काठमाडौं उपत्यकामा कोरोना संक्रमण महामारीको रुपमा फैलिने हो भने पानीको माध्यमबाट फैलिन सक्ने सम्भावना उच्च रहन्छ । पानीका जारहरु उपभोक्ताका घरघरमा पुग्नुपर्ने र कसलाई कोरोना संक्रमण छ भन्ने यकिन गर्न सक्ने अवस्था नरहने भएको कारण यस्तो अवस्था सृजना हुन सक्ने बताउँदै पानी उद्योगीहरुले जोखिम र त्रास बीच काम गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनले प्लाष्टिकबाट कोरोना संक्रमण फैलिन सक्ने भनेर पुष्टि गरेको अवस्थामा यसले आगामी दिनहरुमा निम्त्याउन सक्ने कठिन परिस्थिति बीच पानी उद्योग सञ्चालन गर्दा आफूहरुलाई पूर्ण सुरक्षाको महसुस नभएको र सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्ने सम्बन्धमा नेपाल सरकारले पनि उपयुक्त व्यवस्था गर्न नसकेको पानी उद्योगी गौतमको ठम्याई छ । उहाँले भन्नुभयो ‘हामीहरुले सक्दो सुरक्षाका विधिहरु अपनाएर पानी प्रशोधन कार्यमा खटिँदै आएका छौं । यद्यपि राज्यको सहयोग बिना ढुक्क भई काम गर्न सकिने अवस्था भने छैन ।’

विषम परिस्थितिमा आफूहरुले रहरले सेवा सुचारु गरेको नभई उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पानी उद्योग सञ्चालन गरेर उपभोक्तालाई पानी उपलब्ध गराई नेपाल सरकारको दायित्वमा आफूहरुले दरिलो साथ उपलब्ध गराएको धारणा समेत गौतमको छ । यद्यपि यसरी निरन्तर सेवामा खटिने व्यवसायीहरुको लागि उपयुक्त तवरले नेपाल सरकारले कार्य मूल्यांकन नगरेकोमा उहाँ खेद व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार आगामी दिनमा सेवा सुचारु गर्न एवं सहजीकरणको लागि राज्यले विशेष समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । यसअन्तरगत बैंकबाट ठूलो रकम ऋण लिएर उद्योग सञ्चालन गरेका व्यवसायीहरुलाई सहयोग पुग्ने किसिमले व्याज तथा कर छुट जस्ता आकर्षक कार्यक्रम ल्याई व्यवसायीहरुलाई प्रोत्साहित गर्नसके व्यवसायीहरुको मनोवल उच्च हुन सक्ने गौतमको धारणा छ ।
पानीको बजारः
‘नेपालमा अहिले पानीको कारोवार एक तिहाइमा सीमित रहेको छ । यसको अलावा हामी व्यवसायीहरुले सुरक्षा निकाय एवं क्वारेन्टाइन लगायत विभिन्न क्षेत्रमा निःशुल्क पानी उपलब्ध गराएर समेत सक्दो सहयोग गरिरहेका छौं ।’ गौतमले भन्नुभयो ।
विगतमा दैनिक करिब ४ हजार जार प्रशोधित पानी बजारमा उपलब्ध गराउँदै र १ लिटर बोतलको पानी ठूलो परिमाणमा वीरगञ्ज क्षेत्रलाई समेत उपलब्ध गराउँदै आउनुभएका गौतम हाल आफूले वोतलमा प्याकेजिङ गर्दै पानी उत्पादन कार्य बन्द गर्नुभएको छ ।
उच्च लागतः
अहिले कठिन परिस्थितिमा आंशिक रुपमा उद्योग सञ्चालन गर्दा लागत उच्च बनेको छ । यसबाट पानी उद्योगीहरुलाई थप आर्थिक भार थपिएको गौतमको धारणा छ । विषम परिस्थितिमा पनि सेवा प्रवाह कार्यलाई निरन्तरता दिने योजना बमोजीम आफूहरुले काम गर्ने सोच भएपनि कर्मचारी सहज रुपमा उपलब्ध हुने अवस्था समेत छैन ।
उद्योगहरुको निरन्तर अनुगमनः
काठमाडौंको उत्तरी क्षेत्रमा सञ्चालित ५६ उद्योगहरुले कसरी पानी उत्पादन गरिरहेका छन् भन्ने बारे आफैं समय–समयमा स्थलगत अध्ययन समेत गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ गौतम । बोटल वाटर उद्योग संघका केन्द्रीय अनुगमन समितिका संयोजक समेत रहनुभएका गौतमले ती उद्योगहरुको वस्तुस्थिति बुझेर विशेष समस्यामा रहेका उद्योगहरुलाई आफूले उचित सल्लाह र निर्देशन समेत दिँदै आउनुभएको छ ।
सामाजिक कार्यमा संलग्नताः
आफू उद्योगीहरु मुनाफाले मात्र प्रेरित नभएको र सामाजिक कार्यहरुमा पनि आवश्यकता बमोजिम संलग्न रहँदै आएको बताउनुहुन्छ गौतम । कतिपय कोठा भाडामा लिएर बस्ने र पानी उद्योगमा काम गर्ने कर्मचारीहरुलाई घरबेटीले घरमा सहज रुपमा प्रवेश गर्न नदिएको र त्यस्तो अवस्थामा समेत आफूहरुले आवश्यक सहजीकरण गरेर समाधान निकाल्न सकेकोमा खुसी व्यक्त गर्नुहुन्छ गौतम । साथै राज्य सबै उद्योगी एवं व्यवसायीहरुको अभिभावक रहेको हुनाले अप्ठ्यारो परिस्थिपतिमा अभिभावकीय भूमिका निर्वाह गरिदिनुपर्नेमा उहाँको जोड छ ।
नेपालमा पछिल्लो समय प्रिमियम ब्राण्ड भन्दै बजारमा विभिन्न कम्पनीले पानी उपलब्ध गराएका छन् । यद्यपि एउटै विधिबाट प्रोसेसिङ गरिएको पानीलाई बोतलकै कारण प्रिमियम मान्न नसकिने भएको र पानीको वर्गिकरणको क्रममा प्रोसेसिङ, स्प्रिङ र ग्लासियरको रुपमा वर्गिकरण गर्नु भने सकिनेमा जोड दिनुहुन्छ उद्योगी गौतम ।
छापाखाना बन्दः स्टिकर प्रिन्टमा समस्या
अहिलेको परिस्थिति कठिन छ । कठिन परिस्थितिको मारमा उद्योगी व्यवसायीहरुले अन्य समस्याहरु पनि भोग्नुपरेको छ । पानी उद्योगीहरुले भोग्नुपरेको एउटा अर्को बाहिर देखिने समस्या बन्न पुगेको छ स्टिकर । अहिले छापाखानाहरु बन्द रहेको र नयाँ मितिका स्टिकर उपलब्ध गराउन नसकेको अवस्थामा कतिपय अवस्थामा बिना मिति, मूल्य र स्टिकर नै पानी बजारमा पठाउनुपर्ने अवस्था पनि सृजना भएको छ । जुन आफूहरुको बाध्यता भएको बताउनुहुन्छ गौतम ।
सतर्क रहौंः
परिस्थितिलाई जोखिममुक्त बनाउनको लागि सबैभन्दा महत्वपूर्ण भूमिका आफ्नै सतर्कता रहने र सबै सुरक्षित ढङ्गले नै काम गर्नुपर्ने आवश्यकता रहेकोमा सबै व्यवसायी तथा कर्मचारीलाई गौतम ध्यानाकर्षण गराउनुहुन्छ । अहिले पानी प्रशोधन पश्चात् पसलबाट विक्री गर्ने कार्य समेत त्यत्ति सहज नभएको र आवश्यकता बमोजिम विभिन्न ठाऊँमा आफैंले उपलब्ध समेत गराउँदै आइरहेको अवस्थामा विशेष सावधानी अपनाउन जोड दिनुपर्ने उहाँको धारणा छ ।
जोखिमयुक्त क्षेत्र मध्ये पानी उद्योग समेत रहेको र यस क्षेत्रमा निरन्तर खटिएका कर्मचारीहरु सबैको परीक्षण एकैपटक सम्भव नभएको कुरालाई विचार गर्दै सबै कम्पनीबाट केही मात्रामा भएपनि कोरोना परीक्षण हुनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ ।
अन्य समस्याः
आफूले १२ रुपियाँमा उपलब्ध गराएको पानी उपभोक्ता सम्म पुग्दा ६० रुपियाँ पुगेको छ । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सम्बन्धमा आफूहरु तयारीमा रहेको बताउनुहुन्छ महासचिव गौतम ।
आफू अनुगमन समिति संयोजक भएपछि नेपालका ७ ओटै प्रदेशमा भ्रमण गरेर पानीको गुणस्तरीयता अभिवृद्धिको उद्धेश्यले केही समय उद्योग नै बन्दै गराएर समेत उद्योगीहरुलाई निर्देशित गरेको र यसबाट अहिले अधिकांश पानी उद्योगहरु सचेत नै बनिसकेको बताउनुहुन्छ गौतम । पानी मानिसको जीवन भएको कारण गुणस्तरीय पानी सहज रुपमा उपलब्ध हुनुपर्नेमा आफूहरु सचेत रहनुपर्ने उहाँको धारणा छ ।
अवैधानिक उद्योगहरु पनि सञ्चालनमाः
खाद्य तथा गुणस्तर विभागले निर्धारण गरेका मापदण्ड नपु¥याई, बिना दर्ता बोटल वाटर उद्योग संघमा समेत सहभागि नभई कतिपय कम्पनीले पानी उपलब्ध गराएको अवस्था छ । यसले उपभोक्ताले गुणस्तरीय सेवा पाउने अधिकार वञ्चित बन्ने भन्दै यस्ता कम्पनीहरु बन्द नै गर्न वा वैधानिक दायरामा ल्याउन नेपाल सरकारले विशेष ध्यान केन्द्रित गर्नुपर्ने गौतमको धारणा छ ।
पानीको वर्गिकरण
नेपालमा पछिल्लो समय प्रिमियम ब्राण्ड भन्दै बजारमा विभिन्न कम्पनीले पानी उपलब्ध गराएका छन् । यद्यपि एउटै विधिबाट प्रोसेसिङ गरिएको पानीलाई बोतलकै कारण प्रिमियम मान्न नसकिने भएको र पानीको वर्गिकरणको क्रममा प्रोसेसिङ, स्प्रिङ र ग्लासियरको रुपमा वर्गिकरण गर्नु भने सकिनेमा जोड दिनुहुन्छ उद्योगी गौतम ।
अन्त्यमा,
कुनै पनि परिस्थितिमा नआत्तिन र सहज रुपमा सेवा प्रवाहमा निरन्तर खटिन आग्रह गर्नुहुन्छ गौतम । उपभोक्तालाई सहज रुपमा पानी उपलब्ध गराई पुर्याएको सेवा आफू व्यवसायीहरुको निकै ठूलो सहयोग भएको बताउँदै उहाँले आगामी दिनमा के हुने भन्ने अनिश्चित रहेको र परिस्थिति झनै कठोर बन्न सक्नेमा सचेत गराउँदै कसैले पनि धैर्यता नगुमाई आफूले सक्दो सेवा प्रवाह र जिम्मेवारी वहन गर्न सबै व्यवसायीहरुलाई महासचिव गौतम आग्रह गर्नुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij