२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह

  • बुधबार, चैत्र १३ २०८१

काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गर्नुभएको हो ।

“नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पु¥याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर छ”, कार्कीले भननुभयो ।

नेपाल लगानी बोर्डले गरेको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उहाँको भनाइ छ ।

नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जिएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपिसीजस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको उहाँले जानकारी गराउनुभयो ।

इप्पान उपाध्यक्ष आनन्द चौधरीले नेपालमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन भइरहेकामा चार हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन रहेको, चार हजार १०० मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको चरणमा रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले सहजीकरण गर्ने हुँदा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो ।

‘जलविद्युत् र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरको खोजी’ भन्ने नारासहित नेपाली राजदूतावास भारत र भारतीय हरित ऊर्जा महासङ्घको आयोजना तथा इप्पानको संस्थागत सहभागितामा उक्त सम्मेलन भएको इप्पानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij