हेटौँडा, ११ चैत: मकवानपुर जिल्लामा रहेको कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट हाल पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। आयोजनाका अनुसार सुक्खायाम सुरू भएसँगै विद्युत् आपूर्तिमा सन्तुलन कायम गर्न कुलेखानीका प्रथम, दोस्रो र तेस्रो युनिटलाई अधिकतम क्षमतामा सञ्चालन गरिएको हो।
कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार, कुलेखानी जलविद्युत् केन्द्रको पहिलो युनिटले ६० मेगावाट, दोस्रो युनिटले ३२ मेगावाट, र तेस्रो युनिटले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। उहाँका अनुसार आवश्यकता अनुरूप हाल दैनिक १४ देखि १८ घण्टासम्म तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ।
‘रनअफ रिभर’ प्रणालीमा आधारित जलविद्युत् आयोजनाको उत्पादन सुक्खायाममा कम हुने भएकाले विद्युत् आपूर्ति व्यवस्थापन गर्न कुलेखानीलाई पूर्ण रूपमा सञ्चालन गरिएको हो। प्रमुख भट्टका अनुसार, वर्षायाममा ‘रनअफ रिभर’ प्रविधिका आयोजनाले पर्याप्त उत्पादन गर्ने भएकाले सो समयमा कुलेखानीको जलाशयमा पानी सञ्चय गरिन्छ, जुन सुक्खायाममा अधिकतम क्षमतामा प्रयोग गरिन्छ।
हाल आवश्यकतानुसार कुलेखानी जलविद्युत् केन्द्रबाट दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन भइरहेको छ, साथै आवश्यक परे २४ घण्टासम्म उत्पादन गर्न सकिने बताइएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन महिनासम्म कुलेखानी प्रथम युनिटले ८१,२०९ मेगावाट विद्युत् उत्पादन गरिसकेको छ। अघिल्लो आव २०८०/८१ मा भने कुल उत्पादन ३४,३८८ मेगावाट मात्र रहेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij