काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ को लक्षण नदेखिएका संक्रमितले अरुमा संक्रमण फैलाउने सम्भावना निकै कम हुने जनाएको छ ।
डब्लुएचओको कोरोनो भाइरस रेस्पोन्सकी प्रमुख मारिया वेन करखोवले एक पत्रकार सम्मेलनमा भनेकी छिन्, ‘हामीले जे जति तथ्यांकहरु पाएका छौं त्यसले निकै दुर्लभ केसमा मात्र लक्षण नदेखिएका संक्रमितले अन्य व्यक्तिमा संक्रमण फैलाउने देखाएको छ ।’
संगठनलाई धेरै देशबाट प्राप्त रिपोर्टमा विस्तृत रुपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । ती देशमा कुनै लक्षण नभएका केसको पनि अध्ययन गरिएको बताइएको छ । ‘त्यस्तो मानिसको सम्पर्कमा आएका व्यक्तिको पनि अनुसन्धान गर्यौं र ती व्यक्तिमा सेकेन्डरी ट्रान्समिसन नभएको पायौं,’ उनले भनिन् ।
मरिनाका अनुसार उनको टिमले निरन्तर त्यस्तो आकँडामा अध्ययन गरिरहेका छ । ‘हामीले अन्य देशबाट प्राप्त जानकारीहरु पनि संलग्न गरिरहेका छौं । हालसम्म प्राप्त तथ्यांक हेर्दा कुनै लक्षण नभएका संक्रमितले अरुलाई सारेको घटना ज्यादै कम छ,’ उनले भनिन् ।
मारियाका अनुसार कोभिडे १९ को लक्षण नदेखिएका जति पनि व्यक्ति छन् तिनीहरुमा अधिकांशलाई हल्का लक्षण मात्र हुन्छ । उनीहरुमा ज्वरो, खोकी र सास फेर्न समस्या हुँदैन, तैपनि केही हल्का लक्षण हुन्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij