तारकेश्वर नगरपालिका वडा नम्बर १० ले डिजिटल प्रोफाइल सार्वजनिक गरेको छ । काठमाडौं क्षेत्र नम्बर ६ (ख)का प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौला प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर वोहोरा विशिष्ट अतिथिको रुपमा सहभागि थिए ।
नेपाल विद्युत प्राधिकरण (बालाजु)की पशुपति लम्साल, तारकेश्वर नगरपालिकाकी कार्यकारी प्रमुख जानुका सुवेदी, बालाजु प्रहरी विटका विश्वराज खड्का, विभिन्न विद्यालयका प्रिन्सिपल, प्रतिनिधिहरु, स्थानीय समाजसेवी तथा वुद्धिजिवी, पत्रकार लगायतको व्यापक उपस्थिति बीच आयोजना गरिएको उक्त कार्यक्रममा तारकेश्वरको वडा नम्बर १० मा सिसिटिभीको उद्घाटन गरिएको छ । १० नम्बर वडामा डिजिटल वडा प्रोफाइल निर्माण कार्य शुरुवात गरिएको छ ।

उक्त विशेष कार्यक्रम बीच १० नम्बर वडा विद्युतीय चोरी, चुहावट तथा कालोसूची मुक्त क्षेत्र समेत घोषणा गरिएको छ । वडामा सार्वजनिक शौचालय निर्माणको निम्ति प्रक्रिया समेत अघी बढाइने भएको छ ।
कार्यक्रमका सभापति तथा वडा नम्बर १० का अध्यक्ष अमृत थापाले वडा नम्बर १० मा भएका प्रगति विवरण र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको थियो । बाटो मर्मत, ढलान, ग्राभेल, कालोपत्रे, विद्युत लाइन विस्तार तथा मर्मत, पाइप लाइन विस्तार, महिलाहरुको निम्ति उद्यमशिल तथा नेतृत्वदायी क्षमता विस्तार तालिम, जमरा जुस उत्पादन, बच्चाको कपडा, ढाका लगायतको उत्पादनको निम्ति भएका पहलहरु लगायतमा कामहरु अघी बढेको ऊहाँले बताउनुभएको छ । साथै डिजिटल प्रोफाइल मार्फत वडा क्षेत्रको तथ्यांक संकलन तथा नमुना क्षेत्र घोषणाको पहल भइरहेको समेत ऊहाँले बताउनुभएको छ ।
आगामी दिनमा वडाका विभिन्न ४ क्षेत्रमा पार्क निर्माण, मानसिंह विद्यालयमा विद्युतीय प्रणाली जडान, रिजर्भ टैंकी निर्माण मार्फत सहज रुपमा पानीको आपुर्ति लगायतका योजनाहरु आफ्नो प्राथमितकतामा रहेको समेत ऊहाँले बताउनुभएको छ ।

कार्यक्रममा सुरक्षाकर्मीको तर्फबाट बोल्दै बालाजु प्रहरी बिटका विश्वराज खड्काले १० नम्बर वडामा सुरक्षा चुनौती बढेको कारण सचेत रहन सबैलाई आग्रह गर्नुभयो । आफूहरु निकै नै खटिएको, प्रयाप्त स्रोत र साधन तथा जनशक्ति उपलब्ध रहेको बताउँदै सबै नागरिकले निर्धक्कपूर्वक प्रहरीलाई विभिन्न सुरक्षा क्षेत्रका गतिविधिहरुबारे जानकारी गराउन आग्रह गर्नुभयो । साथै घरमा पैसा र गरगहना नराख्न समेत ऊहाँले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामेश्वर बोहोराले नगरपालिकाको विकासको निम्ति सबै व्यक्ति र संस्थाहरुले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि योगेन्द्र सङ्ग्रौलाले अब विकासको निम्ति ढोका खुलेको बताउँदै अब हुने विकासका कार्यहरु सबै निकायको एकीकृत समन्वयनबाट हुने बताउँदै दिगो सोचको साथ अबको विकास अघी बढ्ने बताउनुभयो । प्रादेशिक सरकारले गरेका कामहरु र आगामी कामहरुको बारेमा बताउँदै नयाँ बर्ष २०७५ लाई नयाँ, समृद्ध, शान्त मुलुक निर्माणको बर्षको रुपमा विकास गर्न आफूहरु लागिरहेको बताउँदै सबैलाई नयाँ बर्षको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij