
नेपालको आर्थिक विकास हाम्रा छिमेकी मुलुकहरुको तुलनामा अझै पनि पछाडि नै छ । कुल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आय न्यून रहेको नेपालको लागि पछिल्ला दिनहरुमा हाम्रो व्यापार घाटा अझ बढ्दै गएको छ । प्राकृतिक स्रोतसाधन र मानवीय संसाधनले सम्पन्न नेपालले राजनीतिक व्यवस्था अन्तरगत विश्वकै उत्कृष्ट शासन व्यवस्था मानिने संघीय प्रणाली आत्मसात् गरेको छ । लामो राजनीतिक आन्दोलन पश्चात् प्राप्त भएको संघीयता र गणतन्त्र पश्चात् मुलुकमा राजनीतिक आन्दोलन समाप्त भएको र अब आर्थिक वृद्धि तर्फ केन्द्रित हुनुपर्नेमा नेपालका सबै राजनीतिक दलहरु सहमत छन् । यद्यपि जनचाहना बमोजिमको संविधान प्राप्त भएको र आफ्नो ठाउँको विकासको जिम्मा स्थानीय निकाय तथा प्रदेशलाई सुम्पिएको अवस्थामा पनि विकासपथमा भने हामीले कदम चाल्न सकेका छैनौं ।
समुन्नत अर्थतन्त्र हाम्रो चाहना हो । लामो समय देखि हामी यसै चाहना पूरा
गर्ने उद्देश्यले व्यवस्था परिवर्तनमा केन्द्रित रह्यौं । व्यवस्था परिवर्तन त भयो तैपनि जनताले महसुस गर्न सक्ने गरी अझै पनि विकासे कार्यक्रमहरु सार्थक हुन सकेका छैनन् । जसले गर्दा हामी हाम्रा क्षमतावान् जनशक्ति बाहिर निर्यात गरेर उनीहरुले कमाएको रकम विप्रेषणको रुपमा नेपालमा भित्र्याई हाम्रा दैनिक आवश्यकता पूरा गर्न बाध्य छौं । हाम्रा उत्पादनमूलक जमीनहरु बाँझा छन् । जसले गर्दा हामी आयातमा निर्भर हुने दर वृद्धि हुँदै गएको छ । यस्तो अवस्थामा हामीले कसरी हाम्रो देशलाई सही अर्थमा समृद्ध बनाउन सक्छौं भन्ने विषय सबै सरोकारवालाहरुको लागि चासोको विषय बनेको छ ।
विकासको लागि आवश्यक पूर्वाधारहरु
सही अर्थमा मुलुकलाई विकसित बनाउनको लागि सबै नागरिकहरुको चेतनास्तर अभिवृद्धि हुनु जरुरी रहन्छ । जुन राम्रो शिक्षादीक्षा, स्वस्थ शरीर, पोसिलो खानपान र राम्रो व्यावसायिक एवं सामाजिक वातावरणबाट प्राप्त हुन सक्छ । यद्यपि अहिले सम्म नेपालमा शिक्षा, स्वास्थ्य र व्यावसायिक वातावरणको अवस्था निकै कमजोर छ ।
क) शिक्षा
कुनै पनि मुलुकको विकासको लागि शिक्षा र सडकको भूमिका निकै महत्वपूर्ण मानिन्छ । यद्यपि अहिले सम्म नेपालका ग्रामीण वस्तीहरुमा उच्च शिक्षाको लागि स्तरीय शैक्षिक संस्थाहरु सञ्चालनमा आउन सकेका छैनन् । जसले गर्दा ग्रामीण भेगका युवाहरु अध्ययनको लागि काठमाडौं लगायतका शहरी क्षेत्रमा भित्रिन बाध्य छन् । यसले काठमाडौं लगायत ठूला शहरमा जनसङ्ख्याको चाप बढाएको छ । साथै कृषियोग्य उर्वर भूमिलाई घनाबस्तीका शहरमा बदलिदिएको छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा अझै शहरी क्षेत्रका युवाहरुलाई ग्रामीण भेगमा फर्काउन सकिएको छैन । यसो हुनुमा शिक्षाको असहज पहुँचलाई एक मुख्य कारक तत्वको रुपमा लिन सकिन्छ ।
रोजगारीका भरपर्दा माध्यम नेपालमा उपलब्ध नहुँदा कामको लागि जीवनको उर्वर समय बाह्य देशको विकासमा योगदान गर्नमा बिताउनुपर्ने अवस्था सँगै ग्रामीण भेगबाट बालबच्चा पढाउन शहर छिर्ने महिलाहरुको कारण ग्रामीण बस्ती अझ शून्य जस्तै बन्न पुगेको छ । जसले गर्दा मुलुकमा स्थानीय स्रोतसाधनमा आधारित रही विगतमा हुँदै आएको कृषिको उत्पादकत्व अझ घटेको छ ।
यस्तो अवस्थामा ग्रामीण बस्तीहरुमा रोजगारमूलक स्तरीय प्राविधिक शिक्षाको पहुँच विस्तार हुन सक्ने हो भने आगामी दिनमा शहरी क्षेत्रमा भित्रिने युवाहरुको ठूलो सङ्ख्या ग्रामीण भेगमा नै रोक्न सकिन्छ । यसबाट हाम्रो उत्पादकत्व वृद्धि हुन सहयोग पुग्नेमा आशावादी हुन सकिन्छ ।
ख) सडक
शिक्षा सँगै ग्रामीण क्षेत्रको विकासको लागि सडक सञ्जाल र यातायात पनि अर्को महत्वपूर्ण तत्व मानिन्छ । सबै ग्रामीण भेगका युवाहरुलाई व्यावसायिक तालिम उपलब्ध गराएर उनीहरुलाई आफ्नो सीपमा आधारित घरेलु तथा कृषिजन्य सामानहरु उत्पादनमा प्रेरित गरी उनीहरुको उत्पादनलाई सहज रुपमा बजारमा बिक्री गर्ने व्यवस्था गर्नसके ग्रामीण विकासले फड्को मार्न सक्छ । यसको लागि स्तरीय सडक सञ्जाल महत्वपूर्ण रहन्छ ।
अहिले सम्म ग्रामीण भू–भागमा ठूलो क्षमतामा आधुनिक उपकरणबाट कृषिजन्य वस्तुहरुमा आधारित प्रशोधन तथा प्याकेजिङ उद्योग सञ्चालन हुन नसक्नुमा नजिक राम्रो बजार प्रबन्ध हुन नसक्नु, उद्योगको लागि प्रयाप्त जनशक्ति उपलब्ध नहुनु र यातायातको लागि सबैभन्दा महत्वपूर्ण स्तरीय सडक पूर्वाधारको पहुँच विस्तार हुन नसक्नु नै हो ।
अबको विकल्प
नेपाल कृषिप्रधान देशको रुपमा लामो समय देखि रहँदै आएको छ । यद्यपि अहिले भने नेपालमा कृषिजन्य सामानहरुको उत्पादन अत्यन्तै न्यून छ, जुन घट्दो क्रममा छ । नेपालका ग्रामीण क्षेत्रका उर्वर भूमिहरु धमाधम बाँझो बन्दै गएका छन् । नेपालका युवाहरु रोजगारीको लागि विदेशिइरहेका छन् । रोजगारीको लागि विदेशिने युवाहरुलाई ग्रामीण भेगमा नै रहेर आम्दानी वृद्धि हुने कार्यहरुमा के–कसरी संलग्न गराउन सकिन्छ भन्ने सम्बन्धमा आवश्यक अध्ययन गरी औचित्यताको आधारमा त्यस क्षेत्रका युवालाई लक्षित गरी विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरु सञ्चालन गर्न सक्ने हो भने यसले हाम्रो उत्पादकत्व वृद्धि भई स्वाबलम्बन अर्थतन्त्रको दिशामा हामी अघी बढ्न सक्छौं । यस कुरामा सबै सरोकारवालाहरुको ध्यान केन्द्रित हुनुपर्छ ।
साथै नेपाल विकासको योजना बमोजिम लागु गरिएको संघीयताको मर्म बमोजिम हुने गरी जनप्रतिनिधिहरुले आफूलाई जिम्मेवार बनाई विकास योजनाहरु अघी सार्नु जरुरी देखिएको छ । मुलुकमा सुशासन र पारदर्शिता एवं दिगो विकास योजना बमोजिम हुने गरी ग्रामीण विकासको लागि राज्य पक्षबाट आवश्यक सेवा, परामर्श, सहुलियत, आधुनिक उपकरण तथा क्षमता विकासमा जोड दिँदै युवा परिचालन गर्न सकेको खण्डमा मुलुकको ग्रामीण विकासले छोटो अवधिमा नै राम्रो फड्को मार्न सक्छ ।
अहिले देखिएका विकासनिर्माणका मुख्य समस्याः
आफ्नो क्षेत्रको विकास गर्ने र नागरिकहरुलाई राम्रो सेवा प्रवाह गर्ने घोषणा सहित निर्वाचित जनप्रतिनिधिहरुले आफू निर्वाचित भइसकेपछि आफ्नो मुख्य कार्यभारलाई बिर्सिएर कुनै बिना अध्ययन नै आफ्नै मनोखुसीमा योजना अघी सार्ने र हरेक योजना अघी बढाउँदा त्यसको केही लाभ कमिसनको रुपमा आफ्नो पक्षमा राख्न चाहने आकाङ्क्षा बढ्दै जानुले पनि हाम्रो विकास योजना प्रभावित हुँदै आएका छन् । साथै योजना निर्माण प्रक्रिया र बजेटको कार्यान्वयन सम्बन्धमा जनताहरु सुसूचित हुन नसक्दा सुशासन र पारदर्शिताको अभाव देखिएको छ । यसलाई व्यवस्थित बनाएर हाम्रो अवस्थामा सुधार ल्याउन सकिन्छ ।
मेराे गृहजिल्ला गोरखाको विकास अवस्था
गोरखा जिल्ला नेपालको एक ऐतिहासिक पहिचान जोडिएको जिल्ला हो । नेपाललाई विश्वबजारमा चिनिने आधार अहिले पनि गोरखा नै रहँदै आएको छ । पृथ्वीनारायण शाहको जन्मस्थल समेत रहेको गोरखामा विकास योजनाहरु अझै पनि प्रभावकारी बन्न सकेका छैनन् । लामो समय सम्म गोरखाको नेतृत्व नेपाली काङ्ग्रेसले गरेपनि विकास कार्य प्राथमिकतामा खासै सुधार आउन सकेन । डा. बाबुराम भट्टराई अर्थमन्त्री भइसकेपछि भने गोरखाको विकासमा केही कामहरु अघी बढे । हालै मात्र गोरखा सदरमुकाम भन्दा बाहिरका ग्रामीण बस्तीको सडक कालोपत्रे हुने प्रक्रिया अघी बढेको छ ।

गोरखामा विकास सम्भावना
गोरखा बुढीगण्डकी जलाशययुक्त आयोजना, गोरखकाली रवड उद्योग लगायत केही राम्रा विकास सम्भावना बोकेको जिल्ला हो । यद्यपि गोरखकाली रवड उद्योग अहिले पनि बन्द छ । हाल बुढीगण्डकी आयोजना अघी बढ्ने क्रममा छ । जुन करिब १२ सय मेगावाट क्षमताको हो । यो आयोजना नेपाली लगानीमा नै निर्माण गर्नु जरुरी छ । जसबाट स्थानीय रोजगारी सृजना, आर्थिक विकास र उद्यमशिलता जागरणमा ठूलो योगदान पुग्न सक्छ ।
जसरी पछिल्ला दिनहरुमा नेपालको शेयर बजारमा साधारण मानिसहरुको समेत निकै आकर्षण बढेको पाउन सकिन्छ । दैनिक कारोबार नै करिब २० अर्बको नजिक पुगिसकेको र कुनै कम्पनीले आइपीओ जारी गरेर केही करोड रकम माग गर्दा नेपाली जनताहरुबाट नै अर्बौं रकम बराबरको प्रस्ताव आउनुले अहिले नेपालीहरु पनि ठूला योजना निर्माणको लागि सक्षम हुँदै गएको कुरा पुष्टि गर्छ । यसलाई हेर्दा पनि अबका दिनमा नेपालमा निर्माण हुने बुढीगण्डकी जस्ता ठूलो क्षमताका आयोजनाहरु निर्माण गर्न नेपाली जनताहरुबाट नै ठूलो रकम जुटाउन सकिने अवस्था सिर्जना हुनेमा आशावादी हुन सकिन्छ । यसरी स्वदेशमा नै हाम्रो अर्थतन्त्रलाई बलियो बनाई आर्थिक सबलीकरणमा ठूलो सहयोग पुर्याउन सक्छ ।
(गोरखाका स्थायी बासिन्दा पराजुली व्यावसायिक क्षेत्र, राजनीति, उपभोक्ता जागरण एवं सामाजिक गतिविधिहरुमा संलग्न रहँदै आउनुभएको छ । अहिलेको कठिन परिस्थितिमा पराजुली आफ्नो गृह जिल्ला गोरखा सहित विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण तथा राहत तथा विभिन्न सामाजिक गतिविधिहरुमा क्रियाशिल रहँदै आउनुभएको छ । उहाँ जनता समाजवादी पार्टी गोरखा जिल्लाका उपाध्यक्ष समेत हुनुहुन्छ ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij