
विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा २०७९ फागुन ७ मा गोविन्द गुरुङ नियुक्त हुनुभएको थियो । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको सञ्चालक समितिले गुरुङलाई ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओे)मा नियुक्त गरेको थियो । गुरुङसँगै प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र बिष्णु देव यादव अन्तिम पाँचमा कृषि विकास बैंकको सिइओ छनोट सिफारिसमा परेका थिए । तर बैंक सञ्चालका समितिले गुरूङलाई नै छनोट गरेको थियो । २०७९ फागुन ७ गते शनिबार भएको अन्तवार्तामा गुरुङ प्रमुख कार्यकारी अधिकृतका लागि छानिनुभएको थियो । बैंकको सञ्चालक समितिको निर्णय अनुसार उहाँले २०७९ फागुन ९ गतेबाट कार्यभार सम्हाल्नु भएको थियो । उहाँले कृषि विकास बैंकमा सिइओ सम्हालेको भर्खरै ९ महिना पूरा भएको छ । छोटो समयमा गुरूङले बैंकको जनशक्ति व्यवस्थापन, कर्जा व्यवस्थापन, सुशासन कायम र खराब कर्जा असुली र बैंकमा नयाँ प्रविधि भित्राउन जोड दिदै आउनु भएको छ । गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुअघि म्यानमारमा ‘म्यान्मार सिटिजन्स बैंक’ मा सिइओको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि उहाँले सिभिल बैंक लिमिटेडको सीईओ बनेर सफल नेतृत्व गर्नु भएको थियो ।
बाल्यावस्था
लमजुङको मर्स्याङ्दी ८ भंगेरीमा जन्मिएका गुरुङले नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गर्नुभएको छ । उहाँले नेपाली र विदेशी गरेर ६ फरक बैंकमा २८ वर्ष काम गरिसक्नु भएको छ । म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंक लिमिटेडबाट बैंकिङ करियर सुरु गर्नु भएका गुरुङले सो बैंकमा १० वर्ष ५ महिना काम गर्नु भएको थियो । म्यानेजर भएपछि हिमालयन बैंक लि.बाट ग्लोबल आइएमई बैंक लिमिटेड जानुभएका उहाँले त्यहाँ पनि ३ वर्ष ५ महिना काम गर्नु भएको थियो । उक्त बैंकमा पनि गुरूङले म्यानेजर तहबाट जागिर सुरु गरेर चिफ बिजनेस बैंकिङ तहसम्म रहेर काम गर्नु भएको थियो ।
त्यसपछि मेगा बैंक लिमिटेडमा डेपुटी जनरल म्यानेजरका रुपमा काम सुरु गर्नुभएका गुरुङले त्यहाँ पनि २ वर्ष ५ काम गर्नु भएको थियो । मेगा बैंकमा चिफ कर्पोरेट बैंकिङ पदबाट विदा हुनु भएका गुरुङले सिभिल बैंक लिमिटेडमा डेपुटी सीईओ प्रवेश गर्नु भएको थियो । सो पदमा ४ वर्ष ५ महिना काम गर्नु भयो। गुरुङले सिभिल बैंकमा ३ महिना कामु सीईओ पनि हुनु भयो । त्यसपछि भने गुरूङले ४ वर्ष ५ महिना सिभिल बैंकको नेतृत्वकर्ता सिइओको जिम्मेवारीमा रहेर कुशलतापुर्वक बैंकको नेतृत्व सम्हालेर सिभिल बैंकलाई नेपालको बैंकिङ बजारमा मध्यमस्तरको वाणिज्य बैंकका रूपमा स्थापित गर्न सफल हुनु भएको थियो ।
सिभिल बैंक लिमिटेडमा राम्रो काम गरेकै कारण उहाँ खुला प्रतिस्पर्धाबाट म्यानमारको याङुनमा रहेको ‘म्यानमार सिटिजन्स बैंक’को सिइओमा नियुक्त हुनु भएको थियो । त्यहाँ उहाँले एक वर्ष ६ महिना काम गर्नुभएको थियो । म्यान्मारको आन्तरिक द्वन्द्व र सैनिक शासनका कारण असुरक्षा भएर डेढ वर्ष भन्दा बढी काम गर्न चाहानु भएन र नेपाल फर्कनु भयो ।
गुरूङले अहिले खराब अवस्थामा गएको कृषि विकास बैंकलाई ट्रयाकमा हिडाउन खोज्दै हुनुहुन्छ । बैंकमा नयाँ दक्ष जनशक्ति भित्राउने, राइट मेन राइट प्यालेसको मान्यता अनुसार जनशक्तिको व्यवस्थापन गर्ने, शाखाहरूमा नयाँ शाखा प्रबन्धक पठाउने, कर्जा प्रवाहमा नयाँ नीति जारी गर्ने, भाखा नाघेका र खराब कर्जा असुल गर्ने, समस्यामा परेका असल ऋणीको केही प्रतिशत व्याज र हर्जना मिनाहा गरेर कर्जा असुल गर्ने जस्ता कार्य अगाडि बढाउनु भएको छ । यसैगरि ग्राहकलाई नयाँप्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्न नयाँ प्रविधि भित्राउन जोड दिनु भएको छ । देशैभर शाखा सञ्जाल फैलाउन पनि लाग्नु भएकाले उहाँको चार वर्षे कार्यकालमा कृषि विकास बैंक चुक्ता पूँजी, निक्षेप, कर्जा प्रवाह, शाखा सञ्जाल, एटिएम, मुनाफा,सेवा प्रवाह,सुशासन र प्रविधिका हिसावले नेपालको सर्वाेत्कृष्ट वाणिज्य बैंक बन्ने अपेक्षा गरिएको छ ।
शब्दचित्रमा सीईओ गुरुङ
लमजुङ जिल्लाको भुलभुलेमा निम्नमध्यम वर्गीय परिवारमा जन्मिनुभएका गोविन्द गुरुङ विगत नौ महिनादेखि सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहँदै आउनुभएको छ । यसअधि उहाँले सिभिल बैंक लि.को प्रमुख कार्यकारी अधिकृत बनेर धेरै युवाहरुका लागि रोजगारी दिलाउने र मुलुकमा उत्पादन बढाउने काममा वित्तिय व्यवस्थापनको उदाहरणीय काम गर्नु भएको थियो । विद्यार्थी जीवनदेखि वाणिज्य बैंकको सीईओसम्मको यात्रामा उहाँले निकै आर्थिक, सामाजिक, शैक्षिक र करियर अनुभवका उतारचढाव व्यहोर्नु भएको छ । नेपाल कमर्स क्याम्पसबाट एमबीए गर्नु भएका गुरुङले जीवनमा पढदै रोजगारी गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाउनु भएको थियो । विद्यालय जीवनमा पनि उहाँ बिहान घाँस दाउरा गरेर दिउँसो विद्यालयमा जाने गर्नु हुन्थ्यो । उहाँले कलेज अध्ययनमा पनि विहान कलेज गएर दिउँसो जागिर खानु हुन्थ्यो । शहरी कुलीन, धनी र मध्यम परिवारका व्यक्तिहरुको मात्र पहुँच भएको बाणिज्य बैंकहरुको सिइओमा निम्न मध्यमबर्गबाट उठेर सिइओ हुन्छु भन्ने उहाँले कल्पना समेत गर्नु भएको थिएन । विदेशी विश्वविद्यालयबाट डिग्री गरेकाहरुको बोलवाला भएको बाणिज्य बैंकहरुमा उहाँ आफ्नै योग्यता, क्षमता, दक्षता, अनुभव र संघर्षले प्रमुख कार्यकारी अधिकृत बन्ने सफल व्यक्ति हुनुहुन्छ ।
पारिवारिक अवस्था
गुरूङको पुख्यौलीघर लमजुङको भूलभूले हो । उहाँको परिवार आर्थिक रूपमा निम्न मध्यमवर्गीय थियो । परिवारका पिता भारतीय सेनामा जागिरे हुनुहुन्थ्यो । काका–काकीलगायत अरु परिवारका सदस्य खेतीकिसानी गर्नुहुथ्यो । बुबा आमाका सात सन्तानमध्ये गोविन्द जेठो छोरा हुनुहुन्थ्यो । उहाँले सात–आठ बर्षदेखि नै घरमा घाँस दाउरा गर्नु हुन्थ्यो । बिहान उठेर जंगलमा गई घाँस काटेर ल्याउने र साढे नौ बजे खाना खाएर विद्यालय जाने उहाँको रुटिन हुन्थ्यो । यो वातावरणले उहाँलाई काम गर्नु पर्छ भन्ने काम गर्न प्रेरित गर्यो ।
सात कक्षासम्म पढ्दा देवीदास अधिकारी भन्ने गुरु हुनुहुन्थ्यो, उहाँको प्रभाव गुरूङमा गहिरो रुपमा पर्यो । जीवनमा अनुशासित बन्नुपर्ने पाठ देवीदास गुरूबाटै सिक्नु भयो । अहिलेसम्म पनि ती देवीदास गुरूले सिकाउनुभएको अनुशासनको पालना गर्दै आउनु भएको छ । आजसम्म गुरूङले मदिरा, चुरोट, खैनी जस्ता केही पनि अम्बलि लतमा लाग्नु भएको छैन। बज्यैको काखमा हुर्किएर होला सानो उमेरमै धेरै ज्ञानगुनका कुराहरु सिक्ने मौका पाउनु भयो । सानैदेखि कविता, खेलकुद, गीत–संगीतमा पनि गहिरो झुकाव राख्नु हुन्थ्यो ।
गुरूङको शिक्षा
सिइओ गुरूङले शिशु कक्षादेखि सात कक्षासम्म स्थानीय भुलभुलेको श्री प्रभात शान्तिपूर्ण माध्यमिक विद्यालयमा पढनु भयो । कक्षा आठदेखि एसएलसीसम्म अमर माध्यमिक विद्यालय खुदीमा पढनुभयो । २०४२ सालमा एसएलसी पास गरेर काठमाडौं आएर पिपुल्स क्याम्पसमा आइकम अध्ययन गर्नु भयो । आइकम र विकम पिपुल्समा नै अध्ययन गर्नु भयो। २०४९ सालमा नेपाल कमर्स क्याम्पसबाट एमबीए गर्नुभयो । पढाइमा उहाँ मेधावी विद्यार्थी हुनुहुन्थ्यो । जिवनमा कहिल्यै अनुत्तीर्ण हुनु भएन । विद्यालयमा हुँदा आठ र नौ कक्षामा दोस्रो भएपनि अन्य कक्षामा भने उहाँ सधै पहिलो विद्यार्थी हुनुहुन्थ्यो ।
सानो हुँदा उहाँको जीवनमा यही गर्छु, यही बन्छु भन्ने खासै उद्देश्य थिएन । परिस्थितिले जीवनलाई जताजता तान्दै लग्यो, त्यस्तै त्यतै क्यारियर बनाउँदै जानुभयो । सानो हुँदा देवीदास अधिकारी सरको संगतका कारण उहाँजस्तै शिक्षक बन्ने उहाँको लक्ष्य थियो । अलि ठूलो भएपछि सहिदका कथाहरु पढ्न र बुझ्न थालेपछि सहिद बन्नुपर्छ भन्ने पनि उहाँलाई लाग्थ्यो । पछि कलेज जीवनमा प्राध्याकपको संगतमा रहदा वहाँहरुको सादा जीवन र उच्च विचारले गुरूङलाई प्रभावित बनायो र प्रोफेसर हुने लक्ष्य पनि लिनु भयो ।
गीतकार बन्ने गुरूङको रहर
२०४७ सालमा पहिलो पटक उहाँले गुरुङ भाषामा गीत रेकर्ड गराउनु भयो । त्यतिबेला उहाँको राम्रो गायक बन्ने लक्ष्य थियो । उहाँले २०५० सालमा पहिलो पटक रेडियोमा गुरुङ भाषाको समाचार वाचन गर्ने अवसर पनि पाउनु भयो । त्यतिबेला उहाँको सञ्चारकर्मी बन्ने लक्ष्य थियो। पछि त्यो पनि तुहियो । हुँदाहुदै अहिले बैंकर बनेर तीन वटा बाणिज्य बैंकको सिईओको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भया । तर उहाँले भविष्यमा बैंकर बन्छु भनेर कहिल्यै उदेश्य लिनु भएको थिएन,मेहनत र सघर्ष गर्दै जादा आज सफल बैंकर बन्नु भएको छ ।
गुरूङको जागिरे जीवन
मेधावी विद्यार्थी गुरूङले जीवनमा जागिरलाई भन्दा सधै अध्ययनलाई महत्व दिनु भयो,अध्ययनलाई कहिल्यै छुटाउनु भएन, निरन्तर अध्ययन गर्दै जानू भयो । लमजुङबाट काठमाडौंमा अध्ययनका लागि आएपनि आफ्नो घरायसी अवस्थालाई बुझेर उहाँले अध्ययनसँगै जागिर खोजेर पढ्न थाल्नु भयो । घरमा उहाँभन्दा मुनिका भाइबहिनीहरु ६ जना थिए । बुबाको तलवले उनीहरुलाई विद्यालय पढाउन र घरमा नुन, तेल, मसला र लत्ताकपडा खरिदको लागि मात्र पैसा पुग्थ्यो । एसएलसी पास गरेर काठमाडौं आएपछि उहाँले बुबाको पाँच हजार रुपैयाँ मात्र खर्च गरेर काठमाडौंमा अध्ययन गर्नु भयो। अरु सबै आफैँले कमाएर पढाइ, खान र बस्न खर्च धान्नु भयो। पहाडको खेतीपातीको आम्दानीले जीवन निर्वाह गर्नलाई मात्र ठिक्क थियो । सिमित आम्दानीले छोरालाई सहरमा पढाउने आर्थिक हैसियतमा उहाँको परिवार थिएन । घरबाट हुर्केको छोरालाई घरधन्दाको कामबाट फुर्सद दिलाएर सहरमा पढ्न पठाउने जुन आँट,साहास आमा बुबाले गर्नुभयो त्यो नै उहाँका लागि जीवनको उल्लेख्य अवसर बन्यो ।

काठमाडौँ आएपछि गुरूङले २०४२ साल फागुनमा पकनाजोलमा रहेको मोजा फ्याक्टीमा प्रोक्यिोरमेन्ट असिष्टेन्ट (खरिदको काम गर्ने) को रुपमा मैले पहिलो जागिर खानु भयो । जुनबेला उहाँ भर्खर १६ वर्ष पुग्नु भएको थियो । त्यसबेला उहाँको काम मोजा बनाउदा प्रयोग हुने इलाष्टिक र धागो खरिद गर्ने काम हुन्थ्यो । विहान कलेज जाने दिउँसो काम गर्ने गरि मासिक तलव एक सय रुपैयाँमा काम गर्नु भएको थियो । आइकमको पहिलो बर्षको परीक्षामा विदा नपाएपछि उहाँले त्यो जागिर छोडनु भयो । पढाईको लागि दोस्रो वर्षमा जागिर खोज्ने क्रममा बुद्धज्योति शिशु निकेतनमा मासिक ५ सय रुपैयाँमा शिक्षकको जागिर पाउनु भयो । त्यहाँ पनि दोस्रो वर्षको परीक्षा दिन विदा नपाएपछि केही महिना काम गरेर छोडनु भयो । फेरि बिकम पढ्दा केस्मा ट्रेडर्समा मार्केटिड रिप्रेजेटिभको जागिर पाउनु भयो । त्यहाँ उहाँको तलव १५ सय रुपैयाँ थियो । त्यहाँ विनोद बक्सी नाम गरेको इन्डियन बोस थियो । उनले बिकम पहिलो वर्षको परीक्षामा पढ्नका लागि एक महिना विदा दिएका थिए । तर दोस्रो वर्षको परीक्षामा अर्का नेपाली हाकिम भएपनि पढ्नको लागि विदा दिएनन् र त्यहाँको जागिर पनि छोडनु भयो । त्यस्तै एमबिए पढ्नको लागि पुनः जागिर खोज्ने क्रममा उहाँ जेम्स स्कुल र गैडा वाइडलाइफ क्याम्प दूवैमा एकैपटक नाम निकाल्नु भयो । तर उहाँले जेम्स स्कुल रोज्नु भयो । किनभने त्यहाँ जागिर खाएर क्याम्पस गएर एमविए पढ्न पाउने अवसर थियो। गैडा वाइल्ड लाइफमा ३ हजार तलव र विदेश जान पाउने अवसर भएपनि पढ्ने अवसर छुट्ने भएकोले उहाँले पैसा होइन पढाइको अवसरलाई रोजनु भयो । त्यसवेला उहाँलाई जेम्स स्कुलले १ हजार ७ सय रुपैयाँ तलवमा शिक्षक काम गर्न थाल्नु भयो । यो उहाँको काठमाडौं आएपछिको चौथो जागिर थियो। एमबीएमा पहिलो बर्ष एक दिन पनि कलेज जानू भएन । त्यतिबेला उहाँलाई अनन्य मित्र बटुक विष्टले कलेज अध्ययनमा सहयोग गरेका थिए । दोस्रो वर्षमा कलेज गएर पढ्ने अवसर पाउनु भयो र त्रिभुवन विश्वविद्यालयको नेपाल कमर्स क्याम्पस, मीनभवनबाट २०४९ सालमा प्रथम श्रेणीमा एमविए पास गर्नु भयो ।
उहाँले त्यसपछि २०५० सालमा रेडियो नेपालबाट गुरुङ भाषाको समाचार पहिलो दिन पहिलो बुलेटिन पढ्ने ऐतिहासिक अवसर पनि पाउनु भयो । जुन उहाँका लागि अहिलेसम्म अविष्मरणीय क्षण रह्यो ।

गुरूङको बैंकिङ करियर
गुरूङको बैंकिङ करियरमा टर्निङ प्वाइन्ट महिला सहकारी संस्था लिमिटेडबाट सुरु भएको थियो । त्यसअघि शिक्षकको रुपमा जेम्स स्कुलमा पढाउनु भएका गुरूङले म जीवनभर शिक्षक नै बन्छु भन्ने सोच्नु भएको थिएन । त्यही भएर महिला सहकारी संस्थामा जोडिन पुग्नु भयो ।
त्यसबेला गुरूङले स्वावलम्बन विकास केन्द्रमा अधिकृत तहमा नाम निकाल्नु भएको थियो । उपत्यका बाहिर जानुपर्ने भएको उहाँ त्यसमा काम गर्न जानू भएन । रेडियो नेपालमा मासिक जम्मा २ हजारको गुरूङ भाषाको समाचार पढने जागीर खाएर बस्नु भएको थियो। पछि स्वावलम्बन विकास केन्द्रका कार्यकारी अध्यक्ष शंकरमान श्रेष्ठले महिला सहकारी संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठलाई उहाँको नाम सिफारिस गरिदिनु भयो । यसरी महिला सहकारी संस्थामा जागिर उहाँ खान जानु भएको थियो । सो संस्थाले कृषि विकास बैंकको कालीमाटी शाखाको तत्कालिन शाखा प्रबन्धक अच्युत प्याकुरेलसँग बैकिङ प्रणाली सिक्नको लागि बन्दोबस्त मिलाइ दिएको थियो । गुरूङले उहाँ र उहाँका सहकर्मीबाट १५ दिनमा धेरै कुरा सिक्ने अवसर पाउनु भयो । यसरी वास्तवमा गुरूङको बैंकिङ करियरको पहिलो गुरु कृषि विकास बैंकका कालिमाटी शाखाका मेनेजर अच्युत प्याकुरेल नै हुनुहुन्छ । त्यसपछि महिला सहकारीमा खाता खोल्ने, ऋण दिने, उठाउन जाने देखि सम्पुर्ण कामहरु सिक्ने अवसर उहाँले पाउनु भयो । जसले गर्दा बैंकिङ क्षेत्रमा आउन उहाँलाई सजिलो भयो, भरपुर अनुभव पनि भयो ।
गुरूङको बैंकिङ करियर
महिला सहकारी संस्थामा काम गर्दा गर्दै उहाँले हिमालयन बैंक लिमिटेडमा सिनियर अफिसरको पोष्टमा फ्री कम्पिटिसनमा नाम निकाल्नु भयो । त्यहीबाट उहाँको बैंकिङ करियर सुरु भएको थियो । हिमालयन बैंक लि.मा उहाँले साढे १० वर्ष काम गर्नु भयो । जहाँ उहाँले अपरेशन अफिसरबाट सहायक शाखा प्रबन्धक, शाखा प्रवन्धक भएर हेटौडा र पोखरा हुँदै मुख्य शाखा कार्यालयको क्रेडिट मार्केटिङको प्रमुखको रुपमा काम गर्ने अवसर पाउनु भयो। त्यसपछि उहाँ तत्कालिन ग्लोबल आइएमई बैंक लि.मा सिनियर म्यानेजर भएर अर्काे बैंकमा जानु भयो । ग्लोबलमा गएको डेढ वर्षमा असिष्टेन्ट जनरल म्यानेजरमा बढुवा हुनु भयो । त्यहाँ उहाँको काम चिफ विजनेश अफिसरको रहेको थियो । त्यसपछि उहाँलाई फेरि नयाँ स्थापना भएको मेगा बैंक लि. मा काम गर्न अफर आयो । उहाँले परम्परागत बैकिङ नै गर्ने भए म ग्लोबल बैंकमा नै खुसी छु तर गरिवलाई धनी बनाउने काम गर्ने हो भने आउँछु भन्नु भयो र हाइड्रो देखि हलोसम्म भन्ने नारा दिएपछि गुरूङ अनिल केशरी शाहले नेतृत्व गर्नु भएको मेगा बैंक लि.लाई साथ दिदै मेगा बैंक लि. मा जानु भयो । उहाँले मेगा बैंकले माइक्रोफाइनान्समा लगानी गर्नुपर्छ भन्ने सोच राखेकाले पनि त्यता जानु भयो । म हिमालयन बैंकको हेटौडा शाखामा हुँदा छिमेकी लघुवित्तको कार्यक्रमबाट गुरूङ प्रभावित हुनु भएको थियो । माइक्रोफाइनान्सले जनताको जीवनस्तरमा प्रत्यक्ष रुपमा रुपान्तरण गरेको उहाँले हेटौंडा बस्दा आफ्नै आँखाले देख्नु भएको थियो । मेगा बैंकपछि उहाँलाई सिभिल बैंक लि.ले राम्रो अवसर दियो, त्यसपछि मेगा छाडेर डिपुटी सिइओमा सिभिल बैंकमा प्रवेश गर्नुभयो ।
गुरूङलाई सञ्चारकर्मी बन्न मन परेन
गुरूङ रेडियो नेपालमा गुरुङ भाषाको समाचार पढनु हुन्थ्यो । करिव डेढ वर्षजति रेडियो नेपालमा काम गर्दा त्यहाँको संस्थागत संस्कृति, काम गर्ने र गराउने तौर तरिका र समग्र संस्थागत चरित्र चित्त बुझेन । यो क्षेत्र उहाँको स्वभाव र कार्यशैली भएकाहरूका लागि हो जस्तो लागेन र उहाँले सञ्चार क्षेत्र छाडनु भयो । त्यसैले सञ्चारकर्मी बन्ने सपनालाई त्यतै थाती राखेर उहाँले रेडियो नेपालको जागिरबाट राजीनामा दिनु भयो ।
गुरूङको गायन र संगीतकार बन्ने सोख
गुरूङ पहिलेदेखि नै गीत संगितमा रुची राख्नु हुन्थ्यो । २०४७ सालमा पहिलो पटक रेडियो नेपालमा गुरुङ भाषामा गीत रेकर्ड गराउनु भएको थियो । यो सिर्जनशील काम भएकोले यसतर्फ आकर्षित हुनु भएको थियो । उहाँले एकताका संगीत क्षेत्रमा नै लाग्ने सोच पनि बनाउनु भएको थियो। तर त्यतिबेला रेडियो नेपाल र म्युजिक नेपालमा मात्र गीत रेकर्ड हुन्थ्यो । पहिलो त्यतिवेला संगित क्षेत्र आर्थिक हिसावले त्यति राम्रो थिएन । अर्को दुई वटा घटनाले गुरूङलाई संगिततर्फ लाग्न उत्साहित गरेन । पहिलो २०४९ सालमा आधुनिक गीत प्रतियोगितामा अडिसन दिएर उहाँ पास हुनु भयो । फाइनलमा ७० जनामा उहाँ पनि पर्नु भएको थियो । प्रतियोगिताभन्दा एक हप्ता अघि रिहर्सल गर्नुपर्ने हुन्थ्यो । तर उहाँको रिहर्सलको पालोभन्दा पहिले रामकृष्ण ढकालले प्राक्टिस गर्दैथिए, त्यसपछि यम बराल प्राक्टिस गर्न गए । उहाँलाई यम बराल र रामकृष्ण ढकालको स्वर र गायकी यति राम्रो लाग्यो कि उहाँ आफैमाथि एक खालको हिनताबोध अनुभूति भयो ।
यसैगरी दोस्रो आधुनिक गीत रेकर्ड गराउने क्रममा त्यस बेलाको चर्चित संगितकार मानसिङ थुलुङको संगीत र सहदेव कोइरालाको रचनामा उहाँ र एक जना तत्कालिन वरिष्ठ गायिकासँग युगल गीत गाउनुपर्ने थियो । गुरूङले गीत गाउन नपाउँदै ती गायिकाले हेपेको शैलीमा ‘थुलुङ दाईले पनि को–कोसँग गाउन लाउनुहुन्छ’ भनेर नगाइकन गइन् । त्यसले उहाँलाई झन् ठूलो हिनताबोध भयो । त्यसपछि गुरूङ यो क्षेत्र आफ्नो लागि ठिक होइन रहेछ भन्ने सोचेर त्यसतर्फको यात्रा रोक्नु भयो ।
प्रमुख कार्यकारी अधिकृत भएपछिका चुनौती
बैकिङ क्षेत्रमा धेरै चुनौतिहरु छन् । बैंकरका आफ्नै चुनौतीहरु पनि छन् । कृषि विकास बैंकमा पनि धेरै चुनौतीहरु रहेका छन् । हिजो सिभिल बैंकमा रहदा मर्जर र अन्य चुनौती थिए । त्यसबेला मर्ज गरेर पुँजी बढाइयो तर साथमा सेयरहाल्डरहरुलाई बढेको पुँजीमा उचित प्रतिफल दिन सकिएन। त्यसको लागि सोही अनुपातमा विजनेश बढाउनु पर्ने अत्यन्त ठुलो चुनौती थियो । अहिलेको ठूलो चुनौती भनेको प्रतिष्पर्धी बजारमा विजनेश बढाउनु हो । खराब कर्जा घटाउनु हो । जनशक्ति व्यवस्थापन र नयाँ बैंकिङ सेवा प्रवाहलाई छिटोछरितो र चुस्त बनाउनु हो । अरुसँगै हिडेँर उनीहरुको भन्दा बढी नाफा कमाउनु पर्ने बाध्यात्मक अवस्था छ । बैंक घाटामा गएको छ,यसलाई मुनाफामा लैजानु अहिलेको प्रमुख चुनौती रहेको सिइओ गुरूङ बताउनु हुन्छ । हरेक क्षेत्रमा समस्या र चुनौतीहरू आउछन तर त्यससँगै समाधान पनि आउँछ भन्ने कुरामा उहाँ सधै विश्वास गर्नु हुन्छ । साच्चै नै चुनौतीको सामना बिना जीवनका पाइलाहरु अघि बढ्न पनि सक्तैनन् । गन्तव्यमा पुग्ने लक्ष्य सहित निरन्तर क्रियाशीलताले व्यक्तिको जीवनमा सफलता पाउँछ भन्ने गुरूङको मान्यता छ । त्यसैगरी संस्थामा आवद्व व्यक्ति–व्यक्तिका प्रयासबाट सामूहिक बल प्राप्त गर्दै अघि बढे मात्र संस्थागत सफलता पनि प्राप्त गर्न सकिने कुरा प्रमुख कार्यकारी अधिकृत गुरूङ बताउँछन् ।
कृषि विकास बैंकको अवस्था खराब छैन
बैंकहरूको नाफा वृद्धिदरमा कम आउनु नयाँ विषय होइन । तर, बैंक खुद घाटामा देखिनु भने अपवाद हो । सामान्यतः बैंकहरू घाटामा हुँदैनन, कहिल्यैँ पनि । तर, सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा त्यस्तै अपवाद देखिएको छ । यसरी कुल आम्दानीमा घाटा देखिएपनि कृषि विकास बैंकका अन्य अवस्थाभने राम्रो छ । बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रूपैयाँ रहेको छ । यस त्रैमासमा बैंकले ९० करोड ८३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा २४ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेको देखिन्छ । एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ७८ करोड ४८ लाख रुपैयाँ थियो। खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा बैंक घाटामा गएको देखिन्छ ।
पहिलो त्रैमासमा बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । कृषि विकास बैंकको चुक्तापुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रहेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार मुनाफा आर्जन गरेको थियो । निस्कृय कर्जा पनि २.४८ प्रतिशत थियो । तर खराब कर्जा बढदा बैंकले मुनाफा कमाउन सकेको छैन ।

यसरी कृषि विकास बैंकको घाटा बढ्नुमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत कारक देखिन्छन । तात्कालीन सीईओले जथाभावी कर्जा प्रवाह गरेको र ऋण असुली गर्न अलिकति बढी बेवास्था गर्दा बैंकको वित्तीय विवरणमा अहिले केहीँ मात्रमा असर पर्न गएको देखिएको छ । बैंकले आफ्नो विवरणमा भने तरलता असहजता, निक्षेपको लागतमा वृद्धि, निष्क्रिय कर्जामा आएको वृद्धि र कर्जा नोक्सानीको व्यवस्थामा भएको परिवर्तनको प्रभावले प्रतिकूल प्रभाव परेको दाबी गरेको छ ।
अर्काेतिर व्यवसायी दुर्गा प्रसाईको सरकारी बैंकबाट लिएको २० लाख सम्मको ऋण म मिनाहा गराइ दिन्छु भन्दै आन्दोलन गरेकाले कतै २० लाख सम्मको ऋण मिनाहा पो भइहाल्छ कि भनेर पनि कृषि विकास बैंकबाट ऋण लिएका साना ऋणीहरू भाखा नाघेको ऋणको व्याज र सावाँ रकम नतिरि अल्मलिएर बसेकाले पनि बैंकको खराब ऋणको प्रतिशत बढेको देखिन्छ । सरकारले पटक–पटक ऋणीको ऋण मिनाहा गर्दैन । डा.बाबुराम भट्टराई अर्थ मन्त्री हुँदा पनि विगतमा सरकारी बैंकबाट ३० हजारसम्म ऋण लिएका साना किसानको व्याज र सावा ऋण तिरिदिएको थियो । सामान्यतः बैंकहरू खुद घाटामा कहिल्यै गएको हुँदैनन् । अहिले धेरै बैंकहरूको अन्य आम्दानी (सेवा शुल्कबापतको रकम) घटेको छ । तर, ब्याज आम्दानी राम्रो बढेको कारण नाफामा छन् । कृषि विकास बैंकका सिईओ गुरूङले भाखा नाघेका खराब कर्जा असुलीलाई उच्च प्राथमिकतामा राखेर उक्त कार्यलाई तीब्र रुपमा अगाडि बढाउँर्दै आइरहनु भएको छ ।
(प्रस्तुतीः पुस्कर बस्नेत)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij