डुम्रे (तनहुँ), १४ चैतः तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा निर्धारित लक्ष्यकाे ९९ प्रतिशत राजस्व संकलन गरेकाे छ । कार्यलयले याेे अवधिमा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व संकलन गरेको छ। यो सङ्ख्या निर्धारित लक्ष्यभन्दा ९९ प्रतिशत भएकाे कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो।
कार्यालयलाई चालु अवधिमा रु आठ अर्ब ४० करोड १७ लाख राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो, जसमा ९९ प्रतिशत मात्र प्राप्त भएको छ। चालु आर्थिक वर्षभर कार्यालयले कुल रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
हाल तनहुँ कार्यालय अन्तर्गत २५ हजार करदाता कर प्रणालीमा आबद्ध छन्। यस कार्यालयमार्फत लमजुङ, गोर्खा र मनाङका व्यवसायी तथा उद्यमीहरूले समेत राजस्व दाखिला गर्दै आएका छन्।
आगलागी नियन्त्रणका लागि पम्पसहितको पानी ट्याङ्की निर्माण
डिभिजन वन कार्यालयले आगलागी नियन्त्रणका लागि विशेष तयारीस्वरूप पम्पसहितको पानी ट्याङ्की निर्माण गरेको छ। चार हजार दुई सय लिटर क्षमताको यो ट्याङ्की निर्माण गर्न कुल रु तीन लाख ८५ हजार खर्च गरिएको छ।
सुक्खायाममा आगलागीका घटना बढ्ने भएकाले आवश्यक पूर्वतयारीस्वरूप ट्याङ्कीको व्यवस्था गरिएको वन अधिकृत शरद्कुमार अधिकारीले जानकारी दिनुभयो।