
ऊर्जाको मापन सम्बन्धी खोजकर्ता एवं E=MC2 का सूत्रधार वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्नुहुन्छ, ‘म दैनिक रुपमा सयौं पटक स्मरण गर्छु कि अहिले म भित्री र बाहिरी रुपमा जुन अवस्थामा छु, यस अवस्थामा रहनको लागि म माथि कैयौं जीवित एवं मृत व्यक्तिहरुको कृपा योगदान छ । मैले अन्य व्यक्तिबाट जे पाएँ र पाइरहेको छु, कम्तीमा मैले पनि त्यत्ति योगदान त गर्नैपर्छ ।’
हामीले बुझ्यौं त, कृतज्ञतामा कति धेरै शक्ति हुँदोरहेछ ? जसरी आफूलाई सदैव समाज र विश्व प्रति जिम्मेवार बनाएर अल्बर्ट आइन्स्टाइन आफूलाई प्रेरित अवस्थामा राखिराख्थे, त्यस्तो अभ्यास दैनिक जीवनको अंश बनाएर हामी आफूलाई एउटा महान उचाईमा किन अघी नबढाउने ?
आइन्स्टाइनले समयमा नै बुझे कि यो संसार ऊर्जा रुपान्तरणको नियमअनुसार चलेको छ । माथिको कथनले बताउँछ कि महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको खोजको उपलब्धि भन्नु नै निरन्तर कृतज्ञता र दायित्वबोध भावना रहेछ । उनले पत्ता लगाएको सूत्र E=MC2 ले ऊर्जाको भौतिक रुपान्तरणको मापन गर्दछ ।
पृष्ठभूमि
आफूमा ऊर्जाभाव जगाउनको लागि हामी सदैव सकारात्मक अवस्थामा रहिरहन सक्नुपर्छ । जब हामी भित्रै देखि सकारात्मक अवस्थामा हुन्छौं, त्यस बेला हामी प्रेरित, आशावादी अवस्थामा हुन्छौं । हामी अन्य व्यक्तिलाई खुसी र आनन्दित अवस्थामा रहेको देख्न चाहन्छौं । हामी आफू अन्य व्यक्तिलाई कसरी योगदान गर्न सक्छु भन्ने सोचाईमा हुन्छौं । यसले हामीमा थप आशा पैदा गर्दै लैजान्छ ।
यस धर्तीमा सकारात्मक र नकारात्मक दुवै ऊर्जाहरु छन् । हामी आफू जुन अवस्थामा छौं, हाम्रो अवस्था अनुसारकै अर्को ऊर्जाको फ्रिक्वेन्सीमा हामी स्वतः कनेक्टेड हुन्छौं । सकारात्मक ऊर्जाका तरङ्गहरु आकर्षित गर्नको लागि हामीले केही बढी मेहनत गर्नुपर्छ । जबकि नकारात्मक ऊर्जाका तरङ्गहरुमा हामी बिना मेहनत जोडिएका हुन्छौं । आफ्नो भावनात्मक अवस्थाले नै हामी कस्तो ऊर्जासँग जोडिँदैछौं भन्ने निर्धारित गर्दछ ।
एउटा प्रयोग
जसरी आइन्स्टाइनले आफूलाई प्रेरित गर्न दैनिक सयौं पटक आफ्ना अग्रजहरुको योगदानलाई स्मरण गरेर ऊर्जाशिल बनाउँथे, त्यसरी नै आजबाट हामी आफ्नो यात्राका प्रत्येक पटक कम्तीमा पनि शुरुवाती १०० पाइला आफूभित्रको दिव्य शक्तिप्रति आफूलाई जीवित बनाएकोमा कृतज्ञता प्रकट गरेर चालौं । यसको लागि प्रत्येक पाइला सँगै धन्यवाद व्यक्त गरौं ।
धन्यवाद भावमा पाइला कार्यालय जाने समयमा वा लामो यात्रामा निस्कने बेलामा नै चाल्नुपर्छ भन्ने जरुरी छैन । हामी आफ्नै घरमा रहँदा, पसल जाँदा लगायत हरेक समय यो अभ्यास गर्न सक्छौं । साथै पाइला ठ्याक्कै १०० नै हुनुपर्छ भन्ने जरुरी हुँदैन । आफ्नो सुविधा अनुसार यसलाई जति धेरै पनि बढाउन सकिन्छ ।
प्रत्येक पाइलामा किन व्यक्त गर्ने धन्यवाद भाव
हामी खुसी र उत्साहित रहनको लागि हामी भित्र देखि नै प्रयत्न गर्नुपर्ने जरुरत रहन्छ । कृतज्ञता भाव अनुभव गर्दा हामी नकारात्मक स्थितिमा रहनै सक्दैनौं । हाम्रो मानसिक अवस्था एउटा विद्युतीय स्वीच जस्तै हो । कि त यो अन रहन्छ कि त अफ रहन्छ । एकैपटकमा अन र अफ हुन सक्दैन । त्यसरी नै हाम्रो मष्तिष्कले पनि एकैपटकमा सकारात्मक र नकारात्मक सोच्न सक्दैन । नकारात्मक स्थितिबाट बाहिर आउनको लागि हाम्रो अवस्थालाई भित्रैबाट नै बदल्न सक्नुपर्छ । यसको लागि सकारात्मक प्रयत्न एक मात्रै विकल्प हो ।
यी अभ्यास पनि गर्न सक्छौं
हामीले लिने प्रत्येक स्वास, मुटुको धड्कन, प्रत्येक सेकेण्ड समय लगायतलाई स्मरण गरेर पनि हामी यसरी कृतज्ञता अभ्यास बढाउन सक्छौं । यस किसिमको अभ्यासलाई ‘कन्सियस लिभिङ प्राक्टिस’ समेत भन्न सकिन्छ । यस्तो अभ्यास बढ्दै जाँदा हामी आफूमा आफैंले चामत्कारिक सकारात्मक परिवर्तन महसुस गर्दै जान सक्छौं ।
पूर्वीय दर्शनमा कृतज्ञता अभ्यास
पूर्वीय संस्कारमा हामी हाम्रो वरिपरी रहेका सम्भव भएसम्म हरेक व्यक्ति, वस्तु, घटना र परिस्थिति प्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ । पञ्च तत्व (जल, तेज, वायु, आकाश, पृथ्वी), पितापुर्खाहरु, सम्पूर्ण जीवजन्तु, सम्पूर्ण दृष्य अदृष्य शक्ति, परिवारजन, आफन्त, रुखवृक्ष, औषधी, खाना, कीटपतङ्ग जे–जति चीजहरु छन्, ती सबै प्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ । हरेक दिन आफूबाट जानअनजानमा काम गर्ने क्रममा भएका गल्ती कमजोरी प्रति आफ्नै आत्मा साक्षी राखेर क्षमा माग्ने, आफूले ग्रहण गर्ने धन र खानाको शुद्धिकरणको लागि केही अंश अवश्य दान गर्नुपर्ने, हवन र धूपदीप गरेर वरपरका नकारात्मक ऊर्जाहरुबाट सुरक्षित रहन सकिने, यात्रामा निस्कनु भन्दा पहिले कलश स्थापना गरी त्यसलाई आफ्नो यात्रा सुखद बनोस् भन्ने भावना सहित अन्तिम गञ्तव्य सम्म सकारात्मक सन्देश प्रवाह गर्ने, निरन्तर विश्व शान्तिको कामना गर्ने, मन्त्रोच्चारण, योग, ध्यान, प्रणायाम, आसन, मुद्रा, पाठ लगायतको माध्यमबाट ब्रह्माण्डीय शक्तिसँग एकाकार हुने लगायतका थुप्रै विधिहरु छन् । जुन अहिलेको क्वान्टम वैज्ञानिक खोजबाट समेत सही प्रमाणित हुँदै गएका छन् ।
आजको अभ्यास
१। आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।
२। त्यो सूचीमा कृतज्ञता प्रकट गर्नको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३। आज पाइला चाल्ने क्रममा कम्तीमा १ सय पाईलाहरु सचेत रुपमा धन्यवाद भाव सहित चालौं ।
४। राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका
दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij