अहिले बजारमा आएका अधिकांश खाद्य वस्तुहरु खाद्य सुरक्षाको हिसाबले निकै कमजोर छन् । यसकारण अहिले मानिसको स्वास्थ्यमा समस्या आउनुमा खाद्य वस्तु पनि एउटा मुख्य समस्या हो भनेर किटेर भन्न सकिन्छ । नेपालीहरुमा जुन किसिमले नयाँ नयाँ रोगहरु देखापरेका छन्, त्यसो हुनुको मुख्य कारण भनेको खाद्यान्न नै हो । अहिले विरामी हुने अधिकांश मानिसहरुमा स्तरीय खाद्यान्न नपाएको कारणले नै विरामी भएको प्रष्ट देखिन्छ । हिजो सम्म मानिसहरु बाह्य रुपमा
स्वस्थ देखिने मानिस भोलि नै मृगौला, मुटु जस्ता गम्भीर प्रकारका रोगहरुको कारण मृत्यु अहिले सामान्य जस्तो भएको छ । खाद्यान्नमा बिषादीको कारण अहिले अवस्था निकै नै भयावह भएको छ ।
अहिले नेपालमा भित्रिएका वा उत्पादन भएका अधिकांश कम्पनीहरु वा सामान्य होटल तथा रेष्टुरेण्ट समेतका सबैजसो सामानको गुणस्तर निकै नै कमजोर छ । सबैजसो कम्पनीमा अहिले विषाक्त पदार्थ अत्यधिक मात्रामा प्रयोग भएको छ ।
अहिले नेपालमा बाहिरबाट हेर्दा राम्रो लेबलिङ देखाएर भित्र अखाद्य र मानिसलाई निकै नै नोक्सान पुग्ने किसिमका पदार्थ राखेर खाद्यान्नको विक्री हुँदै आएको छ । यसलाई व्यवस्थित गर्नको निम्ति नेपाल सरकार मातहतमा पनि कुनै निकाय नभएका होइनन् । तर ती निकायले यसलाई नियन्त्रण गर्न सकेका छैनन् । राज्य नै नेपालमा यस किसिमको समस्यालाई कसरी समाधान गर्ने भन्ने बारेमा अन्यौलमा छ । राज्यले निगरानी गर्न नसकेको अवस्थामा खाद्यान्नको अवस्था नेपालमा निकै कहालीलाग्दो भएको छ । हामी टाढा जानु पर्दैन, दैनिक उपयोगको निम्ति आवश्यक दूध, पानी लगायतका वस्तुहरुको अवस्था समेतबाट नै कुझ्न सक्छौं ।
उद्योगबाट उत्पादन भएका वस्तुहरुलाई लामो समय टिकाउनको निम्ति थोरै धेरै विषादि अर्थात रसायन त राख्नुपर्छ नै । तर यसको मात्रा समेत मिलाउन नसकेको र आवश्यकता भन्दा बढी भएको कारण मानिसको स्वास्थ्यमा निकै नै नराम्रो असर परिरहेको छ । तरकारी र फलफूलमा पनि विषादीको मात्रा अत्याधिक छ । यी फलफूल तथा तरकारीको सेवनले समेत मानिसका विभिन्न अङ्गहरु कमजोर हुने, हड्डीहरु कमजोर हुने, मानिसमा विभिन्न किसिमका डरलाग्दा रोगहरु अचानक देखा पर्ने लगायतका समस्याहरु देखिएका छन् ।
यस्तो अवस्थामा उपभोक्ता सचेत हुन सक्ने अवस्था पनि छैन । कुनै मानिसको अचानक कुनै रोगको कारण मृत्यु भयो वा अङ्गभङ्ग भयो भने के कारणले त्यस्तो भयो भन्ने कुराको अध्ययन गर्ने बानी समेत नेपालमा छैन । सिधै शवको दाह संस्कार गर्ने प्रचलन छ । नेपालमा अहिलेको अवस्थामा आइपुग्दा समेत यसको अनुसन्धान गर्नेे उपयुक्त प्रयोगशाला पनि छैनन् । नेपालमा भएका प्रयोगशालामा पनि चेकजाँचको निम्ति आवश्यक पर्ने उपकरणहरुको प्रबन्ध गर्न सकिएको छैन । जनशक्तिको समेत कमी छ ।
डाक्टरहरुले सामान्यतया रोग लागिसके पश्चात् नै जाँच गर्ने हुन् । उनीहरुले अनुसन्धानको क्रममा मुटु, कलेजो, फोक्सो, मृगौला लगायतका कुनै अङ्गमा समस्या आएको देख्न सक्छन् । तर यसको पछाडि के कारणले गर्दा उक्त समस्या आएको हो भन्ने कुराको स्रोत पत्ता लगाउनको निम्ति अहिले सम्म कसैले पनि पहल गरेको पाईंदैन । यसले गर्दा देश दिनानुदिन भयावह रुपमा समस्यामा पर्दै गएको छ । यो अवस्था रहने हो भने नेपालको अवस्था आगामी दिनमा झन् डरलाग्दो भएर जानेछ ।
अहिलेको अवस्थामा बाहिरको बट्टा निकै आकर्षक देखाएर भित्र अत्यधिक नराम्रो वस्तुहरु राखेर उपभोक्ताहरुलाई झुक्याउने काम भएको छ । ती सामानहरुको प्रचार पनि त्यसरी नै गलत तवरले नै गरिएको छ । ती औद्योगिक वस्तु नियमित उपयोग गरेमा बुद्धि बढ्छ । उचाई बढ्छ । बल बढ्छ भन्ने गरिँदै आइएको छ । खाँदा स्वादिला लाग्ने यस्ता वस्तुहरु विद्यालय तहका केटाकेटीहरुको निम्ति अपरिहार्य नै बनेका छन् । यी प्रचारहरुको कारण अभिभावकहरु समेत भ्रममा परेका छन् । तर जसरी यी वस्तुहरुको प्रचार गरिए पनि यी वस्तुहरुको उपयोग पश्चात् न त कसैको बुद्धि बढेको छ न त बल नै । बरु यसले कुपोषण लगायतका नकारात्मक समस्याहरु आइरहेका छन् । सरकार आफैंमा कमजोर भएको कारण यो समस्या झन् विकराल बन्दैछ ।
औद्योगिक उत्पादनहरुमा जुन मापदण्ड तोकिएको छ, सोही बमोजिम मिलाइने हो भने औद्योगिक उत्पादन पनि केही हद सम्म सुरक्षित हुन सक्थे तर अहिलेको अवस्थामा औद्योगिक उत्पादनहरुको मात्रा नमिलाइएको कारणले गर्दा यी सामानहरुको उपयोग मानवीय स्वास्थ्यको निम्ति निकै दुखदायी बनेको छ ।
यस्तो अवस्थामा राज्य जनताको स्वास्थ्य प्रति सचेत हुने हो भने औद्योगिक उत्पादनलाई विशेष निगरानीको साथ उत्पादन गर्ने काममा लाग्नु जरुरी देखिन्छ ।

अहिले काठमाडौंका सामान्य होटलकै कुरा गर्ने हो भने पनि खाना तथा खाजा उत्पादन गर्ने कोठाको अवस्था अत्यन्तै कमजोर छ । बाहिर ल्याइसके पश्चात् सोकेशमा राखेर सजाउनुले मानवीय स्वास्थ्यलाई कुनै फाइदा गर्दैन । यसैकारण होटलको खानाले तत्काल डायरिया, झाडापखाला, टाउको दुख्ने, कमजोरी, अपच लगायतका समस्या ल्याउने सम्भावना प्रबल हुन्छ । यति मात्रै होइन यसको दीर्घकालिन प्रभाव भने निकै नै डरलाग्दो हुन्छ । दूषित पदार्थहरु मिश्रित खाद्यान्नकै कारण नै मानिसको हिँड्दाहिँड्दै मृत्यु हुने, घातक रोगको सङ्क्रमण हुने लगायतका समस्याहरु आइरहेका छन् । तर राज्य नै अन्धो भएको देशमा उपभोक्ताको स्वास्थ्यको पक्षमा कसले सोच्नु ?
अधिकारी नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका निवर्तमान अध्यक्ष हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij