२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

जलविद्युत् आयोजना

तनहुँ जलविद्युत् आयोजना : भूमिगत विद्युत्गृहमा रोटर जडान सम्पन्न

तनहुँ जलविद्युत् आयोजना : भूमिगत विद्युत्गृहमा रोटर जडान सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृह भित्र बिहीबार रोटर जडान गरिँदै । आयोजनाको प्याकेज दुई अन्तर्गत यहॉ सिनो हाइड्रोले काम गरिरहेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

दमौली (तनहुँ), २९ चैत – निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा रोटर जडान कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। आयोजना अन्तर्गतको दोस्रो चरणमा यो महत्त्वपूर्ण उपलब्धि हासिल भएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार, सिनो हाइड्रो लिमिटेडले १९० टन क्षमताका दुईवटा रोटर जडान गरिसकेको छ। “सुरुङमार्फत आउने पानीले रोटरलाई घुमाउँछ, जसबाट विद्युत् उत्पादन हुन्छ,” भण्डारीले जानकारी दिनुभयो। उहाँले थप्नुभयो, “विद्युत्गृहको कार्य अन्तिम चरणमा पुगेको छ र अब सञ्चालनको तयारी भइसकेको छ।”

आयोजना तीन चरणमा अघि बढिरहेको छ। चरण–१ अन्तर्गत बाँध निर्माणमा हालसम्म ३६.१५ प्रतिशत प्रगति भएको छ भने चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माण कार्यमा ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। यद्यपि, वन क्षेत्र प्रयोग र त्यहाँका रुखबिरुवा हटाउने कार्यमा ढिलाइका कारण प्रसारण लाइन निर्माणमा केही असर परेको भण्डारीले बताउनुभयो। यस सम्बन्धमा आयोजनाले सम्बन्धित निकायहरूसँग समन्वय र परामर्श जारी राखेको छ।

आयोजना सन् २०२६ (विसं २०८३) को असारभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनाको कुल लागत – जसमा प्रसारण लाइन, ग्रामीण विद्युतीकरण र निर्माण अवधिको ब्याज पनि समावेश छ – करिब ५० करोड ५० लाख अमेरिकी डलर रहने आयोजनाले जनाएको छ।

यस आयोजनाको वित्तीय व्यवस्थापनमा एशियाली विकास बैंक (ADB) बाट १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (JICA) बाट १८ करोड ४० लाख, युरोपियन लगानी बैंकबाट ८ करोड ५० लाख, र बाँकी ८ करोड ६० लाख डलर नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij