राष्ट्र बैंकले सबै स्थानीय तहमा अनिवार्य बैंक खोल्नुपर्ने व्यवस्था गरे पनि जिल्लाका कतिपय गाउँपालिकामा अहिलेसम्म बैंक शाखाको पहुँच पुगेको छैन । सोहीकारण स्थानीयले सहज रूपमा बैंकिङ सेवा उपभोग गर्न पाइरहेका छैनन् ।

वित्तीय संस्था सदरमुकाम र बजार क्षेत्रमा केन्द्रित
अधिकांश कारोबार बैंकमार्फत गर्नुपर्ने भएका कारण सर्वसाधारण, कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ । सदरमुकामलगायत केही बजार क्षेत्रमा निजी र सरकारी बैंकले सेवा दिए पनि ग्रामीण क्षेत्रका स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । पछिल्लो समय स्थानीय तहको निर्वाचनलगत्तै केही निजी बैंकले पायक पर्ने स्थानमा बैंकका शाखा खोल्ने पहल थाले पनि अहिलेसम्म सेवा दिन सकेका छैनन् ।
उपभोक्ता समिति हैरान
धुर्कोट गाउँपालिका जैसिथोककी गीता केसी स्थानीय मोटरबाटो उपभोक्ता समितिका सचिव हुन् । वडाभरको शाखा मोटरबाटो खन्ने जिम्मा पाएको समितिको खाता खोल्न भन्दै तम्घासस्थित राष्ट्रिय वाणिज्य बैंकमा आइन् । गाउँपालिकाले उपभोक्ता समितिको अध्यक्ष वा सचिवमध्ये एकजना महिला अनिवार्य गरेकाले आफू सचिव भएको उनले बताइन् ।
‘गाउँमा बैंक छैनन्, एकपटक खाता खोल्न र अर्कोपटक सम्झौता गरेर रकम झिक्न तम्घास नै आउँदा हैरान भइन्छ,’ उनले भनिन्, ‘के गाउँगाउँमा सिंहदरबार भन्ने ।’
इस्मा गाउँपालिका ५ रजस्थलका बाबुराम अर्याल पनि छोराले विदेशबाट पैसा पठाए लिन तम्घास नै आउनुपर्ने बाध्यतामा छन् । ‘छोराले विदेशबाट पठाएको रकम लिन अझै पनि तम्घास आउनुको विकल्प छैन,’ अर्यालले भने, ‘गाउँमै बैंकका शाखा आउँछन् भन्ने हल्ला मात्रै रहछ ।’
मदाने गाउँपालिका ४ ठूलाचौर अर्खबाङकी कमला अर्यालले पनि बैंकिङ कारोबार गर्न तम्घास नै आउने बताइन् । ‘स्थानीय तहको निर्वाचनपछि गाउँमै बैंक पुग्छ भन्दा खुसी थियौँ,’ उनले भनिन्, ‘तर, अहिलेसम्म गाउँपालिकामा कुनै बैंकले शाखा विस्तार गरेका छैनन् ।’
योजनाको सिफारिस माग्न वडा कार्यालय, सम्झौता गर्न गाउँपालिका र खाता खोल्न सदरमुकाम पुग्नुपर्ने बाध्यताले थुप्रै उपभोक्ता समितिलाई समस्या परेको अर्यालले बताइन् ।
जनप्रतिनिधि चिन्तित
स्थानीय तहमा बैंक नजानुले उपभोक्ता र उपभोक्ता समितिलाई मात्र होइन, निर्वाचित जनप्रतिनिधिलाई समेत अप्ठ्यारो परेको छ । ‘गाउँमा बैंक तथा वित्तीय संस्था छैनन्, योजनाको सबै काम गर्न तम्घास धाउनुपर्छ,’ धुर्कोट गाउँपालिका–२ पिपलधाराका वडाध्यक्ष नवीन जिसीले भने, ‘बैंक आए धेरै सजिलो हुने थियो ।’
इस्मा गाउँपालिका–४ का अध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार तम्घास धाउनुपर्ने बाध्यतामा समिति गठनमा समेत समस्या भइरहेको छ । ‘३० हजारका लागि तीनपटक सदरमुकाम धाउनुपर्छ, काम १० हजारको पनि हुँदैन,’ उनले भने, ‘आउजाउको समस्याले समितिमा कोही बस्नै मान्दैनन् ।’ इस्मा गाउँपालिको एउटा वडामा ३३ वटा ३० हजारका माइक्रो प्रोजेक्टअन्तर्गतका योजना भएकाले उपभोक्ता समिति गठन गर्न अझै मुस्किल परेको उनले बताए ।
बैँकका लागि पूर्वाधार र सुरक्षा प्रमुख चुनौती
जिल्लाका विभिन्न स्थानमा रहेका बैंकले भने केन्द्रको आदेश आएको खण्डमा गाउँमा जान तयार भएको बताएका छन् । स्थानीय तहमा बैंक लैजाँदा कारोबार वृद्धि हुने र उपभोक्तालाई पनि सहज हुने राष्ट्रिय वाणिज्य बैंक तम्घास शाखाका प्रमुख हरि पाण्डेले जानकारी दिए ।
उनले भने, ‘स्थानीय तहमा शाखा विस्तार गर्दा कारोबारमा वृद्धि र उपभोक्तालाई सहज दुवै हुन्छ । केन्द्रको निर्देशन आए हामी गाउँ पुग्न तयार छौँ ।’
गाउँपालिकामा अझैसम्म पूर्वाधारको विकास नभएको, बैंक कार्यालय सञ्चालन गर्ने भवन नभएको, यातायातको सहज पहुँच नहुनु, आवश्यक सुरक्षा व्यवस्था नहुनु विद्युत्, इन्टरनेटको भरपर्दो व्यवस्था नहुँदासम्म गाउँपालिकाका केन्द्रमा कारोबार गर्न अप्ठ्यारो हुने एनएमबी बैंक गुल्मीका शाखा प्रमुख भुवन पाण्डेयले बताए ।
बैंक शाखा खोल्न छलफल र प्रयत्न गरे पनि धेरैले पूर्वाधार र असुरक्षालाई कारण देखाएर आउन नमानेको इस्मा गाउँप्रमुख लक्ष्मण विष्टले बताए । ‘गाउँपालिकामा पनि बैंक बस्नलायक एउटा राम्रो घर छैन र भूगोल पनि विकट छ,’ उनले भने, ‘तर पनि हामी छिटो लैजाने कोसिस गरिरहेका छाैँ।’
त्यस्तै धुर्कोट गाउँप्रमुख भूपाल पोखरेलले पनि गाउँपालिकामा बैंक बस्ने घर नहुँदा समस्या परेको बताए ।
गुल्मीमा एक दर्जन बैंक
जिल्लामा हाल एक दर्जन बैंकका शाखा पुगिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक, एसबिआई, शाइन रेसुङा डेभलपमेन्ट, जनता बैंक, गरिमा विकास बैंक, फेवा विकास बैंक, एनएमबी बैंक, गण्डकी विकास बैँक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू ग्लोबल आइएमईलगायतका बैंक शाखाले कारोबार गरिरहेका छन् ।
अहिले सबैजसो सरकारी काम सदरमुकाम तम्घासमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट हुने गरेको छ । विभिन्न बैंकका शाखा केही स्थानीय तहमा भए पनि तिनीहरूले सरकारी कामको मान्यता पाएका छैनन् । जसले गर्दा जिल्लाका सबैजसो उपभोक्ताले सरकारी बैंकिङ काम गर्न तम्घास नै धाउनुपर्ने बाध्यता छ ।
सदरमुकाम धाउनुपर्ने बाध्यता
गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानय तह छन् । रेसुंगा नगरपालिका आफैँमा सदरमुकाम हो । त्यसैले यहाँ झन्डै एक दर्जन बैंकका शाखा छन् । रेसुंगा नगरपालिकाबाहेक एक नगरपालिका र १० गाउँपालिकामा बैंक तथा वित्तीय संस्था नहुँदा र भौगोलिक जटिलताका कारण स्थानीयलाई सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
मुसिकोट नगरपालिकाको वामीटक्सारमा ग्लोबल आइएमई र साइन रेसुंगा विकास बैंकका शाखा छन् । तर, पौदी अमराईलगायतका स्थानीय बैंकिङ कारोबार गर्न तम्घास नै आउने गर्दछन् । मालिका गाउँपालिका ८ को मरभुङ सिमलटारीमा पनि शाइन रेसुंगा विकास बैंकको शाखा छ । सबै वडाका नागरिकका लागि उपयोगी हुन सकेको छैन ।
अर्जै, घमिर, अर्खबाङ, नेटा, दर्लिङ, ह्वाङ्दीलगायत स्थानका मानिस बैंकिङ कारोबार गर्न सदरमुकामै आउने गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । रुटको हिसाबले सिमलटारी पुग्नुभन्दा गाडीमा सदरमुकाम पुग्न छिटो हुने भएकाले सबैका लागि बैंक उपयोगी नभएको उनको भनाइ छ । याे खबर इ-नयाँपत्रिकामा प्रकाशित छ ।