२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कुलचन्द्र गौतमले गरे हिमालय मा.वि.मा पुस्तकालय उद्घाटन

कुलचन्द्र गौतमले गरे हिमालय मा.वि.मा पुस्तकालय उद्घाटन

गुल्मी । संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमले गुल्मी जिल्ला धुर्कोट गाउँपालिकामा अवस्थित हिमालय माध्यमिक विद्यालयमा शुक्रवार पुस्तकालय उद्घाटन गर्नुभएको छ ।

विद्यालयमा आफ्ना मावली हजुरबुबा छविलाल पाण्डेको स्मृति कोष स्थापनाको लागि महत्वपूर्ण आर्थिक एवं भावनात्मक सहयोग उपलब्ध गराउनुभएभएका गौतमलाई धुर्कोट माध्यमिक विद्यालयमा भव्य स्वागत समेत गरिएको छ ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, शिक्षा विभाग प्रमुख दामोदर घिमिरे, वडाअध्यक्षहरु पदम बिष्ट, केशवराज भण्डारी,विद्यालयका प्रिन्सिपल, व्यवस्थापन पक्षका वर्तमान एवं पूर्वपदाधिकारी तथा अन्य प्रतिष्ठित व्यक्तिहरुको अतिथिको रुपमा उपस्थिति रहेको उक्त कार्यक्रमलाई मुख्य अतिथिको रुपमा कुलचन्द्र गौतमले सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत उत्कृष्ट एवं जेहेन्दार विद्यार्थीहरुलाई स्व. छविलाल पाण्डे स्मृति कोष अन्तरगत पुरष्कार वितरण गरिएको थियो भने विद्यालय परिवारलाई कुलचन्द्र गौतमबाट पुस्तकालय हस्तान्तरण समेत गरिएको थियो ।

उक्त विशेष कार्यक्रमको अवसर पारेर शिक्षासेवी दिवाकर पन्थीले आफ्ना बुबा स्व. गुरु टिकाराम पन्थीको स्मृतिमा २ लाख रकमको ‘टिकाराम गुरु ध्रुव स्मृति कोष’ स्थापनार्थ २ लाख रकम हस्तान्तरण गर्नुभएको थियो । समयानुकुल कोषको रकम बढाउँदै लैजाने ऊहाँले प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रमुख अतिथिको रुपमा धारणा राख्दै कुलचन्द्र गौतमले आफ्ना मावली हजुरबुबा स्व. छविलाल पाण्डेले आफूलाई अध्ययनको लागि सानै देखि प्रेरित गरेको स्मरण गराउनुभयो । आफू मात्र नभई महिलालाई शिक्षाबाट निशेध गरिएको तत्कालिन समयमा परिवारका महिला पात्रहरुलाई पढ्नको लागि प्रेरणा गर्नुले आफूले हजुरबुबालाई दूरदृष्टि राख्ने व्यक्ति ठहर गर्दै मावली हजुरबुबाको नाममा विद्यालयमा पुस्तकालयको नामाकरण गरिएको बताउनुभयो । कार्यक्रममा धारणा राख्दै शिक्षाकै कारण आफू गुल्मीको अमरपुरमा साधारण परिवारमा जन्मिएर पनि संयुक्त राष्ट्र संघको उपमहासचिव जस्तो गरिमामय स्थानमा पुग्न सकेको बताउनुभयो । संयुक्त राष्ट्र संघमा रहँदा विश्वव्यापी नीतिगत व्यवस्था परिमार्जनको लागि आफूले प्रशस्तै काम गरेको बताउँदै केही कामहरु बारे ऊहाँले चर्चा समेत गर्नुभयो ।

ताइवान सरकारले महिलाहरुलाई शिक्षाबाट निषेध गर्ने गरी लागि नीतिगत परिमार्जन गरिसकेको अवस्थामा आफूहरुले सृजना गरेको विश्वव्यापी दबाबको कारण ताइवान सरकार उक्त नीतिगत व्यवस्था परिमार्जन गर्न बाध्य भएको बताउनुभयो ।

आफूले कक्षा ९ मा १ बर्ष हिमालय माविबाटै अध्ययन गरेको बताउँदै आफ्नो अध्ययन र लामो बसोबास भएको क्षेत्रको मायाले आफूले अक्षयकोष र पुस्तकालय स्थापना लगायतको माध्यमबाट शिक्षाको विकासको लागि हिमालय मा.वि.लाई केही सहयोग उपलब्ध गराएको समेत बताउनुभयो ।

सोही अवसरमा धारणा राख्दै धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले पुस्तकालयलाई दिगो रुपमा सञ्चालन गर्ने र गाउँपालिका अन्तरगत धुर्कोट माविले त्यस पुस्तकालयको संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो । जसबाट लक्षित वर्ग लाभान्वित हुने विश्वासभाव समेत ऊहाँले व्यक्त गर्नुभयो । अध्यक्ष पोखरेलले पछिल्ला दिनहरुमा धुर्कोटमा सहयोगी भावनाका व्यक्तिहरुको सङ्ख्या बढ्दै गइरहेको बताउँदै शिक्षा लगायतका क्षेत्रमा स्वतःस्फूर्त सहयोग गर्ने व्यक्तिहरु प्रति आभार व्यक्त गर्नुभयो ।

 

पुस्तकालय निर्माण एवं अक्षयकोष सञ्चालन जस्ता महत्वपूर्ण एवं पुनित कार्यमा संलग्न व्यक्तिहरु कुलचन्द्र गौतम र दिवाकर पन्थी लगायतका व्यक्तिहरु प्रति हार्दिक आभार समेत अध्यक्ष पोखरेलले प्रकट गर्नुभयो । धन व्यक्तिगत प्रयोजनको लागि कमाएर मात्रै आफ्नो समाज र राष्ट्रप्रतिको दायित्व पूरा नहुने बताउँदै ऊहाँले सामाजिक गतिविधिको लागि हृदय फुुकाउन सक्ने तत्परता अझ महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको थियो ।

 

सोही कार्यक्रममा धारणा राख्दै धुर्कोट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पदम बिष्टले पुनित कार्यको लागि गौतम र पन्थी प्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । सुशासन र समृद्धि सबैको चासोका कुरा भएको बताउँदै ऊहाँले सरोकारवाला सबैलाई आफ्नो तर्फबाट सक्दो सहयोगको लागि आग्रह समेत गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij