२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० बर्ष कायम गरिनुपर्छ: उद्यमी पराजुली

जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० बर्ष कायम गरिनुपर्छ: उद्यमी पराजुली

गोविन्द पराजुली, सञ्चालक, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड

गोविन्द पराजुली मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका सञ्चालकहरु मध्येका एक व्यक्ति हुन् । सिन्धुपाल्चोक हाइड्रोपावरका अध्यक्ष समेत रहेका पराजुली नेपालमा जलविद्युत प्रवर्द्धक कम्पनीको लागि कायम गरिएको ३५ बर्षे लाइसेन्स अवधि अप्रयाप्त रहेको बताउँदै आएका छन् । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी मध्य भोटेकोशी जलविद्युत कम्पनीको स्थानीय सहायक लगानी कम्पनी समेत हो ।

लाईसेन्स अवधिलाई कम्तीमा ५० बर्ष पुर्याउन सकेको खण्डमा जलविद्युतमा गरेको लगानीकर्ताको लगानी सुरक्षा हुन गइ राम्रो मुनाफा समेत लिन सक्ने स्थिति हुन्छ । जसबाट राष्ट्रिय पुँजी निर्माणमा समेत सहयोग पुग्छ भन्ने पराजुलीको मान्यता छ ।

नेपालमा पछिल्ला बर्षहरूमा जलविद्युत आयोजनाहरूको लागत महँगो पर्दै गएको र निर्धारित समयमा आयोजनाहरू सम्पन्न हुने स्थिति समेत नरहेको अवस्थालाई विचार गरी जलविद्युत आयोजनाहरूको इजाजत अवधि ५० बर्ष कायम हुनुपर्ने कुरालाई पराजुलीले जोडदार रुपमा उठाउँदै आएका हुन् ।

अधिकांश जलविद्यु आयोजना नेपालमा ५(७ बर्ष अवधिमा आयोजना निर्माण सम्पन्न गरिने अपेक्षा सहित काम अघी बढाएपनि भौगोलिक, प्राविधिक, डलरको मूल्यमा हुने उतारचढाव लगायतका विभिन्न कारणहरुले गर्दा जलविद्युत आयोजना सम्पन्न गर्नको लागि १० देखि १५ बर्ष लाग्ने अवस्था छ ।

नेपाल सरकार अन्तरगत चिलिमे जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणको ठूलो स्वामित्व रहेको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको लागि समेत यसरी नै लामो समय लाग्न पुगेको छ । यो आयोजना निर्माणका लागि वि.सं २०६६–६७ देखि काम अघी बढाइएको हो । तथापि अहिले सम्म पनि उक्त आयोजना सञ्चालनमा आइसकेको छैन । अब भने निर्माण कार्य सम्पन्न भइ विद्युत उत्पादन कार्य अन्तिम चरणमा पुगेको छ । १ सय २ मेगावाट क्षमताको उक्त आयोजना निर्माण कार्य यसै बर्षको भदौ-असोजमा सञ्चालनमा आउनेछ । आयोजनाबाट पहिलो चरणमा नै पूर्ण क्षमतामा विद्युत उत्पादन हुनेछ ।

३५ बर्षे लाइसेन्स प्रावधान अनुसारको व्यवस्थामा आयोजना निर्माणको लागि नै शुरुका १२-१५ बर्ष व्यतीत हुने गर्छ । जलविद्युत आयोजना निर्माणको लागि ठूलो रकम ऋण लिइएको हुन्छ । उक्त ऋण तिर्नको लागि नै अर्को १२-१५ बर्ष समयावधि लाग्ने स्थिति रहन्छ । साथै बाँकी १२-१५ बर्ष अवधि लगानीकर्ताको लागि प्रयाप्त नहुने स्थिति देखिन्छ ।

संक्षिप्तमा मध्य भोटेकोशी आयोजनाः
१ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना शुरुवाती दिनमा सन् २०१६ मा सम्पन्न हुने प्रक्षेपण सहित अघी बढाइएको आयोजना हो । यस आयोजनालाई मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड अन्तरगत निर्माण कार्य अघी बढाइएकोमा प्राकृतिक विपत्ति एवं विविध कारणहरुले गर्दा यस आयोजनाको लागत एवं अवधि बढ्न गयो । विभिन्न प्राकृतिक विपत्तिहरू पार गर्दै यही भदौ सम्ममा आयोजनाले विद्युत उत्पादन गर्ने गरी काम लगभग अन्तिम चरणमा पुगेको छ ।

लगानी
यस आयोजनामा कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड कायम गरिएकोमा हाल जारी पुँजी भने ६ अर्ब रकम रहेको छ । जसमध्ये चिलिमे जलविद्युत कम्पनीको सबैभन्दा बढी ३७ प्रतिशत, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको १९.५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको ३.५ प्रतिशत, सर्वसाधारणको ११ प्रतिशत रहेको छ ।

यसैगरी नेपाल अरनिको हाइड्रोपावर, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु भोटेकोशी हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको १–१ प्रतिशतका दरले लगानी रहेको छ ।

भर्खर मात्रै कम्पनीले सार्वजनिक गरेको (०७८–७९ को) बार्षिक प्रतिवेदनमा कम्पनीको सञ्चित मुनाफा ३४ करोड ६७ लाख रकम नकारात्मक रहेको देखिन्छ, जुन गत बर्ष (७७–७८ मा) २८ करोड ७२ लाख नकारात्मक रहेको देखिन्छ । प्रतिवेदन अनुसार हाल सबै गरी कम्पनीको दायित्व १३ अर्ब ७४ करोड रकम रहेको छ ।

कम्पनीका सञ्चालक पराजुलीका अनुसार जलविद्युत उत्पादनको लागि ६ अर्ब रकम पुँजी जुटाइएकोमा विविध कारणहरुले लागत बढ्दै जाँदा १२ अर्बमा आयोजना सम्पन्न हुने अनुमान गरिएको थियो । तथापि लागत वृद्धि भइरहँदा हाल १८ अर्ब लागतमा आयोजना पूर्ण रुपमा सम्पन्न हुने स्थिति सृजना भएको छ ।

प्राकृतिक विपत्ति र डलरको मूल्य वृद्धिको असरः
यसरी लागत वृद्धि हुनुमा प्राकृतिक विपत्ति एवं डलरको मूल्यमा आएको उतारचढाव लगायतका कारणहरु जोडिएका छन् । जुन बेला सम्झौता भएको थियो, त्यस बेला प्रतिडलर ८३ रुपियाँ रहेकोमा हाल प्रतिडलर नेपाली मूल्य १ सय ३० भन्दा माथि छ ।

प्रशारण लाइन र प्रतिफलः
बाह्रबिसेमा उत्पादित विद्युत मुख्य लाइनमा जोड्नको लागि हाल बाह्रबिसेबाट खिम्ती–ढल्केबर हुँदै जोडिने ट्रान्समिसन लाईनको प्रयोग गरिनेछ । ३ ओटा टवाईन एकैपटक चलाउँदा एकै चरणमा पूर्ण क्षमता (१ सय २ मेगावाट) नै विद्युत उत्पादन गर्न सकिनेछ । आयोजना सम्पन्न भएपश्चात् आगामी बर्ष नै लगानीकर्तालाई पहिलो पटक करिब १० प्रतिशतको दरले प्रतिफल समेत वितरण गर्ने कम्पनीको योजना छ । कम्पनीले आयोजनाबाट बार्षिक रुपमा विद्युत बिक्री बापत करिब ३ अर्ब रकम आर्जन गर्नेछ ।

अन्त्यमा,
आगामी दिनमा हाइड्रोपावर प्रोजेक्टहरुलाई बहुआयामिक बनाउँदै लैजानुपर्छ भन्ने मान्यता समेत राख्छन् पराजुली । जलविद्युत सँगै कृषिलाई पनि सँगसँगै अघी बढाउन सके कम लागतमा बढी उत्पादन लिन सकिनेछ । साथै आगामी दिनमा नेपालमा हाइड्रोपावर, पर्यटन लगायत क्षेत्रहरुलाई अझ राम्रोसँग विकास एवं प्रवद्र्धन गर्नका लागि नेपाली युवाहरुलाई नेपालमा नै रहेर काम गर्न व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता समेत छ । जसबाट स्वदेशमा नै उद्यमशिलता प्रवर्द्धन हुनगई मुलुक समृद्धिको दिशामा अघी बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij