
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
ग्रहण भनेको ग्राह्य र ग्राहक बीचको सम्बन्ध हो। सामान्य अर्थमा पृथ्वीको छायाँभित्र चन्द्रमा पसेको अवस्थामा चन्द्रग्रहण हुन्छ भने चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दा सूर्यग्रहण लाग्ने गर्दछ । चन्द्र ग्रहण पूर्णिमा तिथि र सूर्यग्रहण औंसी तिथिका दिन मात्र लाग्ने सम्भावना रहन्छ । वेदले पनि ग्रहणको बारेमा विशेष उल्लेख गरेको छ।
राहुलाइ ग्रहणको कारक मानिएको छ। राहु भनेको’ तम’ अर्थात अन्धकार हो। ग्रहण लागेको बेला पनि अन्धकार हुने गर्दछ।(ऋग्वेद ५/४०/५९)
सूर्य र मनुष्यका बिचमा विशेष सम्बन्ध रहेको छ।सूर्य ग्रहण एक नितान्त खगोलिय घटना भएपनि तीव्रप्रभावकारी काल खण्ड हुन्छ जस्को प्रभाव पुरै सृष्टिमा पर्दछ।
सूर्य ग्रहण तीन प्रकारका हुन्छन्।पूर्ण,खण्डग्रास र वलय सूर्यग्रहण।
जब चन्द्रबिम्बले सूर्यको सम्पूर्ण भाग छेक्छ तब पूर्ण सूर्यग्रहण हुन्छ।चन्द्रमा नीच अवस्थामा रहेको बेला यस्तो स्थिति उत्पन्न हुन सक्छ।यसैगरी सूर्यको केहिभाग मात्र ग्रसित भएको अवस्थामा खण्डग्रास सूर्यग्रहण देखिन्छ।
चन्द्रबिम्बले सूर्यबिम्बलाई पूर्ण ढाक्दा सूर्यको तेजिलो प्रकाशले चन्द्रमाको कालो धब्बा वरिपरि सेतो गोलाकृति देखिन्छ जसलाई वलय सूर्य ग्रहण भनिन्छ।
ग्रहण लागेको बारले पनि ठुलो प्रभाव पार्दछ। आइतबारको सूर्य ग्रहण र सोमबारको चन्द्र ग्रहणले चूडामणि योग हुन्छ । यस योगमा दान मात्र गर्नाले पनि साधारण दानको कोटि गुणा फल हुन्छ।
ग्रहण लागेको समयलाई विद्ध मानिन्छ। त्यसैले सुतक वार्नुपर्ने हुन्छ । धर्मसिन्धु प्रथम परिछेद पृ.२७ अनुसार सूर्य ग्रहण लाग्नु भन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्छ भनिएको छ।भोजन सामाग्री र पानीमा तिलकुस राख्दा सूर्यबाट आएका विकिरणले कम असर गर्दछन्।
ग्रामीण परिवेशमा नेपाली कैली बाच्छीको गोवर पनि टाँस्ने चलन छ । बैज्ञानिक रुपमा पनि यी चिजको उपयोगीता पुष्टि पनि भइसकेको छ । यसैले वालवृद्ध र आतुर बाहेक अरुलाई शास्त्रले भोजन निषेध गरेको छ।
धर्मसिन्धु प्रथम परिच्छेद पृष्ट २७ यसो भन्छ- ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृङ्गार गर्न, शौच, वधका साथै अरुलाई कष्ट हुने कार्य वर्जित हुन्छन् । यसैगरी अर्को श्लोक जुन हाल हाम्रो पात्रोमा पनि दिइएको हुन्छ। जसको अर्थ यस्तो रहेको छ।
ग्रहण लागेको अवस्थामा सुते रोग लाग्न सक्छ, शौचादी कार्य गर्नाले दरिद्रता हुन्छ, दिशा बस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि समागम गर्नाले अर्को जन्ममा सुंगुरको योनी प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृङ्गार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ। कसैलाई बन्धनमा राख्नाले सर्पको योनी प्राप्त हुन्छ भने काटमार आदि गर्दा नरकको यातना भोग गर्नुपर्छ भन्ने हुन्छ।
ग्रहण कसकाे लागि फापअफाप भन्ने हाम्रो चलन छ। त्यसको लागि यसरी गणना गरेर आफैँले थाहा पाउन सकिन्छ। कोही मानिसको जन्म राशिबाट सूर्य वा चन्द्र ग्रहणको दिनको राशि ३, ६, १०, ११, ५ औं स्थानमा पर्दा सुख प्राप्ति हुन्छ।त्यस्तै २, ७ र ९ औं स्थानमा पर्दा मध्यम फल र १, ४, ८ र १२औं स्थानमा पर्दा अनिष्ट हुन्छ। अनिष्ट फल हुने राशिहरुले यो श्लोक पढि जल अर्पण गर्ने।अनिष्ट फल कम हुनेछ ।सुख प्राप्ति फल हुने राशिवालाले दीक्षा मन्त्र लिएको भए सो मन्त्रको जप गरि लक्ष्य प्राप्ति गर्न सक्नेछन्।
आब्रम्हस्तम्ब पर्यान्तं यक्तिञ्चित चराचरम् ।।
मया दत्तेन तोयेन तप्ति मेवामी गच्छतु।।
दीक्षा नलिएकाले योग्य गुरु ठहर गरी दीक्षा लिएर लक्ष्य प्राप्ति गर्न सक्नेछन्।लक्ष्यप्राप्ति चन्द्र ग्रहण भन्दा सूर्य ग्रहणमा दश गुणा बढी हुन्छ। ग्रहणमा श्राद्ध गर्दा तीर्थ श्राद्ध बराबर फल हुन्छ। तर श्राद्धको भोजन भने निषेध गरिएको छ।
निर्णयसिन्धु पृष्ठ ४२ अनुसार तुलादान पनि ग्रहणमा शुभ मानिएको छ।

अवतारहरुको जीवनमा पनि ग्रहणले बिशेष महत्त्व राखेको प्रसंग देख्न पाइन्छ।भगवान रामले आफ्नो गुरुसँग दीक्षा ग्रहणकै समयमा प्राप्त गर्नु भएको थियो ।यसैप्रकार भगवान कृष्णले सान्दीपन ऋषिसँग दीक्षा लिएको समयमा पनि ग्रहणकाल चलिरहेको थियो।
यसपालिको सूर्य ग्रहण आषाढ ७ गते आइतवार रहेको छ। जुन खण्डग्रास ग्रहण हो। ग्रहणको सुतक आषाढ ६ गते राति १०/५० बजेदेखि लाग्नेछ भने ग्रहणको स्पर्श ७ गते बिहान १०/५० बजे हुनेछ ।
मध्यान्न १२/३८ बजे र मोक्ष (समाप्त) २/२३ बजे हुनेछ । सर्व पर्वको उपभोग समय ३घण्टा ३३ मिनेट रहेको छ ।
यसरी हेर्दा ग्रहण आफैँमा नराम्रो नभएर प्रयोग गर्न जानेमा एउटा स्वर्णिम मौका पनि हुन सक्छ। जो कोहिले उपयोग गर्न सक्छ।
सूर्य नारायण कुनै धर्म पन्थ वा सम्प्रदाय मात्रको लागि नउदाउने र यसमा आउने खगोलिय परिवर्तनले सबैलाई असर गर्ने हुँदा सबैले पूर्व सतर्कता अपनाउन जरुरी छ।