काठमाडौँ, २७ चैत – करिब ३९ दिनको अविराम मेहेनतपछि नेपाली चलचित्र ‘कुस्ती’ को छायाङ्कन कार्य सफलतापूर्वक सम्पन्न भएको छ। निर्देशक तथा निर्माता अनिल योञ्जनका अनुसार, चलचित्रको अधिकांश दृश्यहरू काठमाडौँ र वरपरका क्षेत्रहरूमा खिचिएका हुन्।
यो चलचित्र प्रेम र सम्बन्धका विभिन्न आयामहरू प्रस्तुत गर्नेछ। निर्देशक योञ्जनले फिल्ममा स्वभाव फरक भएको एक जोडीको प्रेम र संघर्षको कथा प्रस्तुत गरिएको बताउनुभयो। उहाँले थप्दै भन्नुभयो, “अन्तर्मनको द्वन्द्व, सँगै रहन नसक्ने तर छुट्टिन पनि नसक्ने अवस्थालाई चलचित्रमा जीवन्त बनाएका छौँ। हास्यरस मिसिएको भावनात्मक प्रेमकथालाई दर्शकले अवश्य मन पराउनेछन्।”
चलचित्रमा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।
चलचित्रको मूल कथा मिरुना मगरले लेखेकी हुन्। उहाँले चलचित्रको कथा सहरिया जीवनशैलीमा आधारित आधुनिक दम्पतीको यथार्थसँग मेल खाने विषयवस्तुमा केन्द्रित रहेको जानकारी दिनुभयो। “बाह्य रूपमा सामान्य देखिने तर भित्र गहिरो प्रभाव पार्ने पारिवारिक संघर्षलाई हामीले पर्दामा उतारेका छौँ,” उहाँले बताउनुभयो।
यो चलचित्र आगामी वर्ष, २०८२ सालको भदौ महिनामा सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
प्राविधिक पक्षमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहले संगीत सिर्जना गरेका छन् भने शिशिर खातीले नृत्य निर्देशनको जिम्मेवारी सम्हालेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij