२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

उड्डयन क्षेत्र

चार महिनापछि सुकेटार विमानस्थलबाट पुनः हवाई सेवा सञ्चालन

चार महिनापछि सुकेटार विमानस्थलबाट पुनः हवाई सेवा सञ्चालन

ताप्लेजुङ, २४ चैतः करिब चार महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा आजबाट हवाई सेवा पुनः सञ्चालनमा आएको छ।

नेपाल वायुसेवा निगमका दुईवटा विमानमा देखिएको प्राविधिक समस्याका कारण मङ्सिरको अन्त्यदेखि विमानस्थलमा नियमित उडानहरू स्थगित भएका थिए। यसै क्रममा शुक्रबारका लागि तय गरिएको उडान तालिका पनि प्राविधिक कारणले आजका दिनमा सारिएको थियो।

आज काठमाडौँबाट पाँच यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी कुल छ जनालाई राजधानी काठमाडौँ पुर्‍याएको विमानस्थल प्रशासनले जानकारी दिएको छ।

उडान स्थगित हुँदा लामो समयसम्म आन्तरिक तथा बाह्य पर्यटकसहित सर्वसाधारणलाई हवाई सेवा लिन समस्या परेको थियो। यसअघि केही वर्ष अगाडिसम्म सीता एयर र तारा एयरले पर्यटकीय मौसममा नियमित उडान गर्दै आएका थिए, तर अहिले ती दुबै एयरलाइन्सले सेवा बन्द गरिसकेका छन्।

पुनः सुरु भएको हवाई सेवाले स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij