काठमाडाैं, बारा र पर्सा जिल्लाका औद्योगिक करिडोर तथा उपभोक्ताहरूलाई भरपर्दो र उच्चस्तरको विद्युत् आपूर्ति गर्न निर्माणाधीन तीन सबस्टेसन अन्तिम चरणमा पुगेका छन्। बाराको अमलेखगन्ज र प्रसौनी तथा पर्साको वीरगन्जमा बनाइँदै गरेको १३२ केभी क्षमताका यी सबस्टेसनहरूले क्षेत्रीय विद्युत् व्यवस्थापनलाई सहज बनाउनुका साथै भारतसँगको विद्युत् व्यापारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले आयोजनाको गति तीव्र पार्दै काम छिटो सक्न निर्देशन दिएको छ। प्राधिकरणका अनुसार, वीरगन्ज औद्योगिक क्षेत्रको बढ्दो माग पूरा गर्न यी संरचनाहरू महत्वपूर्ण छन्।
अमलेखगन्ज सबस्टेसन: जेठ दोस्रो साताबाट सञ्चालनमा
पथलैया–सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्ति समस्या समाधान गर्न अमलेखगन्जमा १३२/६६ केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। मुख्य उपकरणहरू जडान भइसकेका छन्, र आगामी जेठ दोस्रो साता (मे २०२५) भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको एक सर्किटलाई अमलेखगन्ज सबस्टेसनमा लुप इन र लुप आउट गर्ने कार्य पूरा भइसकेको छ। साथै, हेटौंडाबाट सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा आपूर्ति हुने ६६ केभी लाइनका दुवै सर्किटलाई पनि सबस्टेसनमा जोडिएको छ।
हेटौंडाबाट सिमरा–वीरगन्जमा गएको ६६ केभी लाइन लामो तथा कम क्षमताको भएकाले भोल्टेज समस्याहरू देखिँदै आएका थिए। तर, नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ६६ केभी लाइन छोटो हुने र १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गरिने भएकाले यस क्षेत्रको विद्युत् सेवा उल्लेखनीय रूपमा सुधार हुने प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij