कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । 
आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने जनाइएको छ । सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आज भएको छलफलमा पनि कुनै सहमति नभएपनि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ । चिकित्सकहरुले पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका हुन् । पुष २९ गते सरकार र संघबीच वार्ता हुँदा माग पूरा गर्ने भन्दै ७ हुँदे सहमति भएको थियो ।
तर सहमतिअनुसार माग पूरा नभएको भन्दै माघ २७ गतेदेखि सरकारी चिकित्सक संघले दोस्रो आन्दोलन सुरु गरेको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij