
हामी निरन्तर कृतज्ञता भाव प्रकट गरेर जीवनका अनेकौं आयामहरुमा सकारात्मक बदलाव ल्याउनको लागि प्रयत्न गरिरहेका छौं । आज हामी लामो समय देखि बिग्रिएको सम्बन्धमा सुधार ल्याउनको लागि कृतज्ञता प्रकट गर्ने तरिकाहरु सिक्नेछौं ।
गौतम बुद्ध भन्नुहुन्छ, ‘हामी लामो समय रिस वा क्रोधको अवस्थामा रहनु भनेको बलिरहेका कोइलाहरु अरुलाई प्रहार गर्नको लागि आफ्नो खालि हातले लामो समय समाइराख्नु जस्तै हो । जसले आफैलाई जलाइरहेको हुन्छ ।’
यस भनाईले रिस, क्रोध वा बदलाब भावले आफूलाई फाइदा नपुर्याउने बरु नोक्सानी पुर्याउने कुरा बताउँछ । हामी अधिकांश दुखी, चिन्तित बनिरहनुमा कुनै व्यक्तिसँगको सम्बन्धका गलत पक्षहरुलाई मात्रै कोट्याइरहनु पनि रहँदै आएको छ ।
सम्बन्ध किन बिग्रन्छ ?
जब हामी कुनै व्यक्तिसँग लामो समय सम्बन्धमा रहन्छौं, दोस्रोसँग सामान्य मतभेद भएको स्थितिमा दोस्रो व्यक्तिका राम्रा पक्षहरु प्रत्येकलाई बेवास्ता गर्दै हामीले जब नराम्रा पक्षहरुको गणना शुरु गर्छौं, तब हामी आफूलाई अझ नराम्रो अवस्थाको गहिराईमा डुबाउँदै लगिरहेका हुन्छौं । किनकि हामीले नराम्रो कुरा स्मरण गर्दा आफूलाई सकारात्मक अवस्थामा राख्न सम्भव नै हुँदैन । साथै हामीले जुन कुरामा ऊर्जा लगाउँछौं, त्यही कुरा हामीमा वृद्धि हुँदै जाने गर्छ ।
स्मरणीय कुरा यो रहन्छ कि कुनै पनि व्यक्तिका सबै गुणहरु एवं सबै व्यवहारहरु सकारात्मक मात्रै हुन्छन् भन्ने जरुरी छैन । जति बेला सम्म हामी राम्रो सम्बन्धमा रहन्छौं, त्यति बेलासम्म आफ्ना साथीका नराम्रा गुण एवं व्यवहार हामीलाई घातक लाग्दैनन् । तर जब सामान्य विवाद शुरु हुन्छ, हामी आफूलाई साधारण शब्द वा नियमित व्यवहार पनि घातक वा पीडामय लाग्न शुरु गर्छन् ।
अर्थ र परिभाषाको प्रभाव
कहिलेकाहीँ पहिलो व्यक्तिको आफ्नो मुडमा आएको परिवर्तन अनुसार दोस्रो व्यक्तिले गर्ने एकै किसिमको व्यवहार प्रति पनि अलग–अलग अवस्थामा देखाउने प्रतिक्रिया एकै किसिमको नरहन सक्छ । हाम्रो प्रतिक्रियामा हामीले व्यक्त गर्ने शब्द वा वाक्य मात्रै जिम्मेवार हुँदैनन् । एकै किसिमको भनाईमा हाम्रो बुझाई अर्थात त्यस स्थिति प्रति व्यक्त गर्ने अर्थ–परिभाषाले हामीलाई कहिले खुसी त कहिले निराशा, कहिले रिसको अवस्थामा पुर्याउने गर्छ । जब हामी सम्बन्ध बिग्रिँदै गएको महसुस गर्छौं, तब हामी आफूलाई थप कमजोर अवस्थामा पुर्याउँछौं ।
अर्थ र परिभाषामा बदलाव
यदि हामी आफैंले कुनै समस्या वा सम्बन्धलाई सुधार गर्न चाहन्छौं भने त्यस व्यक्ति प्रति सूक्ष्म रुपमा आफैंले दिएको अर्थ–परिभाषालाई बदल्नु जरुरी हुन्छ । हामी समस्यामा केन्द्रित नभई सकारात्मक पक्षमा केन्द्रित हुन शुरु गर्यौं भने समस्या अत्यन्तै साधारण लाग्नेछन् । त्यो देखेर आफैंलाई अचम्म महसुस हुनेछ । साथै यसबाट बिग्रिएको वा खटपट शुरु भएको सम्बन्धमा सुधार ल्याउन ठूलो सहयोग पुग्छ । साथै यसबाट यदि सम्बन्धमा तत्काल सुधार ल्याउन सक्ने स्थिति छैन भनेपनि हामी आफूलाई त त्यस अवस्थाबाट सजिलै मुक्त बनाउन सक्छौं ।
हामी आफैंले कसरी सम्बन्धमा दरार ल्याइरहेका हुन्छौं त ?
क. जब हामी आफ्नो नजिकको साथी प्रति सामान्य रुपमा मतभेद वा असन्तुष्टिको अवस्था सृजना हुन्छ, तब हामी त्यस व्यक्तिलाई मनमनै सराप्न पुग्छौं ।
ख. एकपटक मनमनै गालि गर्न शुरु गरेपछि आफूलाई संयमित गर्न सकेनौं भने त्यो भाव हामीबाट शब्द र भावनाको माध्यमबाट बाहिर व्यक्त हुने गर्दछ ।
ग. जब हामी दुवै जनाले चिन्ने अर्को तेस्रो व्यक्तिलाई भेट्छौं, तब हामी आफ्नै साथीसँग भएका नराम्रा अनुभवहरु शेयर गर्नमा नै आफूलाई भित्रैबाट आनन्दको महसुस भइरहेको अनुभव गर्न पुग्छौं । तर वास्तवमा हामी अरुलाई आरोपित गरेर क्षणिक खुसी मिलेपनि ठूलो खुसी र आनन्दबाट भने हामी आफैंलाई टाढा पुर्याइरहेका हुन्छौं ।.
घ. सम्बन्धमा समस्या सृजना हुनुमा कतै आफू पनि जिम्मेवार छु कि ? मैले सम्बन्धमा सुधार ल्याउनको लागि मेरो जिम्मेवारी पनि के हुनुपर्छ कि ? भन्ने कुरामा गहिरोसँग सोचविचार गर्नमा हामीलाई कत्ति पनि फुर्सद नै मिल्दैन ।
ङ. हामी कठिन अवस्थामा पनि को सही र को गलत ? भन्ने कुरालाई नै बढी महत्व दिन्छौं । सम्बन्ध सुमधुर बनाउनुमा सही र गलतलाई मुख्य प्राथमिकतामा राख्नुहुँदैन, भावनात्मक सम्बन्ध धेरै गहिराईको बिषय हो भन्ने कुरा हामीलाई अनुभुति नै हुँदैन ।
च) यदि हामी तत्काल मनमा गडेको गलत बुझाई वा भावनाबाट आफूलाई मुक्त हुन सक्दैनौं भने दीर्घकालमा त्यही समस्या हामीलाई शारीरिक वा मानसिक रोगको कारणको रुपमा विकास हुन सक्छ ।
यस्तो किन हुन्छ ?
–हामीले त्यस साथी वा जीवनसाथी वा……..सँग बिताएका दर्जनौं सुखद अवस्था र गुणहरुमा ध्यान दिँदैनौं ।
–हामी आफू अरुलाई गालि गर्दा वा सराप्दा नै आनन्दको महसुस गर्छौं ।
–हाम्रो सम्बन्ध कमजोर धरातलमा उभिएको हुन्छ । लामो समय सम्बन्धमा रहँदा पनि एकले अर्कोलाई गहिराईमा बुझ्ने प्रयत्न नगरेका समेत हुन सक्छौं ।
–हामी अर्को व्यक्तिले हामीलाई कुन किसिमले त्यस किसिमको शब्द वा व्यवहार गरेको हो ? त्यो अवस्थामा नियतवश भएको हो वा अन्जानपूर्वक ? त्यस वाक्य वा व्यवहारले हामीलाई साँच्ची नोक्सानी पुर्याएको छ वा छैन ? नोक्सानी पुगेको छ भने त्यो कति भयानक छ ? भन्ने कुरामा पनि विचार गर्नुपर्छ ।
– मानवीय स्वभाव नै हुन्छ कि हाम्रो ध्यान राम्रो कुरा वा स्थितिले भन्दा नराम्रो कुरा वा स्थितिले छिटै आकर्षित गर्दछ ।
एउटा प्रयोग
एउटा कुनै बिग्रिएको सम्बन्धको बारेमा याद गरौं ।
जुन व्यक्तिसँग सम्बन्ध बिग्रिएको छ, त्यस व्यक्तिका १० ओटा सकारात्मक गुण र हामीसँग भएका सकारात्मक कार्यहरु डायरीमा टिपोट गरौं ।
उक्त व्यक्तिसँग सम्बन्ध बिग्रनु भन्दा पहिलेको अवस्था सम्झनुहोस् ।
यो पनि बुझौं
आजको यस सम्बन्ध प्रतिको चमत्कार अभ्यासले तातो घातक कोइलालाई उत्कृष्ट आकर्षक सुनमा बदल्ने तरिका सिकाउनेछ । यसको लागि कृतज्ञता सबैभन्दा उत्तम प्रयत्न हुनेछ । किनकि अन्य व्यक्तिको बारेमा सोचेर खराब अनुभव गर्दा त्यसले हामीलाई नै नोक्सानी पुर्याइरहेको हुन्छ । जबकि राम्रो अवस्था बारे सोच्दा र कृतज्ञता प्रकट गर्दा हामीलाई भित्री रुपमा नै आनन्द मिल्दै जान्छ । साथै हरेक दुखद अनुभवलाई घटाउँदै उत्कृष्टता प्राप्तिको लागि त्यसलाई उपयोग गर्न सक्छौं ।
बिग्रिएको सम्बन्धमा कृतज्ञता भाव जगाउन यी प्रश्नको उत्तर खोजौं
याद गरौं,
मेरो ……..सँग सम्बन्ध बिग्रिएको छ ।
……….सँग सम्बन्ध बिग्रिएको कति भयो ?
………….सँग के कारणले सम्बन्ध बिग्रिएको हो ?
…………सँग सम्बन्ध बिग्रिएपछि म आफूलाई ग्लानि-पिडा कस्तोे अनुभव भयो-भएको छ ?
त्यस पश्चात् पारिवारिक-व्यावसायिक जीवनमा पनि त्यसले केही प्रभाव पारेको अनुभुति भयो कि ?
आफैं प्रति फर्कौं
के मैले………..सँग सम्बन्ध राम्रो भएको अवस्थामा कुनै लाभ प्राप्ति गरेको छु ?
छ भने त्यो के थियो ?……………………….
के मैले………………सँग सम्बन्ध बिग्रनुमा केवल …………..मात्रै जिम्मेवार मान्छु ? त्यसमा मेरो पनि कुनै जिम्मेवारी हुन सक्थ्यो कि ?
के मैले आफ्नो सम्पर्कका हरेक सबै व्यक्ति प्रति निर्वाह गर्नुपर्ने भूमिका अत्यन्तै उत्कृष्ट तवरले निर्वाह गर्न सकेको छु त ?
क. यदि राम्रो भूमिका निर्वाह गर्न सकेको छु भने म एक जिम्मेवार व्यक्ति हुँ । म उत्कृष्टताको लागि आफूलाई अघी बढाइरहेको छु । म सामान्य अवस्थाबाट विचलित हुने मान्छे नै होइन । यसकारण म …….लगायत सबैलाई तत्कालै क्षमा दिएर आफूलाई एक महान आत्मा सावित गर्न सक्छु ।
ख. यदि मैले राम्रोसँग आफूले निर्वाह गर्नुपर्ने सबै भूमिका निर्वाह गर्न सकेको छैन भने मलाई अन्य व्यक्तिबाट केही कमजोरी हुँदैमा रिसाइहाल्नुपर्ने वा सम्बन्धबाटै अलग हुने अधिकार पनि त छैन । बरु …………..ले हाम्रो सम्बन्ध मजबुत बनाउनको लागि यति लामो समय सम्म खेलेको भूमिकाको म प्रशंसा गर्छु । साथै निजको भावी जीवनको उत्कृष्टताको लागि समेत कामना गर्दछु ।
यदि हामी यसरी सोच्न शुरु गर्छौं भने हामी अवश्य पनि बिस्तारै आफूमा क्षमाशिलता र कृतज्ञता भाव बढाउँदै लैजानेछौं । जसबाट खटपट शुरु भएको सम्बन्ध केही समयमा नै पुनः सुमधुर बन्दै गएको देखेर आज सम्म त्यति सानो …..विषयले आफ्नो मानसिकता बिगारेको देखेर हामी आफैं अचम्मित बन्नेछौं ।
अर्को प्रयोग
अब निम्न ढाँचा अनुसार सम्बन्ध सुधार्नुपर्ने व्यक्तिका कम्तीमा १० ओटा सकारात्मक कुरा पहिचान गरेर कृतज्ञता प्रकटको लागि अभ्यास गरौं ।
(मानौं, म साथी राम सँग सम्बन्ध सुधार्न चाहन्छु भने)
म मेरो आत्मीय मित्र रामप्रति अत्यन्तै कृतज्ञ छु किनकि
१. म उसको काम गर्ने तरिकाबाट अत्यन्तै प्रभावित छु ।
२. म उसको व्यवहार गर्ने तरिकाबाट प्रभावित छु ।
३. म उसको …….बेलाको ………..सहयोगको लागि सदैव ऋणी छु ।
४. मलाई उसको …………सल्लाहले ………अवस्थामा सही निर्णयमा पुग्न पुर्याएको सहयोग सधैं अविष्मरणीय रहनेछ ।
५. मेरो लागि व्यावसायिक सफलतामा रामको भूमिका अत्यन्तै महत्वपूर्ण छ । म उससँग पार्टनरसिप व्यवसाय गरेको कारण नै व्यापारको यस उचाईमा पुग्न सकेको हुँ ।
६……………..
७…………….
८………………
९………………
१०…………….
यी सबै वाक्यहरु पश्चात् चामत्कारिक शब्द ‘धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।’ अनिवार्य जोडौं ।
आजको अभ्यास
१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।
२. त्यो सूचीमा कृतज्ञता प्रकट गर्नको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३. केही दिन पहिले देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।
४. आज एक कठिन सम्बन्धलाई स्मरण गरौं । जुन कसैसँग सम्बन्ध बिग्रिएको वा असमझदारी उत्पन्न भएको लगायत हुन सक्छ । जसले हामीलाई पीडा महसुस गराएको छ । यसलाई हामी सुधार्न चाहन्छौं ।
५. सम्बन्ध सुधार्न वा आफ्नो मनबाट त्यस व्यक्ति प्रतिको गलत धारणा हटाउनको लागि उक्त व्यक्तिका सकारात्क कुराहरु पहिचान गरी निम्न ढाँचामा उ प्रति हृदय देखि नै कृतज्ञता प्रकट गरौं
म ………….प्रति कृतज्ञ छु किनकि मैले ……………सहयोग पाएको छु ।
६. . राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij