काठमाडाैं । ग्लोकलद्वारा आयोजित गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ।
देशभरिका किशोर किशोरीहरूबाट कुल ७०९ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको आयोजक संस्थाले जनाएको छ। आयोजकका अनुसार किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो दशौं संस्करण हो।
हरेक वर्षझैँ यस वर्षपनि सेप्टेम्बर १, २०२४ मा सोल्टी होटेलमा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ। ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा कपिलवस्तुका आशिष पन्थी (वर्ष १९) प्राविधिक शिक्षक, रुकुमका घनश्याम विश्वकर्मा (१९) बालअधिकारकर्मी, स्याङ्जाका निश्चल भट्टराई (१६) शैक्षिक कार्यकर्ता, झापाकी पूर्णिमा तिम्सिना (१७) बाल अधिकार कार्यकर्ता, कास्कीकी सजनी शर्मा(१९) सामाजिक कार्यकर्ता, र पर्साका श्रीजय सुवेदी (१८) प्राविधिक उत्साही रहेका छन्।
उत्कृष्ट २० किशोरकिशोरीहरूबाट उनीहरुको कामको सुरुवात, दिगोपन र प्रभावको आधारमा अन्तिम ६ प्रतिस्पर्धीकोे छनोट निर्णायक टोलीद्वारा भएको आयोजकले जनाएको छ।
यस वर्षको निर्णायक टोलीमा एसीई इन्टिच्युट अफ म्यानेजमेन्टका डाइरेक्टर आशिष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुयफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा गु्रप प्रा लिमिटेडकी डाइरेक्टर सीमा गोल्छा तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो छन्।
एसएमएस भोटिङ राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१, ५ बजेसम्म खुल्ला रहनेछ। प्रतिस्पर्धीहरूलाई भोट गर्न, आफ्नो मनपर्ने फाइनलिस्टको भोटिङ कोड ३५००१ मा एसएमएस गर्न सकिनेछ।
फाइनलिस्टहरूका लागि भोटिङ कोडहरू र एसएमएस गर्ने विधि यसप्रकार रहेका छन्।
आशिष पन्थी– GTH<space>AP
घनश्याम विश्वकर्मा– GTH<space>GB
निश्चल भट्टराई– GTH<space>NB
पूर्णिमा तिम्सिना– GTH<space>PT
सजनी शर्मा– GTH<space>SS
श्रीजय सुवेदी– GTH<space>SH
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij