२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कुवेत जान भनी हिँडेकी महिला जब भारतको ‘वेश्यालय’ पुगिन्…

कुवेत जान भनी हिँडेकी महिला जब भारतको ‘वेश्यालय’ पुगिन्…

Low shot of a women in a dress smoking a cigarette by the side of a busy road in Paris, France (Core Number - FKAD227B. Clip taken from programme rushes. ABQA302A)

काठमाडौँ । चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझबिहान दुई छाक खान धौधौ थियो । श्रीमान्ले ज्याला मजदुरी गरेर दुई–चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई ४ छोराछोरीको पालनपोषण गर्न कठिन थियो ।

कसरी बालबच्चालाई पेटभरि खुवाउने भन्ने चिन्ताले विपनालाई सधैँ सताइरहन्थ्यो । यत्तिकैमा एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो । विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गरिन् । पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल (फेसबुक) मा साथी बन्न अनुरोध पठायो । विपनाले अनुरोध स्वीकार गर्दै साथी बनिन् ।

फेसबुकमा कुरा हुँदै जाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाइयो । छोराछोरी कसरी हुर्काउने भन्ने चिन्तामा रहेकी विपनालाई ‘ढुंगा खोज्दा देउता भेटे’जस्तो भयो । ‘घरमा पनि सधैँ खानलाउनकै दुःख, अरूभन्दा पनि छोराछोरालाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरेँ,’ उनले सुनाइन् ।

फोन गर्ने मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । तर, जब भारतको वेश्यालयमा पुगिन्, तब मात्र विनालाई आफू बेचिएको थाहा पाइन् । १ वर्षपछि आफन्तको सहयोगमा विपना नेपाल फर्किन सफल भइन् ।

यसरी प्रलोभनमा पारेर भारतमा बेचिएकी विपना एक उदाहरण मात्रै हुन् । बढ्दो प्रविधि र सामाजिक सञ्जालको प्रयोगले मानव बेचबिखन सजिलो भएको छ । पहिले गाउँका सोझा महिला मात्रै बेचिन्थे । अहिले सहरका टाठाबाठा पनि सजिलै बेचिने गरेका छन् । पछिल्ला ५ वर्षयता सहरकै शिक्षित महिला बेचबिखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन रोक्न तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मावन बेचबिखन तथा ओसारपसार गर्न दलालहरूलाई झन् सजिलो भएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि मानव बेचबिखन रोक्न पहल गरिरहेका छन् । तर, मावन बेचबिखनको अवस्था घट्नुको सट्टा बढ्दै गएको छ । मन्त्रालयको तथ्यांक हेर्ने हो भने मानव बेचबिखनमा पर्ने ८० प्रतिशतभन्दा बढी महिला छन् । पछिल्लो समय पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले नेपाली युवती विवाह गरेर लैजाने र बेचबिखनमा पर्ने गरेको माइती नेपाल नामक संस्थाले जनाएको छ ।

नेपालबाट विवाह गरेर लगे पनि ती महिलालाई पछि घरमै बन्धकझैँ बनाएर यातना दिने गरेको माइती नेपालको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि लैजाने, तर प्रक्रिया नपु¥याइ लैजाँदा श्रम शोषण, यौनशोषण हुने गरेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत् एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेकैबाट बेचिने गरेका छन् । पछिल्लो समय धनुषा जिल्लाका ७ र सिरहा जिल्लाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) २८ जना पुरुष बन्धक बनाइएको भारतीय गैरसरकारी संस्था किन इन्डियाले जनाएको छ ।

मन्त्रालयको अग्रसरता र नेतृत्व एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इन्डियाको प्राविधिक सहयोग र सहकार्यमा ती पीडितको उद्धार गरी जनकपुर ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार तथा संरक्षणलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ । यो घटनाको संवेदनशीतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ पुरुषलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत् निजको परिवारसँग पुनर्मिलन गराइएको छ ।

यसरी पछिल्लो समय मानव बेचबिखनको शैली परिवर्तन हुँदै गएको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनको जोखिम बढेको हो । सामाजिक सञ्जालमा आमनागरिकको पहुँच भएकाले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन फस्टाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा बेचबिखनको जोखिम बढेको जनाइएको छ । प्रविधिको विकाससँगै बढ्दो मानव बेचबिखन तथा ओसारपसार रोक्न राज्यले सोही अनुरुप सक्रियता देखाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij