
लेखक नर्मन भिन्सेन्ट पिल भन्छन्, ‘कल्पनाशिलता नै वास्तविक चामत्कारिक कार्पेट हो ।’ हामी निरन्तर कृतज्ञता अभ्यासमा छौं । यदि तपाईंहरुले अनुशासित तवरले कृतज्ञता सम्बन्धमा उल्लेख गरिएका अभ्यासहरु प्रयोगात्मक तवरले गर्दै आउनुभएको छ भने यो बुझ्नुस् कि कृतज्ञताको माध्यमबाट भौतिक उपलब्धि सम्बन्धमा तपाईंले एउटा बलियो धरातल (आधार) तयार गरिसक्नुभएको छ ।
अब आजबाट हामी आफ्ना हरेक सपना र चाहनाहरुलाई कसरी वास्तविकतामा बदल्ने भन्ने सम्बन्धमा कृतज्ञता अभ्यास गर्न गइरहेका छौं ।शताब्दीऔं देखि सयौं परम्परागत संस्कारहरुमा कुनै वस्तु वा केही चिज प्राप्त गर्नुभन्दा पहिले नै धन्यवाद भाव विकास गर्ने प्रचलन रहँदै आएको छ । कुनै शुभ काम गर्ने समयमा वा त्यस भन्दा पहिले ठूलो सङ्ख्यामा मानिसहरु जमघट भएर उत्सव मनाउने प्रचलन हाम्रो पूर्वीय समाजमा समेत रहँदै आएको छ । जस्तो कि विवाह, ब्रतबन्ध, जन्मोत्सव, पास्नी आदि अवस्था । यसरी ठूलो सङ्ख्यामा आपसमा मानिसहरु जुटेर रमाइलो मनाउँदा सकारात्मक ऊर्जा सङ्कलन भई प्रवाहित हुन्छ । जसबाट हामीले गर्ने कार्यलाई मजबुत बनाउन ब्रह्माण्डीय ऊर्जाले अदृष्य रुपमा भूमिका निर्वाह गरिरहन्छ । जसबाट हामीले गर्ने काम शुभ अर्थात् उपलब्धिमूलक हुने विश्वास रहँदै आएको छ । हामीले उच्चारण गर्ने हरेक मन्त्रहरुलाई ब्याख्या गरेर हेर्यौं भने पनि त्यहाँ कुनै न कुनै दृष्य वा अदृष्य शक्ति प्रति कृतज्ञता प्रकट गरेर ऊर्जा, शाहस वा आभारको माध्यमबाट हामीमा थप प्रेरणा मिलोस् भन्ने उद्धेश्य लिइएको पाइन्छ ।
साथै यस्तो प्रचलनले कुनै न कुनै रुपमा हामीलाई सकारात्मक ऊर्जाको नजिक पुर्याउनेमा क्वान्टम विज्ञानले धेरै कुराहरु प्रमाणित समेत गर्दै लगेको छ । किनकि यसरी हामीले विभिन्न रुपमा उत्सव मनाउँदा हामी ऊर्जाको माथिल्लो अवस्थामा पुग्न सक्छौं ।
इजिप्ट निवासीहरु नाइल नदीमा बाढी आउँदा पनि सामुहिक रुपमा रमाइलो मानेर नदीमा निरन्तर जल प्रवाह भइरहोस् भन्ने भाव सहित कृतज्ञता प्रकट अथवा प्राथर्ना गर्थे । अफ्रिकनहरु खाना खान भोक लागेको बेलामा खाना प्रति कृतज्ञता प्रकट गरेर तुरुन्तै आफूहरुलाई खाना उपलब्ध हुनेमा आफूलाई विश्वस्त गराउँथे । पूर्वीय ऋषिमुनिहरुले कुनै पुस्तक लेखन वा पाठ थालनी गर्दा वा पूजा गर्दा मंगलाचरण र सङ्कल्प लिने गर्थे । जुन अहिले सम्म पनि कायम छ । भारतीय, अमेरिकन र अष्टे««लयनहरु बर्षाको पानीमा नाचेर प्रकृतिलाई कृतज्ञता व्यक्त गर्दै आफूलाई ऊर्जाको माथिल्लो तहमा पुर्याउँथे । अहिले हामी घर वा परियोजनाको जग बसाल्ने बेलामा पण्डितबाट पूजा गराएर वा स्वस्ति वाचन गरेर काम शुरुवात गर्नुले पनि हामी भित्र कृतज्ञता महसुस हुन गई निर्वाध रुपमा उक्त काम सम्पन्न हुनेमा हामीलाई धेरै हद सम्म विश्वस्त बनाउन ठूलो भूमिका खेल्ने गर्छ । यसरी सबैजसो संस्कारमा कुनै न कुनै तरिकाबाट आफूलाई उक्त वस्तु प्राप्ति हुनु भन्दा पहिले नै सकारात्मक ऊर्जा भाव अर्थात् कृतज्ञता जगाएर आफूलाई ऊर्जाको माथिल्लो अवस्थामा पुर्याएर अघी बढ्ने प्रचलन रहँदै आएको छ ।
आकर्षणको नियमले भन्छ, समान वस्तुले समान वस्तुलाई आकर्षित गर्दछ । हाम्रो अवचेतन मष्तिष्कको नियम छ, हामी जुन वस्तु चाहन्छौं र त्यो वस्तु अहिले नै आफूसँग रहेको भाव साँच्ची महसुस गर्न सक्छौं भने त्यो वस्तु आफूसँग भएसरह नै हाम्रो मष्तिष्कले हामीमा विभिन्न जैवरसायनहरु उत्पन्न गरी हाम्रो चाहना अनुसारका वस्तुहरु उपलब्ध गराउनको लागि विभिन्न वस्तु, परिस्थिति र घटनाहरु सृजना गर्दछ । किनकि अवचेतन मष्तिष्कको नियम भन्नु नै ब्रह्माण्डको नियम हो । यस धरातलका हरेक व्यक्ति विशाल ब्रह्माण्डका अंश हौं । ब्रह्माण्ड एउटै शक्तिबाट चलेको छ । हामी आफ्नो विचार र भावनाको माध्यमबाट कस्तो फ्रिक्वेन्सीमा रहन्छौं, त्यस्तै किसिमका चिजहरु हामीलाई विभिन्न वस्तु, परिस्थिति र घटनाको रुपमा हामीलाई उपलब्ध हुँदै जान्छन् ।
आकर्षणको नियमले भन्छ, यदि हामी कुनै वस्तु साँच्चै प्राप्ति गर्न चाहन्छौं भने हामी पहिले नै त्यस फ्रिक्वेन्सीमा पुग्नु सक्नुपर्छ । यदि त्यसो हो भने कसरी पुग्ने त हामीले चाहेको वस्तुको फ्रिक्वेन्सीमा ?
भिजुअलाइजेसन र इमाजिनेसन अभ्यास
हामीले यदि प्रशस्त धन कमाउन चाहन्छौं भने त्यसलाई साँच्ची प्राप्ति गर्न चाहेर मात्रै पुग्दैन । आवश्यक नियम समेत पालना गर्नुपर्छ । आकर्षणको नियम भनेको विश्वासको नियम पनि हो । यसकारण हामी त्यो वस्तु प्राप्ति हुनेमा साँच्ची विश्वासपूर्वक अनुभव पनि गर्न सक्नुपर्छ ।
यसको लागि आफू विशाल सम्पत्तिको अधिकारी भएको, निकै सम्पन्न स्थितिमा रहेको, आफ्नो व्यवसाय वा काममा अन्य व्यक्तिहरुलाई परिचालन गरेको, आफ्नो उत्पादन र मुनाफामा बर्षेनी वृद्धि हुँदै आएको, आफू ठूलो व्यापारिक मल एवं आफूले चाहेको घरको मालिक भई ती चीजहरु मनले चाहे बमोजिम परिचालन गरेको कल्पना गर्न सक्नुपर्छ ।
यसको लागि हामीले त्यस्ता वस्तुको अभ्यास बढाउन सोही अनुसारका व्यापारिक मल, सभासम्मेलन, मनोरम वातावरण, पिकनिक, प्रदर्शनी लगायतमा पुगेर अनुभव लिन सकिन्छ । साथै त्यस्तो स्थितिलाई पछिका दिनहरुमा आँखा बन्द गरेर निरन्तर मानसिक चलचित्रको रुपमा स्मरण वा परिकल्पना गरेर अभ्यास बढाउँदै लैजान सकिन्छ । शब्दमा भन्दा चित्रमा र चित्रमा भन्दा चलचित्र हाम्रो मष्तिष्कको लागि बढी प्रभावकारी हुन्छ । यदि हामी आफूले चाहेका सबै वस्तुहरुको प्रत्यक्ष अनुभव लिन सक्ने अवस्थामा पुग्न सक्ने स्थिति छैन भने आफूलाई साँच्ची चाहना भएका ती वस्तुहरु के–के हुन् ? ती वस्तुहरुको रङ्गिन फोटो इन्टरनेटबाट डाउनलोड गरेर घरको भित्तामा भिजन बोर्ड निर्माण गरेर पनि निरन्तर अभ्यास गर्न सकिन्छ । यसरी अभ्यास गर्दा आफूलाई साँच्ची ती वस्तु प्राप्ति हुँदा जुन किसिमको भावना जागृत हुन्छ, त्यस भावनालाई अहिले नै अनुभव गर्न सक्नुपर्छ । यस्तो अनुभव जति गहिरो भयो, सोही अनुसार हामी ती चिजहरुलाई आफ्नो जीवनमा त्यत्ति नै छिटो आकर्षित गर्न सक्छौ । ब्रह्माण्डको लागि सानो वा ठूलो वस्तु हामीलाई उपलब्ध गराउनमा समय असम्बन्धित रहने भएपनि हाम्रो विगतको अनुभवको आधारमा हाम्रो मष्तिष्कले गर्ने विश्वासले ठूलो वस्तु आकर्षित गर्न अलि बढी समय लाग्न सक्छ । धेरैजसो अवस्थामा हामीले यस्तो अभ्यास गरिरहँदा ब्रह्माण्डले कुनै सङ्केतका माध्यमबाट हामीलाई ती वस्तुका नजिक पुग्ने तरिकाहरु दिइरहेको हुन्छ । अभ्यासको क्रममा हामीलाई मिल्ने यस्ता आइडियाहरुमा धेरै विचार नगरी हामी सिधै कर्मपथमा होमिनु नै उपयुक्त हुन्छ । किनकि ब्रह्माण्डको नियम सङ्केतको नियम पनि हो ।
कुनै वस्तु छिटो प्राप्तिको लागि सोच्ने सही तरिका भनेको अहिले नै त्यो वस्तु आफूसँग उपलब्ध रहेको र त्यसलाई आफ्नो इच्छा अनुसार उपयोग गरिरहेको कुरा शब्द र भावनाको माध्यमबाट व्यक्त गर्नु हो । यसको लागि सोही किसिमका सन्देशहरुलाई पञ्च इन्द्रियको माध्यमबाट शब्द, रुप, गन्ध, स्पर्ध, रसको रुपमा अनुभव गर्न सक्नुपर्छ ।
जस्तो कि
क) म ……..मोडलको कार चाहन्छु ।
ख) म आफ्नै घर चाहन्छु ।
यी वाक्यहरुले हाम्रो चाहना व्यक्त गर्दछन् । तथापि यी वाक्यहरुलाई अलिकति परिमार्जन गरेर
क) आफू त्यस कारमा अहिले नै सवार भई परिवारका सदस्यहरुसँग कुनै तिर्थ वा पर्यटकीय स्थलमा घुमफिरको लागि गइरहेको, सवारी आफैंले चलाइरहेको र निकै आनन्द आइरहेको भावको महसुस गर्न सकिन्छ । अझ कारको रङ, मोडल, आवाज र फिलिङ लगायतका अन्य सूक्ष्म विशेषताहरुमा समेत काल्पनिक रुपमा अनुभव गर्नु जरुरी हुन्छ ।
ख) आफूले चाहेको घर कस्तो किसिमको हो ? कति तलाको ? कुन डिजाइनको ? त्यसको डिजाइन गर्ने इन्जिनियर को हो ? कति क्षेत्रफमा फैलिएको ? कुन रङको ? कुन कोठामा के सामान छ ? कस्ता कपडाहरु ओछ्याइएको छ ? आफ्नै घरमा बस्दा कस्तो महसुस भइरहेको छ ? पूजाकोठामा घण्टी अथवा कुनै बाजा समेत बजेको पो छ कि ? लगायतका अनुभव समेत गर्न सकिन्छ ।
यसरी हामीले जति धेरै विशेषताहरु महसुस गर्न सक्यौं, त्यति नै छिटो हामी ब्रह्माण्डको वास्तविक फ्रिक्वेन्सीको नजिक पुग्न सक्छौं । साथै यस्तो अभ्यास एक दिन मात्र गरेर पुग्दैन । अभ्यासलाई हरेक दिन निश्चित समयमा एकै किसिमले दोहोर्याइरहनुपर्ने समेत हुन्छ । जब हामी रचनात्मक परिकल्पना वा भिजुअलाइजेसनको अवस्थामा हुन्छौं, आफ्नो चाहना अनुसारको स्थिति अनुभव गरिरहेका हुन्छौं, त्यो स्थिति नै हामीले आफ्नो माध्यमबाट ब्रह्माण्डमा त्यो वस्तु प्राप्तिको लागि आदेश दिइरहेको समय बन्दछ । यसरी हामीले पूर्ण विश्वासको साथ जति शक्तिशालि आदेश ब्रह्माण्डमा पठाउन सक्छौं, त्यत्ति नै छिटो त्यो वस्तु जुनसुकै तरिकाले भएपनि हामीतर्फ आकर्षित भइरहेको हुनेछ ।
भनिएको छ, जसले अहिले आफू कुनै वस्तु प्राप्ति भएको अनुभव गरेर साँच्ची कृतज्ञ रहन्छ, त्यस भाव अनुसारका वस्तु उसलाई अवश्य पनि दिइनेछ । यो पनि भनिन्छ कि हरेक वस्तुहरु २ पटक निर्माण भएका हुन्छन् । पहिलो पटक अदृष्य रुपमा हाम्रो मष्तिष्कमा र दोस्रो पटक वास्तविक भौतिक स्वरुपमा ।
अधिकांश मानिसहरु आफूसँग साँच्ची त्यो वस्तु प्राप्ति भएपछि मात्र खुसी अवस्थामा पुग्न सकिन्छ भन्ने मान्यता राख्छन् । तर खुसी र कृतज्ञ भाव वस्तु प्राप्ति हुनु भन्दा पहिले र पछाडि दुवै समयमा उत्तिकै महत्वपूर्ण हुन्छन् । यस किसिमको कृतज्ञ भाव हामीले जीवनका सबै आयामहरु (खुसी, प्रेम, सम्बन्ध, स्वास्थ्य, शिक्षा, सामाजिक प्रतिष्ठा, धनसम्पत्ति, सुनचाँदी, पद) को लागि व्यक्त गर्न सक्यौं भने हामी वास्तवमै धनी भएका हुनेछौं । किनकि हामीले हरेक सकारात्मक (भौतिक र भावनात्मक) वस्तुहरु आफूतर्फ आकर्षित गर्नको लागि सबैभन्दा पहिले त्यस किसिमको मानसिक अवस्थामा पुग्न सक्नुपर्छ ।
(यहाँनेर प्रयोग भएको धनी शब्दले मापनयोग्य धनलाई मात्र नभई भावनात्मक सकारात्मक मनस्थितिलाई समेत जनाउँदछ)
एउटा प्रयोग
आज हामीले आफ्नो लागि आवश्यक रहेका १० महत्वपूर्ण चिजहरुको सूची बनाउँ । यी चीजहरुमा घर, कार, सम्बन्ध, पैसा, स्वास्थ्य, जागिर लगायत रहन सक्नेछन् । आफूले चाहेका चिजमा आफू भित्रैबाट स्पष्ट होऔं र त्यो चिज आफूलाई किन आवश्यक छ भन्नेमा अझ गहिराईमा पुग्नको लागि हरेकमा कारण समेत जोडौं । साथै आफूले चाहेका ती चिजहरु ब्रह्माण्डीय बैंकलाई अर्डर दिएको र साँच्ची ती १० वस्तुहरु एक–एक गरेर आफू तर्फ आउँदै गरेको अनुभुति गरेर मनमनै अत्यन्तै खुसी र विश्वस्त रहौं ।
साथै आफ्नो डायरीमा लेखौं कि
१…………….वस्तु मलाई प्राप्ति भएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
२…………….वस्तु मलाई प्राप्ति भएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
३…………….वस्तु मलाई प्राप्ति भएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
४…………….वस्तु मलाई प्राप्ति भएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
५…………….वस्तु मलाई प्राप्ति भएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
……………………..
…………………..
१०…………….वस्तु मलाई प्राप्ति भएकोमा धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
धन्यवाद व्यक्त गर्नको लागि ठूलो उपलब्धि नै हुनुपर्छ भन्ने जरुरी छैन । हामी साधारण कुरामा समेत धन्यवाद भाव विकास गरेर यसको अभ्यास बढाउन सक्छौं ।
धन्यवाद भाव व्यक्त गर्नको लागि माध्यमहरु यी हुन सक्छन् ।
–विहानमा स्वस्थ रुपमा उठ्न पाएकोमा
– चाहेजति पढ्न पाएकोमा
– हामीलाई प्रयाप्त खाना बिहान बेलुका उपलब्ध भएकोमा
– बोल्ने र हिँडडुल गर्ने स्वतन्त्रता पाएकोमा
– कसैलाई सहयोग गरेकोमा
– कसैबाट सहयोग पाएकोमा
……………………
यो पनि स्मरण गरौं कि जब हामी निरन्तर कृतज्ञ भावमा रहन्छौं, हामीले चाहेका हरेक चिजहरु हामीतर्फ चामत्कारिक रुपमा आकर्षित भई हामीलाई उपलब्ध हुँदै गएको देखेर हामी आफैं आश्चर्यमा पर्दै जानेछौं ।
आजको अभ्यास
१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सबै सकारात्मक बुँदाहरु पढौं ।
२. त्यो सूचीमा कृतज्ञता प्रकटको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३. केही दिन पहिले देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।
४. दिन भर पनि सम्भव रहे सम्म आफूले प्रयोग गर्ने हरेक वस्तु प्रति कृतज्ञ रहने प्रयत्न गरौं ।
५. आज हामी आफूलाई साँच्ची आवश्यक रहेका १० वस्तुहरु आफ्नो डायरीमा टिपोट गरौं । आँखा बन्द गरेर ती वस्तुहरु आफ्नो साथमा अहिले नै उपलब्ध रहेको महसुस काल्पनिक रुपमा गरौं ।
६. एक–एक गरेर ती १० वस्तुहरु हामीलाई उपलब्ध भएकोमा चित्तबुझ्दो कारण समेत जोडेर आफैंलाई भनौं कि धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
७. आँखा बन्द गरेर ती वस्तु आफूलाई उपलब्ध रहेको परिकल्पना गर्दा तपाईंमा कस्तो अनुभव भयो ? तपाईंलाई ती वस्तु साँच्ची उपलब्ध भएको खण्डमा सबैभन्दा पहिले त्यो कुरा कसलाई र कसरी बताउनुहुन्छ ? ती वस्तु प्राप्तिको लागि तपाईंका शरीरका कुन–कुन अङ्गहरु कसरी जिम्मेवार रहे ? भन्ने कुरा पनि राम्रोसँग अनुभव गरी डायरीमा टिपोट गर्नुहोस् ।
८. निरन्तर कृतज्ञ भावमा रहनको लागि एउटा भिजन वोर्ड वा म्याजिक बोर्ड निर्माण गरौं । जहाँ हामीलाई आवश्यक रहेका हरेक वस्तुका आकर्षक चित्रहरु टाँसेर राखौं । साथै त्यसमा ठूला रंगिन अक्षरमा ‘धन्यवाद, धन्यवाद, धन्यवाद’ समेत लेखिएको होस् । र ती चित्रहरुलाई हरेक दिन हेरेर अनिवार्य रुपमा निरन्तर कृतज्ञता महसुस गरिरहौं ।
९. . राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिन यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij