झापा, ३ चैत – चर्च ब्वाइज युनाइटेडले पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आफ्नो नाम गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो।
उक्त जितसँगै चर्च ब्वाइजले नगद रु १० लाख, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद रु ५ लाख प्राप्त गरेको छ। खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका थिए। समिर तामाङलाई खेलको प्लेयर अफ द म्याच घोषित गर्दै नगद रु ११ हजार प्रदान गरियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि आयोजक टिमका खमिर गिल्सन कन्दङ्वाले जिते। उनलाई नगद रु ५१ हजार प्रदान गरियो। सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्र फुटबल क्लबका युसुफ मलिक घोषित भए। उनीहरूले जनही नगद रु २५ हजार र ट्रफी प्राप्त गरे।
चर्च ब्वाइजका सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए र नगद रु २१ हजार प्राप्त गरे। उत्कृष्ट गोलरक्षकको उपाधि चर्च ब्वाइजकै टिकेन्द्र थापाले जिते भने उत्कृष्ट डिफेन्डर आयोजक टिमका दिवस उराउ घोषित भए। दुवैले जनही नगद रु २१ हजार प्राप्त गरे।
उदियमान खेलाडीको पुरस्कार आयोजक टिमका पर्शु राईले प्राप्त गरे। उनलाई नगद रु १५ हजार प्रदान गरियो।
फागुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बल (एपिएफ एफसी), भारतको जर्जियन फुटबल क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स गरी आठ टिमले प्रतिस्पर्धा गरेका थिए।
समापन समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो। सम्मानित हुने खेलाडीहरूमा सङ्गीता राउत, सन्देश श्रेष्ठ, नरोत्तम गौतम, लुना प्रधान, लीला थापालगायत रहेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij