काठमाडाैं, २६ चैतः त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले उपकुलपति पदबाट राजीनामा दिएका डा. केसरजंग बराललाई पुनः जिम्मेवारी सम्हाल्न आग्रह गरेका छन्।
करिब १० दिनअघि स्वास्थ्य समस्यालाई कारण देखाउँदै उपकुलपति पदबाट राजीनामा दिएका बराललाई भेट्न रेक्टर र रजिस्ट्रार पोखरा पुगेका थिए। त्रिविका एक अधिकारीका अनुसार, बराललाई राजीनामा फिर्ता गर्न अनुरोध गर्न उनीहरू विशेष रूपमा पोखरा पुगेका हुन्।
त्यसैक्रममा रेक्टर केसी र रजिस्ट्रार रिजालले डा. बराललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग प्रत्यक्ष छलफल गर्न सुझाव पनि दिएका छन्। उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग पनि बराललाई पुनः जिम्मेवारीमा फर्काउने वातावरण बनाउन सहयोग गर्न अनुरोध गरेका छन्।
डा. बरालले रेक्टर र रजिस्ट्रारको पहल स्वीकार्दै आफूहरूसँग भेटघाट भएको पुष्टि गरेका छन्। “उहाँहरू आउनुभएको हो, बाँकी कुरा पछि गरौंला,” बरालले संक्षिप्त प्रतिक्रिया दिएका छन्।
रेक्टर खड्ग केसीले पनि त्रिविमा उत्पन्न समस्या समाधानका लागि सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। “उहाँ (बराल) सरको नेतृत्वमा हामी आएका हौं, समस्या त आइरहन्छ, समाधान गर्न मिलेर काम गरौं भन्ने हाम्रो चाहना हो,” केसीले बताए।
हाल डा. बरालले राजीनामा दिइसकेका कारण उपकुलपतिमा पुनः नियुक्ति वा राजीनामा स्वीकृत गर्ने निर्णय प्रधानमन्त्री तथा कुलपति ओलीको हातमा रहेको छ। स्रोतका अनुसार, आज साँझभित्र प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिने सम्भावना छ।
डा. बराल सन् २०८० सालको फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा त्रिविका उपकुलपतिमा नियुक्त भएका थिए। करिब १३ महिनाको कार्यकालपछि उनले राजीनामा दिएका हुन्।
विश्वविद्यालयका केही स्रोतहरूका अनुसार, करार शिक्षक–कर्मचारीलाई स्थायी बनाउने तथा आंशिकलाई करारमा लैजाने दबाबकै कारण उनले जिम्मेवारी छाड्नुपर्ने अवस्था आएको हो। यद्यपि, बरालले यस विषयमा औपचारिक रूपमा केही नबोली प्रधानमन्त्रीको निर्णयपछि मात्रै प्रतिक्रिया दिने बताएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij