काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीबीच दक्षिण कोरियामा चुनाव हुँदैछ । कोरोना भाइरस फैलिएको बेला संसदीय चुनाव गर्ने दक्षिण कोरिया विश्वको पहिलो देश हो ।
शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भोट खसाले । मतदान स्थलमा जाँदा उनले मास्क लगाएका थिए । मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले उनको शरीरको तापक्रम लिएपछि मात्रै मतदान केन्द्रमा प्रवेश गराका थिए । त्यसपछि राष्ट्रपति मुन जे इनले हातमा प्लास्टिक लगाएर मतपेटिकामा मतपत्र खसाले ।
दक्षिण कोरियामा १५ अप्रिल अर्थात बुधबार चुनाव हुँदैछ । तर कुनै कारणले चुनावको दिन मतदानमा सहभागी हुन नसक्नेहरुलाई अघिल्लो दिन नै मतदानको मौका दिइन्छ । यस्तो नियम दक्षिण कोरियामा सन् २०१३ देखि सुरु भएको हो । चुनावकै दिन अर्थात् १५ अप्रिलमा भोट हाल्न नसक्नेहरुका लागि अहिले दक्षिण कोरियामा ३ हजार ५ सय मतदान केन्द्र बनाइएको छ ।
केही विश्लेषकहरुले यस वर्ष कोरोना भाइरसको महामारीका कारण भोट कम खस्ने अनुमान गरेका थिए । तर अहिले त्यस अनुमानविपरीतको दृष्य देखिएको बीबीसीले जनाएको छ ।
समाचारअनुसार, कूल मतदातामध्ये २६.७ प्रतिशतले सुरुवाती मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ को तुलनामा दोब्बरभन्दा बढी हो । सन् २०१६ मा केबल १२.२ प्रतिशतले मात मतदानमा भाग लिएका थिए ।
कोरोनाका कारण विश्वभर राजनीतिक क्यालेन्डर अस्तव्यस्त भएको छ । तर दक्षिण कोरियाले चुनाव गराउने निर्णय गर्यो । अन्य देशहरुमा मानिसहरुलाई भिडभाडमा जान प्रतिबन्ध लागे पनि दक्षिण कोरिया सरकारले आफ्ना ४ करोड ४० लाख मतदाताहरुलाई भोट हाल्नका लागि घर बाहिर निस्किन पूर्णरुपमा सुरक्षित रहेको आश्वस्त पारेको छ ।