खेलाडी खेमराज श्रेष्ठले खेलको पाँचौँ मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि, जर्सी नं ७ का दीपेश घलेले खेलको ६३औँ मिनेटमा अर्को गोल गर्दै टिमको जित सुनिश्चित गरे।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका खेलाडी श्रेष्ठ ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदै रु ५१ हजार नगद पुरस्कार प्राप्त गरे। सोही क्लबका कप्तान एकराज बुढाथोकीलाई ‘म्यान अफ द म्याच’ को रूपमा रु ११ हजार प्रदान गरियो।
विजेता थ्री स्टार क्लबले नगद रु ११ लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता चर्च ब्वाइज युनाइटेडले रु ५ लाख हात पार्यो।
पुरस्कार वितरण समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुली, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले विजेता तथा उपविजेता टोलीलाई गोल्ड कप, सिल्ड तथा प्रमाणपत्र प्रदान गरे।
यस प्रतियोगितामा नेपालका विभागीय टिमसहित १० टोली तथा भारतका दुई टिमले भाग लिएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij