२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

चौधौं दिनः चामत्कारिक दिनको लागि कृतज्ञता

चौधौं दिनः चामत्कारिक दिनको लागि कृतज्ञता

 

मेडिकल डाक्टर तथा लेखक दीपक चोप्रा भन्छन्, ‘जब हामीले आफ्नो भित्री चाहनालाई शब्दको माध्यमबाट व्यक्त गर्छौं, तब चमत्कार शुरु हुन्छ ।’

भनिन्छ, यदि हामी आजको दिनलाई आफ्नो जीवनको एक महत्वपूर्ण र चमत्कारपूर्ण दिनको रुपमा अनुभव गर्न चाहन्छौं भने हामी हाम्रा विगतका सम्पूर्ण दिनहरु प्रति कृतज्ञ हुनैपर्छ ।

मानवीय मष्तिष्क अनुभवलाई नै वास्तविकता मान्छ

हाम्रा विगतका धेरै अनुभवहरु कष्ट र चुनौतीपूर्ण नै रहेका भएपनि थोरै–थोरै मात्रामा मिलेका खुसीयुक्त अनुभवहरु, जो हाम्रो लागि आनन्ददायक थिए, ती अनुभवहरुलाई सूक्ष्म रुपमा स्मरण गर्ने प्रयत्न त गरौं न । जसरी अहिले सम्म हामीले आफ्नो अधिकांश ऊर्जा नकारात्मक चीजहरुमा केन्द्रित ग¥यौं, त्यही ऊर्जालाई सकारात्मक कुरामा केन्द्रित गरेर हेर्न जब शुरुवात गर्छौं, तब हामीले आफ्नो जीन्दगीमा बिस्तारै–बिस्तारै सकारात्मक अनुभवहरु नै प्राप्ति हुँदै गएको महसुस गर्नेछौं ।

तपाईंहरुलाई यस किसिमको कुनै अनुभव पनि भएको हुन्छ, कि कुनै दुखद क्षण (नकारात्मक घटना, झगडा, अपमान लगायत) हाम्रो जीवनको समयक्रममा १० बर्ष पहिले अथवा बाल्यकालमा (जहिलेसुकै होस्) घटेको कुनै घटनालाई जब हामी सम्झन्छौं, त्यस घटनाका बारेमा कोहीसँग कुरा गर्न शुरु गर्छौं वा मनमनै कुरा खेलाउँछौं, हामीले लामो समय पछि त्यस घटनालाई याद गर्ने समयमा पनि हाम्रो शरीरमा पहिले जुन किसिमका परिवर्तनहरु आएका थिए, रसायनहरु पैदा भएका थिए, अहिले पुनः त्यस किसिमका परिवर्तनहरु देखिन शुरु गर्छन् । हुन सक्छ, हाम्रो शरीर काँप्न सक्छ, टाउको झुक्न वा दुख्न सक्छ, अवाक् हुन सक्छौं । पुनः डर पैदा हुन सक्छ, त्यस घटनाको स्मरण पश्चात् हामीले विरामी भएको महसुस समेत गरेका हुन सक्छौं । यस्तो किन हुन्छ त ? कहिल्यै विचार गर्नुभएको छ ?

किनकि हामीले त्यस घटनालाई याद गर्ने समयमा सबैभन्दा पहिले हाम्रो मष्तिष्कले त्यस घटनामा संलग्न पात्र, परिस्थिति र घटनाक्रमलाई चित्र वा चलचित्रको रुपमा हाम्रो अगाडि ल्याइदिन्छ । सोहीबमोजिम हाम्रो शरीरमा जैवरसायनहरुमा परिवर्तन आउँछ । यसकारण हामी तत्काल पीडाको महसुस गर्न पुग्छौं ।

दृष्टिकोण परिवर्तन मार्फत सकारात्मक परिणाम

जसरी हामीले नकारात्मक कुरा स्मरण वा महसुस गरेर तत्काल आफूलाई नकारात्मक स्थितिमा पु¥याउँछौं, त्यसरी नै हामी आफूमा सकारात्मक चीज स्मरण गरेर वा अनुभव गरेर तत्काल आफूलाई सकारात्मक अवस्थामा पु¥याउन पनि सक्छौं । तथापि यदि हामीले अहिले सम्म यसरी सकारात्मक अनुभवको लागि प्रयत्न गरेका छैनौं भने अनुभव लिन शुरुवाती दिनमा केही बढी समय लाग्न सक्छ । हामीमा सकारात्मक र नकारात्मक दुवै गुण र अनुभव हुन्छन् । हामी आफ्नो बाँकी जीवनमा पनि त्यस्तै कुराहरु पाउन सक्छौं, जुन कुरामा हामी आफ्नो अधिक ऊर्जा लगानी गर्दछौं ।

कसरी सकारात्मक अवस्थामा पुग्न सकिन्छ त ?

पहिलो तरिका

१. हामी आफूलाई खुसी महसुस हुने सुखद भविष्य बारे वर्तमानमा व्यवस्थित रुपमा मानसिक कल्पना गर्न र त्यो स्थितिमा आफू अहिले नै पुगेको अनुभव गर्न सक्यौं भने हामी आफूमा सकारात्मक जैव रसायनहरुलाई जागृत गर्न सक्छौं । तथापि यो कार्य अधिकांशको लागि केही कठिनाईपूर्ण हुन सक्छ । जुन कुरा वास्तविक रुपमा हामीले महसुस गर्न सकेका हुँदैनौं, त्यो कुरालाई मष्तिष्कले सही ठह¥याउन गाह्रो पर्दछ । किनकि हाम्रो मष्तिष्कले आफ्नो अनुभवलाई नै वास्तविक ठह¥याउँछ ।

दोस्रो तरिका

२. हामीले सजिलोसँग आफूलाई सकारात्मक स्थितिमा पु¥याउनको लागि हाम्रा विगतका सकारात्मक कुराहरुलाई मानसिक रुपमा चित्र वा चलचित्रको रुपमा स्मरण वा कल्पना गर्न सकेको खण्डमा पनि हाम्रो शरीरमा सकारात्मक जैव रसायनहरु जागृत हुन सक्छन् ।

डोपामाइन, सेरोटोनिन, अक्सिटोसिन, एन्ड्राेफिल लगायतका रसायनहरु सकारात्मक जैव रसायनहरु हुन् । हामी खुसी एवं आनन्दको स्थितिमा रहेको अवस्थामा हामीमा यी रसायनहरु जागृत भएका हुन्छन् । हामी खुसी अवस्थामा पुग्दा हाम्रो शरीर र मनको तहमा जुन परिवर्तनहरु आएका हुन्छन्, हामी जुन अवस्थामा हुन्छौं, त्यो अवस्थाका हरेक परिवर्तनलाई सूक्ष्म रुपमा अनुभव गर्न सकेको खण्डमा हामीले विगतमा साँच्ची सकारात्मक अनुभव गर्दाको अवस्थामा अहिले नै पुग्न सक्छौं ।

हाम्रो अवचेतन मष्तिष्कले घटना वास्तविक हो वा काल्पनिक हो भन्ने छुट्याउन सक्दैन । यसले त केवल जस्तो किसिमको अनुभव हामीमा चित्र, चलचित्र र भावनाको माध्यमबाट पैदा भएको हुन्छ, त्यसलाई नै सही मानेर अन्य त्यससँग मिल्दाजुल्दा परिस्थितिहरु समेत हामीलाई उपलब्ध गराइदिन्छ ।

यस्ता पलहरु पनि स्मरण गरौं

यो याद गरौं कि हाम्रो वास्तविक जीवनको कुनै दिन, जुन दिन जब हाम्रो मुड विहान देखि नै बिग्रिएको थियो, त्यस दिन हामीले गर्ने काममा एक–एक गरेर नकारात्मक परिस्थिति वा घटना नै हामीले महसुस गरेका थियौं । यस्तो पटक–पटक अनुभव भएको हुन सक्छ । आखिर यस्तो किन हुन्छ त ?

हामी बिहान ओछ्यानबाट सकारात्मक अवस्थामा उठ्न सक्दैनौं भने त्यो यसकारण हुन्छ कि अघिल्लो रात हामीले राम्रोसँग निद्रा लिन सकेका छैनौं । राम्रोसँग निद्रा नलाग्नुमा सुत्नु भन्दा पहिले मनमा हामीलाई असर पार्ने नकारात्मक विचार गहिरोसँग गडेको हुन सक्छ । अथवा हाम्रो सुत्ने समयतालिका र वातावरणमा बदलाव आएको पनि हुन सक्छ ।

यस पुस्तकमा राती सुत्नु भन्दा पहिले चमत्कारी पत्थर हातमा लिएर दिनभरका सकारात्मक घटनाहरुलाई गणना गर्न सल्लाह दिइएको छ । यसो गर्नुको उद्धेश्य भनेकै दिनभरका नकारात्मक अनुभवबाट छुटकारा पाई रातलाई आनन्ददायक बनाउनु हो । साथै हरेक बिहान सकारात्मक र आनन्ददायक चीजहरु गणना गर्नुको उद्धेश्य भनेको दिनलाई सकारात्मक बन्न सकोस् भनेर कृतज्ञता मार्फत सकारात्मक अनुभवमा पुग्नको लागि हो ।

आजको दिनलाई चामत्कारिक बनाउनको लागि कृतज्ञता

यदि हामी आजको दिनलाई चामत्कारिक बनाउन चाहन्छौं भने बिहान उठ्ने बित्तिकै आजको दिन चामत्कारिक हुने अनुभव गरौं । कल्पना गरौं । आजको दिन हामीले गर्नुपर्ने सबै कामहरुको सूची बनाउँ । ती कामहरु एक–एक गरेर पूरा भएको समेत कल्पना गरेर आफैंलाई र अदृष्य शक्तिलाई हृदय देखि धन्यवाद भाव सहित कृतज्ञता प्रकट गरौं ।

दैनिक रुपमा यदि हामीले यसरी हरेक दिन राम्रो हुने भाव आफूमा विकास गर्दै गयौं भने हाम्रा बाँकी दिनहमा पनि सोही अनुसारका घटना वा अनुभवहरु हामीलाई प्राप्ति हुँदै जानेछन् ।

आजको अभ्यास

१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।

२. त्यो सूचीमा कृतज्ञता प्रकट गर्नको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।

३. केही दिन पहिले देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।

४. आज हामी आफूलाई साँच्ची आवश्यक रहेका १० वस्तुहरु आफ्नो डायरीमा टिपोट गरौं । आँखा बन्द गरेर ती वस्तुहरु आफ्नो साथमा अहिले नै उपलब्ध रहेको महसुस काल्पनिक रुपमा गरौं ।

६. एक–एक गरेर ती १० वस्तुहरु हामीलाई उपलब्ध भएकोमा चित्तबुझ्दो कारण समेत जोडेर आफैंलाई भनौं कि धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।

७. बिहामी समयमा आज दिनभरको लागि गर्नुपर्ने आफ्ना हरेक कामहरुको योजना वा सूची बनाउँ । प्रत्येक कामको लागि धन्यवाद व्यक्त गरौं । केही समय आँखा बन्द गरेर कल्पना गरौं कि हामीले धन्यवाद भावको अनुभव आजको दिनको अन्त्यको समयमा गरिरहेका छौं । मानौं, आजको दिन पूर्ण सकारात्मक बनेको कारण हामी आफैं प्रति बधाईं ज्ञापन गरिरहेका छौं ।

८. साथै अब छिट्टै हाम्रो जीवनमा सकारात्मक उपलब्धि प्राप्ति हुने वा त्यस किसिमको समाचार प्राप्ति हुने भाव समेत महसुस गरौं ।

९. . राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।

  • कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij